अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

आमा बलात्कार भो

राजेन्द्र श्रेष्ठ (राज), न्यु योर्क २०७७ जेठ १६ गते १५:४७ मा प्रकाशित

कविता: (छन्द: शार्दुलविक्रीडित)

हाम्रो देश मिची थिची कन हरे घाती छिमेकी बने
आफ्नै बाबु बराजुको कि बपुतो मानेर बाटो खने।
कस्तो नीयतहो मिचेर नपुगी सुस्ता र काली लुटे
यत्रो हर्कत आज सम्म कसरी सर्कार हाम्रा सुते ।1।

सार्दै पोलहरू सरे दशगजा सीमा छ सार्दै वर
पस्दै साँध तरी हरेक पलमा आतङ्क छर्दै वर।
जो आतङ्कित भै डटेर उभिँदा आवाज आफ्नै मरे
हेपाहा सरकार, द्वेष निंतिले खेल्ने छिमेकी परे ।2।
ब्वासाले जसरी चुसेर जिउदै आन्द्रा भुँडी नै थुती
लैजादै छ अझै छिमेक हरुले आफ्नै करेसा लुटी।
आफ्नै देश चलाउनेहरु सबै पर्दा उतै पाउमा
हेप्दै त्यो तलको छिमेक यसरी धावा दिने दाउमा ।।

पुर्खाले नझुकी डटेर जग त्यो राखे थिए अब्बल
आफ्नै आँगनमा प्रहार सहने हामी बन्यौँ निर्बल ।
सम्झौता इतिहास खोल हितमा पर्दै यसैको भर।
नेपाली नफुटी मिली सब उठे बन्ने छ हाम्रो घर।।

बन्बासा लिपुलेक नागरिकको आवाद मिच्दै गए
बारम्बार छ हस्तक्षेप रिपुको नेतृत्व बिक्दै गए
हेर्दा त्यो घटना क्रमै नयनले छर्लङ्ग हुन्नन् कि त
तेस्ता दुष्ट असभ्य चाल चलले गर्दैन कैले हित।।

धेरै साल विते नियोजित सबै ती योजना चालमा
चाल्दै चाल हरेक जंग जडमा दागा छ नेपालमा ।
थुप्रै चेप बनाइ बाहिर सबै घुस्या छ भित्रै गनी
पस्दै देश भरी नशा नहरमा चुस्या छ मित्रै बनी।।

बोली मात्र मिठो छरेर उसले पासो बुनेका सयौ
हेर्दै मौन दरिद्र मानसिकता बस्ने त हामी भयौ।
धेरैभो लुटपाट साँध कुटिए आघात यो भार भो
जागौ घात बिरूद्ध तान खुकुरी आमा बलात्कार भो।

प्रतिक्रिया