अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

कञ्चनपुरको गड्डाचौकीबाट दैनिक सयौंको संख्यामा नेपालीहरु भित्रदैं– परीक्षणको अभावमा संक्रमणको जोखिम बढ्यो

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:१७ मा प्रकाशित

कञ्चनपुरको नेपाल भारत सीमा नाका गड्डाचौकीबाट दैनिक सयौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिईरहेका छन् । तर, परिक्षण किट अभावमा उनीहरुको कोरोना परीक्षण हुन नसक्दा संक्रमणको जोखिम बढेको छ । आज बिहान मात्रै गड्डाचौकीबाट १ हजार १ सय ८५ जना नेपाली भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै ६५ जना भारतीयलाई स्वदेश फर्काइएको छ ।

हिजो मात्र गड्डाचौकीबाट १ हजार ९२ जना नेपाली भित्रिएका थिए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सबैभन्दा धेरै गत शनिबार ३ हजार सात सय ५२ जना नेपाली भित्रिएका थिए । जेठ १२ गतेबाट यो नाका खुला गरेपछि हालसम्म १९ हजार १ सय ९७ जना नेपालीहरु स्वदेश फर्किसकेका छन् ।

यसरी स्वदेश फर्किएकाहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने भनिएपनि व्यवस्थापनमा समस्या देखिएको छ । क्वारेन्टाइनहरु अव्यवस्थित हुंदा संक्रमणको जोखिम बढेको छ ।

सुदूरपश्चिममा भारतबाट आएका ४३ हजार भन्दा बढी नेपाली भित्रिइसकेका छन् । सुदूरपश्चिमका ८८ वटै पालिकामा १ हजार २ सय ७४ क्वारेन्टाइनको व्यवस्था गरिएको छ । सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलालाई सरकारले भारतबाट आउने नाकाका रूपमा खुला गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू