अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

रामेछापमा नेगेटिभ रिपोर्ट आएको भनी गाउँपालिकाले क्वारेन्टाइनबाट विदा गरेका ११ जनामा संक्रमण पोजिटिभ

बिआरटीनेपाल २०७७ जेठ २३ गते २१:५२ मा प्रकाशित

रिपोर्ट नेगेटिभ आएको भन्दै गाउँपालिकाले क्वारेन्टाइनबाट विदा गरेको ११ जनामा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएपछि रामेछापको गोकुलगंगा गाउँपालिकामा तनावको अवस्था सिर्जना भएको छ । शुक्रबार दिउँसो २ बजे गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले भारतबाट आएर क्वारेन्टाइनमा रहेका ११ जनालाई रिपोर्ट नेगेटिभ आएको भनेर विदा गरेका थिए । विदाई पछि हर्षित बनेका उनीहरु क्वारेन्टाइन नजिकको बेताली बजारमा गएर मासु चिउरा खाएर रमाइलो गरेका थिए ।

आआफ्नो घर जान बेताली बजारबाट आवश्यक सामान पनि खरिद गरेका उनीहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह ४ बजेर १५ मिनेटमा गर्ने गरेको नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस पोजिटिभ भएको जानकारी सार्वजनिक भएको थियो । मन्त्रालयको पत्रकार सम्मेलन लगत्तै गाउँपालिकाले उनीहरुको खोजी थाल्दा १० जनालाई साँझ भेट्टाए पनि १ जना भने  फेला परेका छैनन् ।

१० जनालाई ल्याएर अहिले क्वारेन्टाइनमा अलग्गै राखिएको छ । यो घटना पछि अहिले राति जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले घटनाको स्वीकार गर्दै अब अपनाउनु पर्ने रणनीति बारे बैठकले निर्णय लिने बताउनुभयो ।

बेपत्ता एकजनाको खोजी तीब्र पारिएको र गाउँपालिका अध्यक्ष सुनुवारले कसरी गल्ती सूचना दिए भन्ने बारेमा पनि बैठक छलफल भइरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो । मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार रामेछापमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमा गोकुलगंगा गाउँपालिककाको क्वारेन्टाइनमा बसिरहेको ११ जना छन् । उनीहरु सबैको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पोजिटिभ पाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू