अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

चार्टर विमानमार्फत २२७ नेपालीको शव नेपाल ल्याईँदै

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:२४ मा प्रकाशित

सरकारले विदेशमा विभिन्न कारणले निधन भएका २ सय २७ नेपालीको शव विमान चार्टड गरी स्वदेश ल्याउने भएको छ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका क्रममा बिभिन्न देशमा अलपत्र शव पनि सरकारले पहिलो चरणमै ल्याउन लागेको हो ।

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्वन्धि कार्य योजना, २०७७ मा ति शव नेपाल ल्याउने उल्लेख छ । कार्ययोजनाको १७ औं नम्वर बुँदामा रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको शव नेपाल ल्याई व्यवस्थापन गर्ने भनिएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय एंव विदेशस्थित नेपाली नियोगलाई जिम्मेवारी सुम्पिएको छ । सो कार्यलाई बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, गृह मन्त्रालय, पर्यटन मन्त्रालय र स्थानीय तहले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

कार्ययोजना अनुसार उनिहरुको शव सम्वन्धित मुलुकमा नेपाली नागरिकका लागि चार्टर उडान भएका बखत व्यवस्थाप गर्ने भनिएको छ । शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले व्यर्होर्न पर्नेछ । तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम चलाउन सकिने भनिएको छ ।

बोर्डका अनुसार यो साढे दुई महिनाको अवधिमा खाडी मुलुकसहित मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २२७ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै साउदी अरबमा ५८ जना नेपालीको मृत्यु भएको छ । जसमध्ये चार जनाको कोरोनाका कारण ज्यान गएको हो भने बाँकीको अन्य कारणले हो । ११ परिवारले उत्तै अन्त्येष्टिका लागि अनुमति दिएक छन् भने बाँकी ४७ शव छन् ।

मलेसियामा ४८, कतारमा २७, युएईमा ३६ जनाको मृत्यु भएपनि १२ वटा मात्र शव नेपाल ल्याइने भएको छ । बाँकीका परिवारले उतै अन्त्येष्टि गर्न अनुमति दिईसकेका छन् । यसैगरी कुवेतमा ११, बहराइनमा ३ जना नेपालीको शव बाँकी रहेको छ । दक्षिण कोरियामा यो अवधिमा ज्यान गुमाउने चारै जनाको शव उतै अन्त्येष्टिका लागि अनुमति आएको बोर्डले जनाएको छ ।

यो अवधिमा ओमानमा १ र अन्य विभिन्न देशमा ११ जनाको ज्यान गएको छ । विभिन्न देशमा ज्यान गुमाउने ११ मध्ये ८ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू