अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

नेपालकोे प्रयोगशालामा निर्माण भएको भनिएको कोरोनाविरुद्धको खोपमा विश्व स्वास्थ्य संगठनको चासो

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:१० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिनुभयो । यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनुका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिनुभयो । सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्ने र त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गर्ने बिष्यामा छलफल भएको गैरेले बताउनुभयो ।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा डा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको जिकिर गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू