अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

विदेशमा अलपत्र परेकालाई ल्याउन बजेट विनियोजन

बिआरटीनेपाल २०७७ जेठ १५ गते ७:४६ मा प्रकाशित

सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइएकाहरूलाई सीप प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्कन चाहेकाहरुलाई ल्याउन बजेट छुट्याइएको बताउनुभयो ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशका धेरै नेपाली अलपत्र परेका छन् । आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।

आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ । त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ । सीपमूलक तालिम मार्फत ५० हजारलाई रोजगारी दिन १ अर्ब छुट्याइएको खतिवडाले बताउनुभयो ।

कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गर्ने नीति पनि सरकारले लिएको छ । २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा पनि सरकारले बजेट मार्फत् गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू