अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

कोरोनाका कारण अमेरिकी अर्थतन्त्र अस्तव्यस्त, बेरोजगारी भत्ता दावी गर्नेको संख्या १५ लाख

बिआरटीनेपाल २०७७ जेठ २९ गते २२:२३ मा प्रकाशित

कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्र प्रभावित भएको छ । अमेरिकी केन्द्रीय बैंकले कोरोनाको विश्वव्यापी मन्दीका कारण अर्थतन्त्रमा गिरावट आएको जनाएको छ । गतहप्ता अमेरिकी सेयर बजारमा करिब ७ प्रतिशतले गिरावट आएसँगै केन्द्रीय बैंकले यस्तो चिन्ता व्यक्त गरेको हो ।

कोरोना महामारीका कारण निरन्तर ओरोलो लागेको सेयर बजार सुधारका लागि तत्कालै ठोस कदम चाल्नुपर्ने केन्द्रीय बैंकले सुझाएको छ । बढ्दो महामारीका कारण विश्व बजार नै लकडाउनको प्रभावमा परेकाले उर्जा र यातायात क्षेत्रको सेयर बजारमा सबैभन्दा बढी गिरावट आएको छ ।

सरकारी कम्पनीहरुको सेयर झन् घट्ने क्रममा रहेकाले थप चिन्ताको विषय बनेको केन्द्रीय बैंकले जनाएको छ । यता युरोपेली र एसियाली सेयर बजार पनि प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सरकारले कोरोना नियन्त्रणका प्रभावकारी उपाय नअपनाएकाले सेयर बजार उथलपुथल भएको लगानीकर्ताहरुले आरोप लगाएका छन् । गत हप्ता मात्र अमेरिकामा डेढ लाख मानिस बेरोजगार भएको बताइएको थियो । बैंक नीति निर्माताहरुले यो वर्षको अन्त्सम्ममा अमेरिकामा बेरोजगारको दर ९ प्रतिशतसम्म पुग्ने आंकलन गरेका छन् ।

यसैबीच अमेरिकामा कामबाट निकालिएर बेरोजगारी भत्ताको दावी गर्नेहरुको संख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको संख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन् ।

अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुँदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निस्काशित हुनेहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । विषेश गरेर रेष्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निस्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू