अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

दरिलो इन्द्रिय छैटौँ इन्द्रिय

युवराज मैनाली २०७७ जेठ ३२ गते १०:२३ मा प्रकाशित

जुनबेला कागज र मुद्रणको प्रादुर्भाव भएको थिएन, त्यस बेला ताडपत्र वा भोजपत्रमा लेखेर त्यसलाई क्रमबद्ध तह मिलाएर राख्ने लेखकीय सुरक्षा प्रणालीको बद्धता एवं बन्ध प्रक्रियालाई नै निबन्ध मानिएको छ । त्यो बन्धनबाट मुक्त हुँदै आजको निबन्ध फैलिएर व्यापकता हुन पुगेको छ । वाक्य विस्तारमा मात्र आजको निबन्ध–प्रबन्ध अल्झिएको छैन । पूर्वीय दर्शनको अध्ययनबाट नबाँधिएको रचना मुक्त अनि आपसमा आबद्ध रचना मुक्तक प्रबन्ध अर्थात् (अनिबद्धम् मुक्तकम्, निबद्धम् प्रबन्ध मिति प्रसिद्धीः) का जगमा सामयिक तला थपिँदै जाँदा यसको क्रमिक विस्तार करण हुँदै गएर व्याख्या स्वरूपमा पनि हाँगा र उपहाँगामा निबन्ध–प्रबन्ध विस्तारित हुँदै गएको देखिन्छ । समयकै फेरोमा छापाको विस्तार हुँदै जाँदा र सञ्चार क्षेत्रको फड्को सँगसँगै कतै आफ्नोपनमा अरूको सम्मिश्रण गर्दै त कतै छिपिलिँदै लेख÷आलेख आदि इत्यादि स्वरूपमा निबन्ध÷प्रबन्ध मौलिन गइरहेको छ । पूर्वीय यी अवधारणाकै आधारमा पश्चिमेली धारणामा निबन्ध काव्यात्मक वा साहित्यिक विधाको स्वरूपलाई स्पष्ट उजागर गर्ने काम फ्रान्सेली लेखक ‘माइकल द मोतेँ’ ले १८५० मा गरेपछि यसले विधाको स्वरूप ग्रहण गरेको मानिन्छ । यसबारे अरू विचार पक्षको इतिहास कोराइतर्फ नगएर नेपालको परिप्रेक्ष्यमा यस धारणाबारे छोटो टिपोट यहाँ राख्दै लक्ष्य पहुँचतर्फ लाग्न उपयुक्त ठानिएको छ ।

सुप्रसिद्ध समालोचक विद्वान् ईश्वर बरालको दृष्टिमा “निबन्ध एक किसिमको कुरा गराइ हो, आफ्ना मनका भावनालाई स्वतन्त्र कथनको रूपमा व्यक्त गर्ने विधा विशेष हो । आफ्नो गुनासो पोख्नु, आफ्ना सन्देश ओसारिनु यसका आद्यतृष्णा हुन् । निबन्धकार जहिले पनि आफ्ना पाठकसित गफ गर्न चाहन्छ । मेरो कुरो कसैले सुनिदियोस् भन्ने तिर्खा मानिसको आद्यतृष्णा हो ।” ‘सयपत्री’ को भूमिकामा यो दृष्टि प्रकट छ, जुन सायद निबन्धकारहरूको पहिलो प्रबन्ध सङ्ग्रह हुनुपर्दछ । देवकोटाले, यो एक किसिमको मनको जालीले जगत्मा लहडी माछा मार्ने कला हो, यो टेबुल गफ हो, चस्मादार अध्यापकको व्याख्या होइन, न त वमन वेदान्त आदि भनी उल्लेख गरेका छन् । नेपाली निबन्ध लेखनमा बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, रामप्रसाद सत्याल, ईश्वर बराल, हृदयचन्द्रसिंह प्रधान, शङ्कर लामिछाने, श्यामप्रसाद शर्मा, कृष्णचन्द्रसिंह प्रधान, रामकृष्ण शर्मा, जनकलाल शर्मा, कमल दीक्षित, तारानाथ शर्मा, दुर्गाप्रसाद भण्डारी, राजेश्वर देवकोटा, नारायणबहादुर सिंह, बालकृष्ण पोखरेल आदि स्मरणीय छन् । यही क्रममा जोडिन आइपुगेका छन् विद्याप्रसाद घिमिरे । गीत, कविता, दर्शन, फुटकर निबन्धसँगै उदाएका उनी पछिल्लो समयमा “छैटौँ इन्द्रिय”–२०७३ निबन्धसङ्ग्रहद्वारा निबन्धकारका रूपमा प्रतिस्थापित हुन पुगेका छन् ।

“छैटौँ इन्द्रिय” भित्र उन्नाइस निबन्ध सङ्गृहीत छन् । मूलतः पूर्वीय दर्शनको आधारशिलामा तर्कपूर्ण आध्यात्मिक एवं विज्ञानको विषयमा छलफल चलाइएको छ । जसमा काल्पनिक आभास हुने कुरालाई तार्किक ढङ्गबाट विवेचना गरी सहज ढङ्गले प्रस्तुति पस्केका छन् । निबन्ध क्रममा पहिलो ‘ज्योतिष विज्ञान’ शीर्षकको प्रबन्ध छ । यो निबन्ध लेख पढ्दा सामान्य पाठकलाई प्रायः आलस्य लाग्छ, तर यही पहिलो निबन्धले नै घिमिरेको अध्ययन शीलता र तर्क शीलता देखिन्छ भने यसले नै उत्सुकतापूर्ण जानकारी पस्किएर थप ज्ञानसमेत उपलब्ध गराउन पुग्दछ । यस निबन्धमा ज्योतिष विज्ञानको महत्त्व दर्साउँदै सूर्यको विषाक्त विकिरण, ब्रह्माण्डको अनन्य सम्बन्धसमेत चाखलाग्दो स्वरूपमा वर्णन गरिएको छ । यसको अन्त्यतिर आएर उनले पस्केका छन्, “प्रकृतिले प्रत्येक प्राणीको इन्द्रियलाई खास सीमामा बाँधिदिएको छ । स–साना किराहरू हामीले कुराकानी गर्दा निस्केको आवाजबाटै मर्छन्, कुकुरको सुघ्ने क्षमता तीक्ष्ण हुन्छ, हामीलाई सामान्य लाग्ने गन्ध कुकुरका लागि कडा हुन्छ । गन्ध कडा हुने स्थानमा कुकुर छटपटाउने, नाकबाट सास नलिई मुखबाट सास फेर्ने, कराउनेजस्ता असामान्य क्रियाकलाप गर्न थाल्छ । घोडामा सुन्ने क्षमता तीक्ष्ण हुन्छ । त्यसैले घोडालाई प्रकृतिले कान दायाँ–बायाँ र तल–माथि फर्काउन सक्ने गुण दिएको छ । यही गुणले गर्दा धेरै टाढाको आवाज पनि घोडाले स्पष्ट सुन्न सक्छ । हामीलाई सामान्य लाग्ने आवाज घोडालाई चर्को लाग्छ र आवाजलाई कम गर्न घोडाले आफ्नो कान तल फर्काउँछ । यो निबन्धबाट उनको वस्तुपरकता लेखन ढल्काइ, सरलता र सर्वसुलभता र जागरूकताको नमुना प्रकट भएको छ ।

यस पुस्तकमा रहेको दोस्रो निबन्धचाहिँ पुस्तककै शीर्षक “छैटौँ इन्द्रिय” बाट प्रबन्धको विषय उजागर गर्न पुग्दछ । कथाझैँ सरल, सुस्पष्ट, कौतूहलपूर्ण प्रस्तुतिको चमत्कार यसमा पनि पाइन्छ । मनोवैज्ञानिक जोड पनि यसमा भेटिन्छ । यस प्रबन्ध पढ्दा क्रोचेसामु आइपुग्छन् अर्थात् अभि व्यञ्जनात्मक छाया दृष्टिगोचर हुन आउँछ । उनले भनेका छन्, “हाम्रो मनमा जब कुनै वस्तु वा दृश्यका सम्बन्धमा ज्ञान उत्पन्न हुन्छ, त्यसपछि प्रक्रिया सुरु हुन्छ । यो ज्ञान अन्त प्रेरणा वा सहज ज्ञानका रूपमा आउँछ । यो नै आत्माको वैयक्तिक क्रिया पनि हो अनि यही नै मनुष्यको सौन्दर्य वृत्ति हो ।” यही अभिव्यञ्जना प्रणालीको दर्शन हो । तर पनि क्रोचेको व्याख्याभन्दा फरक वृत्तिमा “छैटौँ इन्द्रिय” को संयोजन पाइन्छ । ज्योतिष विज्ञानमा झैँ यस निबन्धमा पनि दृश्य ज्ञानको उत्कण्ठामा अवलोकनका गहिराइ, दृष्टिको छराइ र मस्तिष्कका टिपाइहरूको कडा मिहिनेतपूर्ण संयोजन, निफनाइ अनि पस्काइ भेटिन्छ । निबन्ध÷प्रबन्धको पस्काइ उदाहरणका उक्तिहरू सँगेल्याइ यसभित्र पर्गेल्नुबाट तर्क शीलता सबल बन्न पुगेका छन् ।

यसपछिको अर्को “मन्दिर रहस्य” शीर्षकलाई केलाउँदा सहमति र असहमतिको खिचडी पाक्न थाल्छ । कतै अध्ययनको मूल विषय उछिट्टिएर लेखक स्ववृत्तभन्दा बाह्यतर्फ ढल्किएको आभास हुन्छ । माथिका प्रबन्धमा जति गहिराइ र ओज छ, त्यो यसमा नभएको हो कि भन्ने लाग्दछ । तापनि कुनै स्थानका विचार भने गहन देखिन्छन् । मन्दिरको निर्माण सिलिन्डर आकारमा गरिनुको कारण, मन्त्रलाई श्रुतिजन्य र लयात्मक बनाइनुको कारण, मन्दिरको छाना बनाउँदा भुईँतिर फर्काउनुको रहस्य, अधिकांश मन्दिर डाँडाका टुप्पोमा र नदीको किनारमा किन बनाइए भन्ने प्रश्नको उत्तर, मन्दिरभित्र दीप प्रज्वलन गर्दा गाईको शुद्ध घिउको प्रयोग हुने परम्परा, धूपको सुगन्ध कस्तो हुनुपर्ने आदि इत्यादिका विषयमा प्रस्ट पारिएको छ, जसले प्रबन्धलाई बढी प्रामाणिक, तर्कपूर्ण, दार्शनिक आदि गुणले ओजपूर्ण बनाएको छ ।

“फुल रङ र गन्धको स्रोत हो, रङ र गन्धले मानिसलाई बेहोस पनि बनाउँछ, त्यसैले ध्यानमा एकाग्र गराउनका लागि मनलाई शान्त पार्ने खालको रङ र सुगन्धित फुल मात्र मन्दिरमा चढाउने चलन छ ….। आदिको समेत व्याख्या रहेकोले यो प्रबन्ध ज्ञानवर्धक नै देखिन्छ । सङ्क्षेपमा भन्नुपर्दा “मन्दिर रहस्य” मा अन्य प्रबन्धमा जति गहिराइ भेटिँदैन । तर्कका प्रसङ्गमा भनिएको छ तथ्यगत कुरा विषयवस्तुलाई एक छिनका लागि पन्छाएर “धार्मिक मात्र होइन, यहाँ जताततै भीड छ, राजनीतिकै कुरा गर्ने हो भने नेताले हजारौँ कार्यकर्ता परिचालन गर्छ, जुलुस निकाल्छ । कार्यकर्ता नेताको पछि लाग्छन् । वास्तविकता कसैलाई थाहा हुँदैन । नेता भन्छ म ठिक छु त्यसैले यो विशाल समूह मेरो पछि छ । कार्यकर्ता ठान्छ, यो नेता ठिक छ नभए यति ठुलो भीड उसको पछि किन हुन्थ्यो ? पछिबाट भीडले ठेल्दै जान्छ । नेतासहितको भीड अघि बढिरहन्छ । किन हिँडेको ? न कार्यकर्तालाई थाहा छ न नेतालाई…..हामीले अँगाल्दै आएको परम्पराको स्थिति योभन्दा फरक छैन । हामीले नितान्त अनुत्पादक मानिएका कर्मलाई परम्पराको नाम दिएर त्यही बचाउने नाउँमा अथाह समय र पैसा बरवाद गरिरहेका हुन्छौँ । यस्ता यावत पक्षले सिक्काका दुई पाटाको तर्क सारिएको छ । तर पनि मन्दिरबारेको तथ्यमा अलमलिएकै स्थिति देखा पर्दछ ।

मन्दिर रहस्यपछि “तीर्थ अभिव्यञ्जना” शीर्षकको प्रबन्ध आउँछ । अभिव्यञ्जनालाई सन्तुलित बनाउने प्रयासमा र आधुनिकीकरणको सेरोफेरोमा कतै बाटो बिराएको त छैन भन्ने पनि मथिङ्गल उब्जिन पुग्छ । तर पनि “मन्दिर रहस्य” भन्दा यो खँदिलो पस्काइ भने मान्नै पर्ने हुन्छ । “छैटौँ इन्द्रिय” कै कुराहरू आएको हुँदा छैटौँ इन्द्रियकै कुराबाट टेवा पु¥याउन खोजेको पाइन्छ । जस्तैः “योग र पूर्वीय दर्शन दुई नेत्रको मध्यमा तेस्रो नेत्र हुन्छ भन्नेमा विश्वास गर्छ….। यीबाहेक अघिल्ला तर्कशीलता र जानकारीको भण्डार यसभित्र पर्नुले गहनताचाहिँ बढाएकै छ । डा. रोडाल्फका अनुसन्धान अध्ययनदेखि अमेरिकी र रुसका वैज्ञानिकहरूको अन्तरिक्ष प्रक्षेपणको क्रममा विचार प्रक्षेपणबारे नयाँ खोज, बुद्ध र बोध वृक्षको चर्चा आदि रहेर पनि धेरै ठाउँमा चुकेको अनुभूति हुन आउँछ । पुग्न–पुग्न खोजेर पनि चुकेको अनुभूति हुन्छ । उपत्यकाका चर्चाबाट विमुखता प्रश्न चिन्ह खडा गर्दछ । मात्र आलोचनाका निम्ति आलोचना नठानी परको हेर्दा वरको छुटेको हुँदा ध्यान पुर्‍याउन आग्रह गरिन्छ ।

“मानिस र हिंसा प्रवृत्ति” शीर्षक क्रमिकतामा अर्को प्रवाह हो । शीर्षकबाटै प्रस्ट हुन्छ कि आफ्नो मृत्यु पूर्व संसारलाई आणविक युद्धमा होम्ने अणुबमका सूत्रधार अल्बर्ट आइन्स्टाइनको मृत्युपूर्वको बिलौना “हे ईश्वर ! यदि अर्को जन्म मलाई दियौ भने म जे बन्न पनि तयार छु, तर वैज्ञानिक वा आविष्कारक नबनाइदेऊ”– भनी पश्चात्ताप गरेको मार्मिक बिलौनाकै प्रभावमा बुद्धको उभ्याई तुलनात्मक अनुहिलन देखा पर्दछ । तर बडो हल्का रूपले “आइन्स्टाइन बुढालाई भोलिको मानिस यतिसम्म निकृष्ट होला भन्ने पक्का पनि थाहा थिएन” भन्ने वाक्य प्रयोगबाट त्यति गहन विचार प्रकटबाट एक त वैज्ञानिक त्यति अनभिज्ञतामा आविष्कार गर्दैनन् र त्यति आँखा चिम्लेका पनि हुँदैनन् । मानवबाट ईश्वर बनेकाहरूको कथा र मानव रहेरै दानवीय प्रवृत्तिको ‘आवहवा’ अहंको चेत खोल्न दिँदैन भन्ने तथ्यको तर्कलाई बिर्सिएको लाग्दछ । यसबारे चर्चा गर्नुभन्दा सन्तुलनको अभाव दुई शब्दमै इङ्गित गरेर सचेत पार्न उपयुक्त होला । र, यसै परिप्रेक्ष्यमा यति भन्न सकिन्छ “बुद्धवादको प्रतीक्षा, मात्र मृग मरिचिका नै रहन्छ ।”

हो, “मान्छेले युद्धबाट कहिल्यै उन्मुक्ति पाउन सकेको छैन, सधैँ खतरापूर्ण अवस्थामा छ मानिसको जीवन ।” यही नै ध्रुव सत्य हो । यही ध्रुव सत्यलाई उजागर गरिएको छ, अर्को प्रस्फुटन “युद्ध र मानव सभ्यता” बाट । यसमा सूक्ष्मतापूर्वक परिगेल्याइँ प्रस्फुटन रहेको देखा पर्दछ । विश्वयुद्ध र त्यसपछिका प्रवृत्तिहरूको केलाइ दमदार रहेको छ । भावका निर्लिप्त बहावमा भावनाका संवेदनशीलता कथाझैँ कथिन हुन पुगेका छन् । पङ्क्ति हेरौँ, “संसार निदाएकाहरूको बस्ती हो, चेतना गुमाएकाहरूको बस्ती हो । यहाँ आफूm जागा भएर अरूलाई जगाउने महामानव धेरै आए र बिदा भए । यी महामानवले हरेक क्षण निदाएकालाई ब्युँझाउने प्रयत्न गरिरहे, तर निद्रामा मस्त यहाँको समाजले उनीहरूलाई अनेकौँ लाञ्छना लगाएर लखेट्यो । समाज ब्युँझाउने अभियानमा लागेका ग्रिकका दार्शनिक सुकरातलाई…।” आदि हरफ मात्र होइन पङ्क्ति–पङ्तिले मान्छेको प्रवृत्ति मात्र उजिल्याएको छैन, एउटा उपन्यास वा कथ्यसम्वादझैं भावावेशमा उचालिएका छन् । यहाँ इच्छा र उपाय केलाइएका छन्, बुद्धलाई अघि सारेर । आवृत्तिमा गाम्भीर्य छ, तर्कमा ठोस स्वरूप प्रस्ट देख्न सकिन्छ । मानव सभ्यताको विनाशप्रति चिन्तन छ, मार्मिक तर्क सत्यपरक छ । कथा पढिरहेझैँ रोचक बनाएर पाठकलाई बाँध्न सफल रहेको छ ।

व्यङ्ग्य पस्किने व्यङ्ग्य सम्राट् भैरव अर्यालका समीप पुग्न अहिलेसम्म केही सकेका छैनन्, व्यङ्ग्य विधामा । कर्महरू गरिँदैछन्, “छैटौँ इन्द्रिय” मा पनि एउटा व्यङ्ग्य पस्किएको देखिन्छ, “बेइमानी र बेइमानहरू” शीर्षकमा । सत्य तितो हुन्छ, मुलुकमा जनसङ्ख्याभन्दा बेइमानको विस्फोट बढ्दो र सङ्क्रामक रूपमा फैलिँदै छ । यसैमा घोत्लिएर विद्याप्रसादको “बेइमानी र बेइमानहरू” ओरालिएको देखिन्छ । बेइमानी कहाँबाट पलाउँछ र बेइमानहरू कुन रूपमा उग्राउँछ विस्तारित रूपमा बताइएको छ । ज्योतिषदेखि घरपति, भाडावाल सबै समेटिएका छन् । तर हाक्की भन्ने हो भने बेइमान सम्राट् जुन छन् राजनीतिका, तिनका सम्बन्धमा फिटिक्कै बोलेका छैनन्, कातरै बनेको देखिन्छ । ब्रह्मको कपाट चतु¥याइँसाथ घ्याप्प गरिएको छ । बरु गुरु बनेर ‘क’ देखि कोट्याएर पढाएका छन् । तर पनि खानापछि पान–सुपारीको मज्जाचैं दिएकै देखिन्छ । अन्त्यमा ‘निर्णय तिम्रो हातमा छ, जे मन लाग्छ त्यही गर ।’ पाठककै थाप्लोमा थोपरिएको छ ।

यसपछिको शीर्षक पनि व्यङ्ग्य बाणतिरै तानिएको छ “बाँसविना बाँसुरी” शीर्षकमा । शीर्षकबाटै व्यङ्ग्यको छनक आउने यसमा बाँसविना बाँसुरी कसरी बजाइएको छ हेरौँ साँच्चै ! विना बाँसको बाँसुरी रहेछ । मापसेमा टाँसिएको जोग–बिजोगको विस्तारित अलकत्रा टँसाइको बसी–बसाइको मूल सूत्र देखाउने पण्डित्याइँ नै रहेछ । यहाँनेर हनाइमा चम्काइको एक नमुना यस प्रकार छ, “मानिसले मादक पदार्थ सेवन गरेको छ वा छैन भनी छुट्टाउन श्वासबाट निस्किएको गन्धलाई पूर्णतया प्राकृतिक विधिको प्रयोग गरेर दूधको दूध, पानीको पानी छुट्टाउने विश्वमा कहीँ नभएको प्रविधि हामीले विकास गरेका छौँ । जुन प्रविधिप्रति एउटा नेपाली भएको नाताले हामी सबैले गर्व गर्नुपर्छ । मुखमा सिधै नाक जोतेर श्वासबाट निःसृत दुर्गन्धलाई प्राकृतिक विधिद्वारा पत्ता लगाउने प्रविधिलाई नेपालले अँगालेको निकै समय बितिसकेको छ । विश्वका विकसितभन्दा विकसित मुलुकहरूले समेत अनुकरण गर्न लायक भनी मान्यता पाएको यो विधि मापसे चेकिङका लागि निकै भरपर्दो र विश्वसनीय मानिन्छ । अरू जे सुकै होस् विभागीय चाटकारिता धर्म यी दुवै व्यङ्ग्यले ढङ्ग पु¥याएकै मान्नुपर्ने हुन्छ ।

चल्ने चलिरहेछ चलिरहनेछ चलिरहेको थियो, चल्ने चालको लेखाजोखा गरेर । “यस्तै चलिरहेछ” शीर्षकमा प्रबन्धप्रति प्रतिबद्ध भएको भान हुन्छ लेखक यसमा । तर शीर्षकबाट कति ठगिएको छ, त्यो त भुक्तभोगीकै भोगाइ हो । यसले ब्यहोराकै बानगीमा सरर आँखा फैलाई हेरूँ । “संसारमा विचित्रका मानिसहरू भेटिन्छन् । केहीमा अरूलाई जिताएर आफूm हार स्विकार्दै यसैमा रमाउने प्रकृति हुन्छ भने धेरैमा आफ्नो हारलाई कुनै हालतमा स्वीकार नगर्ने प्रकृति पाइन्छ ।” यहाँ यही शब्दले ‘जुँगा हल्लियो कुरो बुझियो’ प्रबन्धाङ्गको अवयव देखियो । यसलाई अरू प्रस्टसित भनिएको छ, “अरूलाई दबाएर मालिक बन्ने र अरूमाथि रजाइँ गर्ने सोचलाई मनोचिकित्सकहरू डरलाग्दो मानसिक रोग भन्छन् । यस रोगबाट ग्रसित व्यक्ति कहिल्यै अरूबाट दबिएर बाँच्ने कल्पनासम्म गर्न चाहँदैन । त्यस्ता व्यक्तिलाई काबुमा राख्न प्रकृतिले माया, ममता संवेदनाजस्ता फरक गुण दिएको छ । माया, ममता र संवेदनाको वशमा परेपछि जस्तोसुकै क्रूर मानिसले पनि अनौठो चरित्र देखाउन थाल्छ । मानिस जतिसुकै कठोर किन नहोस् आफ्नो स्नेहीसँग ऊ स्वेच्छाले पराजय भोग्न तयार हुन्छ । हरेक कुरामा उसैलाई जिताई आफूm हार्छ र हारमा उत्सव मनाउँछ ।” याने कि मनोवैज्ञानिक अस्त्र चलाएपछि कुनै पनि समस्या समाधान हुन्छ ।

यसैको उदाहरणार्थ प्रबन्धले दुई÷चार कथाको प्रबन्ध (सत्य वा काल्पनिक ?) पनि गरिदिएको छ । लिफ्टभित्रकी एक्ली महिला र स्त्री लम्पटको कथा, पति–पत्नीबिचको मनोवैज्ञानिक उपाय, मित्रका ज्वाइँ अस्पताल पुग्नुको व्यथा, दम्पतीसहित दुई मित्रको दार्जिलिङ भ्रमणमा परेको अवरोध, कन्स्टेवलको जागिर खान अन्तरवार्तामा सोधिएको प्रश्नमाथि थप प्रश्न, दुई धारका राजनीतिक व्यक्तित्वको आमूल परिवर्तनबाट बडो व्यङ्ग्यात्मक तर तर्कपूर्ण ढङ्गले “यस्तै चलिरहेछ” को प्रबन्ध चलचित्र हेरेझैँ देखाइदिएका छन् । ती दृश्यका संवाद र दृश्यलाई यहाँ सस्पेन्समा राख्नु नै पर्दछ, किनकि पाठकको आनन्दिपनलाई तित्याउनु यहाँ छैन । अहिलेसम्म हेर्दा लेखकलाई प्रबन्धभन्दा कथामा पो डुबुल्की मार्ने कि भनी सल्लाह दिने मन जाग्छ, तर पनि दर्शनको चकमक हेर्दा भने अलमलमा पर्नुपर्ने स्थिति तड्कारो छँदैछ ।

अर्को दृश्यान्तर “छैटौँ इन्द्रिय” को शीर्षकीय गोटी रहेको छ “तर्क र विचार” । हो, तर्क र विचार नै निबन्ध–प्रबन्धको मूल चुरो हो । यही चुरोको फेरोमा पढ्दै जाँदा यहाँ शीर्षकै तर्क र विचार छोडेर ग्ल्यामरसपूर्ण संवादको यो फेरो ‘साथ मे चल रही अपने बिवी को मैने नेपालके पुलिस से खरिदकर ले आया’ नै राखिदिए अझ पुस्तककै नाम टाँसिदिए पुस्तक हाताहात साफ हुन पुग्थ्यो भन्ने लाग्छ । यहाँ एक छिन रमाइलोको उठान मात्र हो यो । यो शब्दले बिझाउँछ तर सत्य तितै हुन्छ औषधिझैँ । यहाँ रोग छ यसैले उपचार चाहिएको छ, औषधी पहिल्याउनु परेको छ । मानिसको सोच र विचारले तर्क उमार्छ । उम्रेको तर्क सभ्यतामा सँगसँगै बढियो भने सम्पन्न होइन्छ । यसको विपरीत तर्कमा बढियो भने दरिद्रता पहिलिन्छ । यही कुरालाई विद्याप्रसाद घिमिरेले विस्तारित विचार प्रवाहित गरेका छन् “तर्क र विचार” मा । तर पनि तर्कको लागि तर्क गर्ने होइन सतर्क पार्ने विचार समेटिएका छन् । शिक्षक र विद्यार्थीको प्रश्नोत्तरसमेत हालेर । समाधान मनोवैज्ञानिक आदि मार्गका विचारोत्तेजक अवलम्बन यसभित्र आबद्ध छन् ।

यस्तै अर्को प्रस्तुति छ “अनुहार” शीर्षकमा व्यङ्ग्यात्मक पारामा कामकाजका सेरोफेरो चहार्दै यथार्थ भोगाइका तैयारी निम्ति तैयार पारिएको यो प्रबन्ध रसिलो अनि चोटिलो रहेको छ । प्रारम्भमै यसमा भनिएको छ, “कुनै मानिस देखियो भने पहिलो दृष्टि उसको अनुहारमै पुग्दछ…..संसारमा कोही मानिस नामले चिनिन्छन् त कोही कामले ….नामबाट चिनिने र कामबाट चिनिने मानिसको बीचमा तेस्रो प्रवृत्ति पनि हुन्छ । यावत कुराहरू सार्दै यस प्रबन्धमा जुराइएका प्रबन्धलाई दमदार रोचक प्रसङ्गले सजाइएको छ । घिमिरेको आफ्नोपन, आफ्नो विशेषता भनेकै यिनै प्रसङ्ग हुन् । यहाँ पनि एउटा ओराल्याइ बैसार्नु नै पर्ने हुन्छ, “महान दार्शनवादी गुरजिएफलाई भेट्न एक जना मानिस गयो र जीवनको रहस्यबारे सोध्यो । गुरजिएफले ‘तिमी घरबाट यहाँका लागि निस्किँदा जुन मान्छे निस्केका थियौ त्यही नै हो कि अर्कै आइपुग्यौ ?’ भनी उसलाई प्रश्न राखे । यो प्रश्नको जवाफ कस्तो प्रकारले आयो र त्यो जवाफको प्रतिप्रश्न के रह्यो त्यो खोज्दा शीर्षकलाई सम्झदै खोज्नुपर्ने हुन्छ । त्यो खोजाइ यसमा छ र यसका लागि त “अनुहार” नै हेर्नुपर्ने हुन्छ । तर पनि “अनुहार” को अन्त्यतिरको पङ्तिलाई एउटा क्लूको रूपमा अघि सार्दा सायद छर्लङ्ग हुँदो हो । “दिनमा सम्हालेर राखेको कपडा रातको बेहोसीमा उता सर्छ । उज्यालोमा नक्कली अनुहारभित्र लुकाएको अनुहार निद्रामा उदाङ्गो हुन्छ । यस्तोमा चाहेर पनि वास्तविकता लुक्न सक्दैन । मानिसहरू यहाँ भ्रममा बाँचेका छन् । हाम्रो दुनिया नै यस्तै छ, बाबु छोराछोरीको अगाडि खुल्दैन । पति र पत्नी जति खुल्नु पर्ने हो त्यति खुल्न चाँहदैनन् । एक मित्र अर्को मित्रको अगाडि कहिले धनको त कहिले विद्वताको खोल लगाएर उभिन्छ…..एउटा दर्शन, एउटा स्पन्दन र यौटा कटुसत्यको उद्घाटन यसमा उजागर भएको छ ।

यसपछि “लिखतकै राज” शीर्षकीय उजागर रहेको छ । यसमा कुराहरू यसरी उजागर भएको छ, “हामीले जीवनलाई स्वतन्त्र हुन नदिई आफैले बन्धनमा राखेका छौं । भन्ने बेलामा हामी स्वतन्त्र छौं, परतन्त्र स्वीकार गर्दैनौं भन्दै कुर्लन्छौं । वास्तवमा हामीले कहिल्यै स्वतन्त्र हुन जानेनौं । हामी आफै स्वतन्त्रताको प्रतिपक्षमा उभिइरह्यौं । हामीले आफ्नो जीवनलाई लिखतका अक्षरमा बन्धक बनाइरह्यौं ।” प्रस्तुत शीर्षकको आसय भनूँ वा निचोड यही नै हो । यहाँ टोल्टोयको प्रसङ्ग साथसाथै अरस्तु, खगोलशास्त्री टोलिमी, निकोलस कोपरनिकसका वैज्ञानिक खोज पनि देखिन्छन् । यसका साथै लाटोकोसेरोको कथा र मतदान केन्द्रमा मतदान गर्न गएको मतदाताले आफ्नो मृत्यु भइसकेको कागज देखेपछिको विवाद र स्कुलमा भर्ना गराउन लगिएकी बालिकाको भर्नापूर्व विद्यालयले तिथिमितिसहित अन्य विवरण सोधखोज गर्दाको प्रसङ्गलाई कथात्मक शैलीमा बडो रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यी प्रसङ्ग पढ्दै जाँदा टपक्क टिपेर मनमै टाँसिन पुग्छन् । स्तरीयतापूर्ण तर्कहरू समावेशको खुवी यहाँ पनि झल्कन्छ नै ।

अघिका विचारहरूमा खटकिरहेको चुइँक्क पनि नबोलेको ठानिएको विषय प्रवेश भएको देखिन्छ, “कठै मेरो देश” शीर्षकमा । विवेचनायुक्त इतिहासका स्मरणसाथ सामयिक र मार्मिक अभिव्यक्ति प्रस्तुत रहेको “कठै मेरो देश” मा भनिएको छ, ‘अन्य मुलुकले आफ्नो राष्ट्र समुन्नत बनाउन र नागरिकको शिर उँचो बनाउन राजनीति गर्छन् । उनीहरूको प्रमुख राजनीतिक एजेण्डा भनेको वैदेशिक नीतिलाई कसरी अघि बढाउने, शत्रु राज्यलाई कसरी कमजोर पार्ने भन्ने हुन्छ । विदेशी पक्षलाई कमजोर पार्न कतिपय मुलुकले देखावटी रूपमा औषधी, खाद्यान्नलगायतका सहयोग गरिरहेका हुन्छन् भने भित्रभित्रै त्यहाँका जनताबीच फुटको राजनीति लादिरहेका हुन्छन् । साथै आफ्नो देशमा उत्पादित हातहतियार महँगो दाममा बिक्री गरिरहेका हुन्छन्, तर हाम्रो राजनीति योभन्दा फरक छ । बाहिरी राज्यको इसारामा कसरी आफ्नो राज्य कमजोर पार्ने ? नागरिकलाई कसरी आपसमा लडाएर सन्त्रास फैलाउने आदि विषयमा हाम्रो राजनीति केन्द्रित छ ….। यावत खरो कुराका चर्चा यसमा निर्भीकतापूर्वक प्रस्तुत छ ।

यस्तै गरी “कान्तिहीन कान्तिपुरी” शीर्षकको निबन्ध कतै अघिकै विषयतिर मोडिएको आभास मिल्छ । तर पनि यसमा मानिसले भोग्नु परेको मानसिक यातना वर्णनात्मक शैलीमा सत्यतथ्यको सेरोफेरामा रहेर उजागर गरिएको छ । यसबारेमा यहाँ चर्चा गरिरहनु सायदै पर्ला । सरकारले नागरिकप्रति देखाउनुपर्ने जुन जिम्मेवारी छ, त्यसैलाई आधार बनाएर सरकारको अनुदार अनुत्तरदायी चरित्र यसमा उठान गरिएको छ । उठानका विषयवस्तुले राज्यद्वारा जानअन्जानमा दिइएको पीडाबाट जनताले भोगेको भोगाइलाई दैनिकीका रूपमा प्रस्तुत गरिएको छ । यसपछि “लाजै पचाइयो राजै” शीर्षकको निबन्ध आउँछ । २०६८ सालमा चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण र त्यसबेला नेपाली नेताहरूको पहिरनमा देखिएको विविधताका बारेमा सविस्तार दृश्य ओरालिएका छन् । सत्य र तथ्य लुकाएर लुक्दैनन् विचार मन्थनमा सत्यता अपरिहार्य रहन्छ भन्ने कुरालाई हेक्का राखेर कलमले सशक्त भूमिका निभाइएको छ ।

“परसुराम प्रशासक” शीर्षकमा अर्को विचार प्रवाहित रहेको छ । परिवर्तनका परिधिमा समेटिन नसकेका कर्मचारी प्रशासनबारेको यो विचार प्रवाहमा गहिरो अध्ययनको बान्की रहेको छ । यस्तै “रङ्गिन होली” शीर्षकबाटै चर्चाको विषयवस्तु पहिलिएको प्रस्ट हुन्छ । तर चर्चाका लागि चर्चाले लेखन धर्म पालन भएको मान्न सकिन्न । यही कुरालाई हृदयङ्गम गरेर निबन्धकारले होलीका बारेमा गहिराई नापेका छन्, संस्कृतिको मर्म फोएका छन् । यस्तै अर्को निबन्ध शीर्षक “तीज…आयो बरी लै” को अन्त्यमा, ‘कहीँ जानाजान आयातीत उच्छृङ्खल व्यवहार देखाउने र कतै पुण्य कमाउने नाममा दाश मानसिकता पाल्ने’ इङ्गित गर्दै धर्म संस्कृतिको जगेर्ना गर्ने सचेतनातर्फ ध्यान आकृष्ट गराइएको पाइन्छ । अन्त्यमा शास्त्रीय मान्यता होस् वा मनोवैज्ञानिक दृष्टि, व्यावहारिक जीवन पद्धतीमा नारीको भूमिका अत्यन्त महत्वपूर्ण छ । नारीविनाको घर, समाज, राष्ट्र लङ्गडो मात्र हुने होइन मृतसरह हुन्छ भन्ने अवधारणा सार्दै “यत्र नार्यस्तु पुज्यते” शीर्षकबाट “छैटौं इन्द्रिय” प्रबन्ध सङ्ग्रहले विश्राम लिएको छ ।

यहाँ अन्तिम केही प्रबन्धका बारेमा चर्चा नगरिनुको कारण मूलतः चर्चा हुने गरिआएकै विषय भएकाले हो । तर पनि यसप्रति दृष्टिकोण राख्ने नै हो भने विद्याप्रसाद घिमिरेमा आफ्नै मौलिकता रहेको कुरो दोहो¥याउनु परोइन । पुस्तकका प्रबन्धकीय प्रबन्ध, विषयवस्तु चयन धेरै जसो गहन रूपमै छानिएको मात्र नभई प्रत्येक विषयमा गहन अध्ययनसमेत रहेकाले अधिकांश प्रबन्ध ज्ञानबद्र्धक प्रामाणिक कुराहरू तथ्यगत रूपमा सबल समेट्याइँ पनि भेटिन्छ । व्याख्याका विस्तार पनि यिनै कुराहरूको परिणाम हुन् । सरल भाषा, सुस्पष्ट तर्कपूर्ण विचार अनि दर्शनको सरल अभिव्यक्ति “छैटौं इन्द्रिय” को विशेषता हो । यस “छैटौं इन्द्रिय” मा रहेका प्रबन्धहरूमा कतै लक्ष्मीप्रसाद देवकोटा, कतै यदुनाथ खनाल, सम् आदिका जलप भेटिन्छन् । आकाशको उडानभन्दा धरतीको दरिलो पाइलाप्रतिको समर्पण “छैटौं इन्द्रिय” को अर्को विशेषता हो । प्रायजसो लेखनमा धैर्यता, खोज, मन्थनका बिम्बहरू सुस्पष्ट झल्किन पुगेका छन् । विद्याप्रसाद घिमिरेको यो श्रम सार्थकतापूर्ण मार्गमा परिलक्षित रहेको छ ।