अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

सेनाप्रमुख नरावणेको नेपालबारेको टिप्पणी अनुचित– भारतीय कूटनीतिज्ञ जयन्तप्रसाद

बिआरटीनेपाल २०७७ जेठ १० गते २२:०८ मा प्रकाशित

भारतीय कूटनीतिज्ञ जयन्त प्रसादले भारतका सेना प्रमुखले नेपालसम्बधमा हालै दिएको अभिव्यक्ति उचित नभएको टिप्पणी गर्नुभएको छ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरावणेले नेपालमा भारतसँगको सीमा विवादलाई लिएर भइरहेको विरोध अरु कसैको उक्साहटमा गरिएको अभिव्यक्ति दिएका थिए ।

नरावणेको उक्त अभिव्यक्ति खराब बयान अर्थात् इल एडभाइज्ड रहेको नेपालका लागि भारतका पूर्वराजदूत समेतरहिसकेका जयन्त प्रसादले बताउनुभयो । भारतीय अंग्रेजी दैनिक ‘द हिन्दु’ मा शनिबार ‘लोअर द टेम्परेचर, डिफ्युज द इस्यू’ शीर्षकको लेख प्रकाशित गर्दै राजदूत प्रसादले सेना प्रमुखको अभिव्यक्तिले त्यो अरु कसैका लागि समस्या बढाउन सहज पार्ने आशंका ब्यक्त गर्नुभएको छ ।

सेना प्रमुख नरावणेले दिल्लीको इन्स्टिच्युट फर डिफेन्स स्टाडिज एण्ड एनालिसिसद्वारा आयोजित एक कार्यक्रममा लिपुलेकसँग जोडिने भारतीय सडकको उदघाटनपछि नेपालमा भएको विरोध नाम नलिई चिनियाँ उक्साहटमा भइरहेको संकेत गरेका थिए ।राजदूत प्रसादको टिप्पणी त्यतिबेला आएको छ, जतिबेला दुबै पक्ष आ–आफ्ना अडानका साथ पेश भएका छन् तर वार्ताकै माध्यमबाट समस्याको हल खोज्न सहमति पनि व्यक्त गरेका छन् ।

नेपाल–भारत सम्बन्ध बिग्रँदा अरुले त्यसको फाइदा उठाउने हुँदा अहिले चढेको पारो तल झार्दै समस्या समाधानमा लाग्नुपर्ने राजदूत प्रसादले बताउनुभएको छ । सार्वजनिक रुपमा विवाद चर्काउँदा दुई पक्षीय मित्रता प्रत्युत्पादक हुने खतरा उनले औल्याएका छन् ।

राजदूत प्रसादले लेखमा भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुले नै नेपाल दक्षिण एशियामा सही अर्थमा एक मात्र स्वतन्त्र देश रहेको बताएको स्मरण गराउनुभएको छ । भारतीय नेतृत्व र भारतीय जनता यस अर्थमा पनि नेपाली जनताको स्वाभीमान र गर्वप्रति सचेत रहेको प्रसादले लेखमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू