अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

सीमा विवादमा मध्यस्थता गर्ने ट्रम्पको प्रस्तावलाई चीनले गर्यो खारेज

बिआरटीनेपाल २०७७ जेठ १७ गते ६:५७ मा प्रकाशित

चीनले भारतसँगको सीमा विवादको मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव खारेज गरेको छ । चीनले दुवै देश अस्तित्वमा रहेको सञ्चार संयन्त्रबाट समस्या समाधान गर्न प्रयासरत रहेको जनाउँदै ट्रम्पको प्रस्ताव अस्वीकार गरेको हो ।

‘हामीलाई तेस्रो पक्षको हस्तक्षेप आवश्यक छैन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । पूर्वी लद्दाख र सिक्किम क्षेत्र जोड्ने चिनियाँ सीमामा भारत र चीनको सुरक्षाकर्मीबीच तनाव बढेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार दुवै देशको सीमा विवाद मुद्दामा अमेरिका मध्यस्थता गर्न सक्षम, इच्छुक र तयार रहेको बताउनुभएको थियो ।

यसअघि नियमित पत्रकार सम्मेलनमा ट्रम्पको मध्यस्थताबारे सोधिएको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले चिनियाँ पक्षसँग शान्तिपूर्ण रुपमा समस्या समाधानका लागि पहल भइरहेको बताउनुभएको थियो । उहाँले दुवै देशसँग सीमा विवाद समाधानका लागि संयन्त्र रहेको बताउनुभयो ।

द हिन्दूस्तान टाइम्सका अनुसार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कोलोनेल रेन ग्वाक्योङ्ले पनि दुवै पक्षसँग सञ्चार गर्ने क्षमता र सीमा समस्याका लागि स्थापित संयन्त्रमार्फत अन्तरक्रिया गरेर समाधान गर्ने उपाय रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू