अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:०३ मा प्रकाशित

गण्डकी प्रदेशको प्रदेशसभामा सरकारले ल्याएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ । जेठ १८ गते प्रदेशसभामा प्रस्तुत भएको प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षीय सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन र प्रतिपक्षले आलोचना गरेका छन् ।

सत्तारुढ सांसदहरुले कोरोनालाई केन्द्रित गर्दै प्रदेशको विकास र समृद्धिको खाकासहित नीति तथा कार्यक्रम आएको भन्दै समर्थन गरेका छन् । प्रतिपक्षी सांसदहरुले भने सरकारले कोरोनालाई चिन्न नसकेकाले त्योसँग लड्न र त्यसबाट प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्न ठोस योजना र कार्यक्रम नआएको टिप्पणी सहित आलोचना गरेका हुन् ।

प्रदेशसभाको बुधबारको छलफलमा १२ जना प्रदेशसभा सदस्यले सरकारले ल्याएको कार्यक्रको बचाउ र विरोध गरेका छन् । छलफल कार्यक्रममा बोल्ने सांसदहरुले ‘लकडाउन’लाई छिट्टै खुकुलो बनाएर जनजीवन सामान्य बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

अधिकांश सदस्यहरुले प्रदेश सरकार आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने सुझाव दिएका छन् । मुलुक संघीयतामा गएसँगै कार्यान्वयनको सन्दर्भमा खर्च बढिरहेको तर आम्दानीमा ध्यान नगएको बताउँदै प्रदेश सरकारले राजस्व संकलनमा विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । कतिपय प्रदेशसभा सदस्यहरुले जनताको भावना, चाहना तथा वर्तमान आवश्यकताविपरीत नीति तथा कार्यक्रम आएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू