अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

लकडाउनयता भारतबाट १ लाख ६६ हजार नेपाली भित्रिए, परीक्षण ४ हजारको मात्र

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:२५ मा प्रकाशित

लकडाउन सुरु भएयता भारतबाट १ लाख ६६ हजार नेपाली भित्रिएका छन् । यो तथ्यांक नाकाबाट वैध रूपमा भित्रिएकाहरूको मात्रै हो, लुकिछिपी आउनेको संख्या पनि ठूलो रहेकाले भारतबाट फर्किनेको कुल संख्या अझ धेरै हुन सक्ने गृह मन्त्रालयको आकलन छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार ११ चैतदेखि २१ जेठसम्म भारतका विभिन्न सहरबाट १ लाख ६६ हजार ६९ नेपाली घर फर्किएका छन् । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका नाकाबाट ७६ हजार ६ सय पाँचजना आएका छन् । त्यस्तै, प्रदेश ५ बाट ६४ हजार नौ सय ९७, प्रदेश २ बाट १७ हजार नौ र प्रदेश १ बाट सात हजार चार सय ५८ जना आएको गृहको तथ्यांक छ ।

हालसम्म सबैभन्दा धेरै १८ जेठमा १४ हजार ६ सय २५ जना भित्रिएका थिए । पछिल्लो दुई सातामा मात्र एक लाख ३५ हजार नौ सय १८ जना आएको गृहको तथ्यांक छ । अहिले दैनिक औसत १० हजारको संख्यामा भारतबाट फर्किने क्रम जारी छ । सीमामा रोकिएका नेपालीलाई स्वदेश ल्याउने निर्णयसँगै पछिल्लो समय २० वटा नाका खुला गरिएको छ ।

तथ्यांकअनुसार अहिले देशभरिका क्वारेन्टाइनमा बस्नेहरूको संख्या एक लाख ६१ हजार दुई सय ६२ पुगेको छ । उनीहरूमध्ये अधिकांश भारतबाट फर्किएका छन् । केही संक्रमितको सम्पर्कमा आएका व्यक्ति छन् । क्वारेन्टाइनमा बस्नेको संख्या उच्च भए पनि परीक्षण भने सुस्त छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन हजार आठ सय ६७ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर २० ठाउँमा रहेका प्रयोगशालामा दैनिक करिब ६ हजार नमुनाको कोरोना परीक्षण गर्ने क्षमता छ । तर, अहिले औसत दैनिक चार हजार नमुना परीक्षण हुने गरेको छ । यही गतिमा क्वारेन्टाइनमा रहेकाहरूको मात्र परीक्षण गर्न करिब ४० दिन लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू