कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको भन्दै आज पनि देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । केही दिनयता राजधानीलगायत देशैभर भइरहेको प्रदर्शनलाई शनिबार पनि निरन्तरता दिइएको हो । सामाजिक सञ्जालमार्फत् स्वःस्फूर्तरुपमा जम्मा भएर प्रदर्शन गरेका युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघरमा मण्डलामा लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिंदै ‘१० अर्बको हिसाब खोई ?’ भन्ने ब्यानर प्रदर्शन गरिएको छ । अघिल्ला प्रदर्शनहरुमा पनि सरकारको काम–कारबाहीको पारदर्शीताको माग गरिएको थियो भने शनिबार पनि ‘पीसीआर’ परीक्षणको दायरा बढाउन, ‘क्वारेन्टिन’को उचित व्यवस्थापन गर्न प्रदर्शनकारीले माग गरेका छन् ।
सरकारको चर्को आलोचनासहितको प्लेकार्ड बोक्नेहरुको संख्या धेरै रहेको प्रदर्शनमा केहीले अनुहारमा बेसार दलेर प्रधानमन्त्रीलाई व्यंग्यसमेत गरेका थिए । चर्को घामको पर्वाह नगरी काठमाडौंका विभिन्न स्थानबाट भेला भएका उनीहरुलाई प्रहरीले सामाजिक दूरी कायम गरी बस्न प्रहरीले पटक–पटक ‘माइकिङ’ गरेको थियो ।
यसअघिका प्रदर्शनहरुमा धरपकड, लाठीचार्ज, पानीका फोहोरा प्रहारसमेत भएकोमा शनिबार भने प्रदर्शन शान्तिपूर्ण रहेको थियो । आजको प्रदर्शनका सहभागीले प्रहरीलाई गुलाबको फूल दिइरहेका थिए भने कसैले राष्ट्रियगान गाइरहेका थिए । माइतीघर मण्डलादेखि पूर्वमा नयाँबानेश्वर जाने बाटोसम्म सयौंको संख्यामा भेला भएकाहरुमध्ये केही विदेशी नागरिक पनि रहेका थिए ।