अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

लकडाउनको विरोधमा स्पेनमा हजारौँले गरे कार मार्फत प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:०८ मा प्रकाशित

स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।हजारौँ मानिसले सरकार विरोधी प्रदर्शनमा भाग लिएका छन् ।विपक्षी भक्स पार्टीले देशका प्रमुख शहरहरुमा सामाजिक दूरी कायम गरी प्रदर्शनमा सहभागी हुन आफ्ना समर्थकलाई आह्वान गरेको थियो ।

सोही अनुरुप स्पेनका प्रमुख शहरहरुमा हजारौँ मानिस आफ्नो सवारी साधानमा प्रदर्शनका लागि बाहिर आएका हुन् । भक्सले सामाजिक दूरी कायम गर्नका लागि कसैलाई पनि सवारी साधनबाट बाहिर ननिस्कन भनेको थियो ।प्रदर्शनकारीहरुले राजधानी मड्रिडमा कार तथा आफ्ना सवारी साधानमा राष्ट्रिय झण्डा राखेर प्रदर्शन गरे । उनीहरुले समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामा मागेका छन् ।

स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि गएको मार्च १४ देखि युरोपकै कडा लकडाउन लागु भएको थियो । पछिल्ला हप्तामा लकडाउन केही खुकुलो बनाउन थालिएको छ ।तर अझै पनि मड्रिड र बार्सिलोनामा कडा लकडाउन कायम छ । ती शहरमा अझै पनि कोरोना भाइरसको महामारी गम्भीर अवस्थामा छ । दुवै शहरमा सोमबारदेखि केही खुकुलो बनाइने छ । अधिकतम १० जनासम्म जम्मा हुन छुट दिने तयारी छ ।

स्पेनमा दुई महिनाको लकडाउनमा होटल, बार तथा रेस्टुरेन्ट बन्द भएका थिए । यसैगरी, समुद्री किनारहरु पनि बन्द भए भने घर बाहिर हुने गतिविधिमा प्रतिबन्ध लाग्यो । यसबाट महामारी नियन्त्रणमा सहयोग हुने सरकारले बताएको थियो र संक्रमणदर कम हुन पनि थाल्यो ।तर शनिबार प्रदर्शनमा उत्रिएका फार–राइट पार्टी भक्सका समर्थकले अब लकडाउन पूर्ण रुपमा हटाइनु पर्ने माग गरेका छन् । लकडाउनका कारण मानिसको रोजगारी तथा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै उनीहरुले लकडाउन खुलाउन माग गरेका हुन् ।

संक्रमणको समयको व्यवस्थापन गर्न नसकेको भन्दै आन्दोलनकारीले प्रधानमन्त्री सान्चेज र उपप्रधानमन्त्री पाब्लो इग्लेसिसको राजीनामा मागेका हुन् । भक्स पार्टीका नेता सान्तियागो अबास्कालले पूरै विश्वमा स्पेन सरकारले महामारीको खराब व्यवस्थापन गरेको आरोप लगाउनुभएको छ । उहाँले गाडीबाट समर्थकलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू