अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

नेपालमा कोरोना सङ्क्रमितमध्ये झण्डै ९५ प्रतिशतमा भाइरसको लक्षण देखिएन

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:१५ मा प्रकाशित

नेपालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका धेरैलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । रुखाघोकी लाग्ने, १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने, सास फेर्न ग्राहो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने कोरोना भाइरस सङ्क्रमणपछि देखिने लक्षणहरु हुन् । तर नेपालमा सङ्क्रमितमध्ये झण्डै ९५ प्रतिशतमा त्यस्ता लक्षण नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले बताउनुभयो ।

अहिलेसम्म २६ सय ३४ जनामा सङ्क्रमण देखिए पनि धेरैजसोको अवस्था सामान्य रहेको उहाँको भनाइ छ । सङ्क्रमितमध्ये पाँच प्रतिशतमा लक्षणसहित मुटुरोग, उच्च रक्तचाप, दम लगायतका अरु पनि समस्या रहेको पाइएको छ । निको हुने कोरोना सङ्क्रमितको संख्या ३ सय १३ पुगेको छ । सङ्क्रमितमध्ये ११ जनाको ज्यान गएको छ । तर नेपालमा कोरोना सङ्क्रमणको दर भने बढ्दै गएको छ । सङ्क्रमितको संख्या बढ्दै गएपछि उनीहरुको लक्षण र स्वास्थ्य अवस्था हेरेर उपचार गर्ने सरकारको तयारी छ ।

यसको अर्थ कोरोना भाइरसको सङ्क्रमण देखिएका सबैलाई अस्पतालमा राखिने छैन । अस्पतालमा बेड नै नपुग्ने भएपछि सामान्य लक्षण र जटिल अवस्था नभएकाहरु घरमै बस्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीका अनुसार विश्वमा कोरोना सङ्क्रमित मध्ये झण्डै ८० प्रतिशतमा लक्षण नै नदेखिने या त सामान्य लक्षण देखिने गरेको छ ।

त्यसैका आधारमा सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशतलाई मात्रै अस्पतालमा राखेर उपचार गर्नेगरी मन्त्रालयले योजना बनाएको छ । अरु सङ्क्रमित घरमै या पालिकाले तोकेको आइसोलेसन सेन्टरमा बस्नुपर्नेछ । जसको घरमा छुट्टै सुत्ने कोठा र बाथरुम छ, ज्येष्ठ नागरिक र बालबालिका छैनन्, परिवारले स्याहार सुसार गर्न सक्नेछन्, उनीहरु होम आइसोलेसनमा बस्नेछन् । अमेरिका, जापान लगायत अरु देशमा पनि यस्तो अभ्यास गरिएको डाक्टर कार्कीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू