अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

जर्ज फ्लोइड खुसी होलानः राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७७ जेठ २४ गते १४:०१ मा प्रकाशित

न्यु योर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्ज फ्लोइडले ‘तल हेरिरहेको’ र ‘यो दिन देखेर खुसी भएको’ हुनुपर्ने बताएका छन् ।

शुक्रवार बेरोजगारी दर अनपेक्षित रूपमा घटेको प्रतिवेदन आएपछि उनले भने, ‘यो उनका (जर्ज फ्लोइड) लागि खुसीको दिन हो । यो सबैका लागि खुसीको दिन हो ।’ अघिल्लो साता बेरोजगारी दर अनपेक्षित रूपमा घटेर १३ दशमलव ३ प्रतिशतमा झरेको प्रतिवेदन शुक्रवारै आएको थियो । त्यस अघि बेरोजगारी दर १४ दशमलव ७ प्रतिशत थियो । उक्त बेरोजगारी दर दोस्रो विश्व युद्ध पछिको सबैभन्दा बढी हो । कतिपय विद्धानहरूले बेरोजगारी दर कम्तीमा २० प्रतिशत भएको दाबी गरेको थिए ।

ट्विटरमा शुक्रवार बिहानभर हल्ला गरिरहेका ट्रम्पले ह्वाइट हाउस रोज गार्डेनमा दिएको भाषणमा बिना प्रसङ्ग जर्ज फ्लोइडलाई जोडे । उनी अघिल्लो साता प्रहरीको ज्यादतीका कारण मरेको थिए । उनलाई नियन्त्रणमा लिएपछि प्रहरीले हतकडी लगाएर भुइँमा लडाइ करिब ९ मिनेट गर्दनमा घुँडाले थिचेको थियो ।

‘अघिल्लो साता के भयो सबैलाई थाह छ । हामी त्यो घटना फेरी दोहोर्याउन सक्दैनौँ,’ ट्रम्पले थपे, ‘जर्ज फ्लाइडले तल हेरिरहेका छन् र हाम्रो देशमा राम्रो कुरा भइरहेको छ भनिरहेका छन् । यो उनका लागि खुसीको दिन हो । यो सबैका लागि खुसीको दिन हो । समानताको सवालमा यो महत्त्वपूर्ण दिन हो ।’

शुक्रवार राष्ट्रपतिले दिएको वक्तव्य आलोचनाको विषय बनेको छ । उनले बेरोजगारी दर घटेपछि जर्ज फ्लोइड खुसी भएको बताएको समाचार आएका छन् । त्यसभन्दा अघि ट्रम्पले बेरोजगारी दर र कोरोना भाइरसका सन्दर्भमा अमेरिका कुनै बेला उकालो लागिरहेको समृद्ध अर्थतन्त्र रहेको र यसले अफ्रिकन अमेरिकन, हिस्पानिक अमेरिकन, एसियन अमेरिकन र सबैको हित गरेको बताएका थिए । त्यस्तो अभिव्यक्तिले उनीमाथि जातिवाद भड्काएको आरोप लागेको थियो ।

ट्रम्पका कम्युनिकेसन डाइरेक्टर टिम मुर्टहले मिडियाले कुरा बङ्ग्याएको आरोप लगाएका छन् । उनले मिडियाबाट ‘मेलिसस्ली क्राफ्टेड’ भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू