अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु, बाजुराको क्वारेन्टाइनमा एक बृद्धको ज्यान गयो

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:४६ मा प्रकाशित

चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । माडी क्वारेन्टाइनमा बसेका उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि हिजो दिउँसो भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

राति अवस्था गम्भीर भएपछि कोभिड आईसीयूमा भर्ना गरिएको र उपचारकै क्रममा उनको आज बिहान करिब १० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनमा कोरोना संक्रमण भए नभएको जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको बताइएको छ ।

यसअघि आज बिहान बाजुरामा क्वारेन्टाइनमै एक व्यक्तिको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका एकजना वृद्धको मृत्यु भएको हो । ६५ वर्षका ती वृद्ध जेठ १५ गते भारतबाट आएका थिए । १६ गतेबाट क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिनुभयो ।

दमका बिरामी रहेका ती व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष रावतले जानकारी दिनुुभयो । मृत्युपछि ती व्यक्तिको शव क्वारेन्टाइनमै छुट्टै अरुले नछुने गरि राखिएको जानकारी दिँदै उहाँले उनमा कोरोना भए नभएको नतिजा आएपछि मात्रै शव व्यवस्थापन गर्ने बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू