अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

चूप बस्नु हिंसा जस्तै घातक– अमेरिकी पूर्व राष्ट्रपति कार्टर

बिआरटीनेपाल २०७७ जेठ २१ गते २२:०८ मा प्रकाशित

अमेरिकामा भएको जातीय हिंसा र त्यसविरुद्ध फैलँदो प्रदर्शनका बारेमा पूर्वराष्ट्रपतिहरुले एकपछि अर्को गर्दै मुख खोल्न थालेका छन् । यसैक्रममा पूर्व राष्ट्रपति जिमी कार्टरले जर्ज फ्लोइडको मृत्युपछि भएको प्रदर्शनका सम्बन्धमा विज्ञप्ति जारी गर्दै अपराधविरुद्ध नबोल्नु हिंसा जस्तै खतरनाक हुने चेतावनी दिनुभएको छ । यसअघि पूर्वराष्ट्रपति बराक ओबामाले पनि यसबारेमा आफ्नो धारणा सार्वजनिक गरिसक्नुभएको छ ।

जिवित पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाभन्दा पाको उमेरका कार्टरले सत्तामा रहेका व्यक्ति चुप बस्नु हिंसाभन्दा पनि खतरनाक हुने टिप्पणी गर्नुभएको हो । उहाँले आफू र आउने पुस्ताका लागि शान्तिपूर्ण तथा समानताले सजिएको विश्व बनाउने जिम्मा अमेरिकी सबैको रहेको पनि समरण गर्नुभएको छ ।

कार्टरले आफ्नो वक्तव्यमा भन्नुभएको छ , ‘सत्ता र शक्तिमा रहेका व्यक्तिहरु, विशेष अधिकारी प्राप्त तथा नैतिक विवेक भएका व्यक्तिहरु बोल्नै पर्छ, उनीहरुले आवाज उठाउनुको विकल्प छैन । उनीहरुले छालाको रंगको आधारमा विभेद गर्ने प्रहरी प्रशासन र न्याय प्रशासन अस्वीकार्य भन्नु पर्छ ।’

श्वेत र अश्वेतबीचको आर्थिक खाडललाई अनैतिक भन्दै कार्टरले त्यसलाई नै बढावा दिने खालको सरकारी प्रणालीले अमेरिकी एकीकृत प्रजातन्त्रलाई छायाँमा पारेको बताउनुभयो । ‘मानिसलाई अमानवीयकरण गरिनुले हामी सबैलाई अवमूल्यन गर्छ, मानवीयता अति सुन्दर छ र यसमा असीमित विविधता छ । हाम्रो साझा मानवीयताको बन्धनले हामीलाई विभाजन गरिरहेको भय र पूर्वाग्रहलाई तोड्न सक्नु पर्छ ।’–उहाको भनाई छ ।

प्रतिक्रिया