अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न

बिआरटीनेपाल २०७७ जेठ ३१ गते २२:०६ मा प्रकाशित

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम ६० प्रतिशत सकिएको छ । लकडाउनको अवधिमा एक दिन पनि काम नरोकिएको आयोजनामा अहिलेपनि दैनिक २ सय ५० चिनियाँ र १सय नेपाली कामदारले काम गरिरहेका छन् । टर्मिनल, टावर, अध्यागमन, भन्सार, ह्यांगर, कार्गो, प्रशासनिक, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्षलगायत १४ भवन बनिसकेका छन् ।

भवनमा उपकरण जडान, डेकोरेसन र फिनिसिङ (रङरोगनलगायत) काम भईरहेको छ । नाला निर्माण र पानी निकासको संरचना पनि बनिसकेको छ भने रनवे, ट्याक्सी वे, आन्तरिक र बाह्य एप्रोनको निर्माण कार्य सम्पन्न भईसकेको छ । पछिल्लो समय सिमेन्टलगायत निर्माण सामग्री सहज ढुवानी भएकाले एक महिनाभित्र सबै ढलान सक्ने गरी काम भइरहेको विमानस्थल आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार निर्माण सामाग्री आएमा कामले अझै गति लिनेछ । तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण सकेर नेपाल सरकारलाई बुझाउने भन्दै ठेकेदार कम्पनीले सोहीअनुसार काममा तीव्रता दिएको थियो । तर कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण कामको गतिमा कमी आएको हो ।

विमानस्थल १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने ठेकेदार कम्पनीसँगको सम्झौतामा उल्लेख छ । चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल निर्माण कार्य थालिएको थियो । विमानस्थलमा १ सय ९२ देखि २ सयसम्म यात्रु बोक्ने मझौला खालका जहाजले अवतरण र उडान गर्नेछन् । विमानस्थल प्रयोग गरी पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सीधा उडान गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू