अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

सीमा विवाद कुटनीतिक पहलबाट समाधान गरौं– नेकपा प्रवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:१५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसंगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न सरकारसंग आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठककोविशेष समयमा उहाँले नेपालको भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि विवादको समस्या कूटनीतिक पहल र वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभयो ।

भारतीय कूटनीतिक, राजनीतिक तथा विद्वान्बाट वार्ताद्वारा समस्याको ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्छ भन्ने कुरा आएको उल्लेख गर्दै उहाँले नेपालको चाहना पनि तथ्यकै आधारमा वार्तामार्फत् भूमिका विषयमा समाधान खोज्नुपर्छ भन्ने नै रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक एवं आध्यात्मिक व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले पशुपतिनाथ र मुक्तिनाथसँग आशीर्वाद लिएर नेपालजस्तो तपोभूमि लिनुहुँदैन भनेर निर्णय गर्न पनि सुझाउनुभयो ।

इतिहासको सत्य र तथ्यका आधारमा वार्ता गरी छिमेकीसँगको सुमधुर सम्बन्ध स्थापित गर्नुपर्नेमा श्रेष्ठको जोड थियो । नेपाली जनताले नेपालको सम्पूर्ण भूमि समेटिएको नक्सा प्राप्त गरिसकेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका श्रेष्ठले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखन्डताको रक्षा सरकारले गरेको र यस्तो ऐतिहासिक कदमलाई प्रतिपक्षले समर्थन गरेकामा धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू