अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

एसइई, कक्षा ११ र १२ को परीक्षाबारे एकसाताभित्र निर्णय हुने – शिक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:०८ मा प्रकाशित

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका सम्बनधमा एक साताभित्र निर्णय गरिने बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने जानकारी दिनुभयो ।

अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पमा मन्त्रिपरिषद्ले निर्णय गर्ने उहाको भनाई छ । बन्दाबन्दीपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको मन्त्री पोखरेलले बताउनुभयो ।

आगामी असार १ गतेबाट विद्यालय नखोलिने उल्लेख गर्दै मन्त्री पोखरेलले दशैँ अगाडि र पछाडि कसरी शैक्षिक क्रियाकलाप संचालन गर्ने भन्ने बारेमा छलफल गरिने बताउनुभयो । वैकल्पिक प्रणालीबाट सबै विद्यार्थी त्यसबाट लाभान्वित भए त्यसलाई शैक्षिकसत्रसँग जोड्न सकिन्छ र त्यसले औपचारिक मान्यता पाउने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू