अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

आफ्ना दुई कूटनीतिज्ञलाई भारतले देश छाड्न आदेश दिएपछि पाकिस्तानको कडा आपत्ति

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:२६ मा प्रकाशित

जासुसीमा संलग्न भएको अभियोगमा भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी महावाणिज्य दूतावासका दुई कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएपछि दुई देशबीचको तनाव थप बढेको छ । भारतको विदेश मन्त्रालयले आइतबार दुई पाकिस्तानी उच्च कुटनीतिज्ञलाई २४ घण्टाभित्र भारत छोड्न आदेश दिएको थियो।

पाकिस्तानले यसप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। पाकिस्तानले भारतका एक उच्च कूटनीतिज्ञ मार्फत आफ्नो आपत्ति प्रकट गरेको हो। भारतले अविद हुसैन र मुहम्मद ताहिर नाम गरेका दुई पाकिस्तान कुटनीतिज्ञलाई आइतबार देश छाड्न आदेश दिएको थियो। उनीहरुलाई दिल्ली प्रहरीले भारतको सुरक्षा सम्बन्धी संवेदनशील जानकारी लिँदै गरेको अवस्थामा पक्राउ गरेको दाबी गरिएको थियो। उनीहरु एक भारतीय नागरिकबाट पैसा दिएर संवेदनशील जानकारी हासिल गर्दै गर्दा पक्राउ परेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसपछि विदेश मन्त्रालयले उनीहरुलाई भारत छोड्न २४ घण्टाको अल्टिमेटम दिएको थियो। भारतको विदेश मन्त्रालयले आइतबार वक्तव्य निकालेर ती दुई कूटनीतिज्ञलाई ‘अवान्छित व्यक्ति’ को संज्ञा दिँदै उनीहरुको कूटनीतिक हैसियत समाप्त गरी देश छोड्ने आदेश दिएको थियो।

पाकिस्तानको विदेश मन्त्रालयले सोमबार त्यसप्रति आफ्नो गम्भीर आपत्ति प्रकट गर्न भारतका एक उच्च कूटनीतिज्ञलाई मन्त्रालयमै उपस्थित हुन आदेश दिएको हो। ती कूटनीतिज्ञ मार्फत भारतले लगाएका सबै आरोप आधारहीन रहेको पाकिस्तानले बताएको छ । भारतीय गतिविधि भियना कन्भेन्सनको स्पष्ट उल्लंघन रहेको पाकिस्तानले बताएको छ । भारतले कूटनीतिक सम्बन्ध र कूटनीतिक आधारको स्पष्ट उल्लंघन गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू