अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

नेपाली सेनाका २ अधिकृतसहित ४ जनालाई कारवाही

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३६ मा प्रकाशित

नेपाली सेनाले आफ्ना दुई अधिकृतसहित ४ जनालाई कारबाही गरेको छ । सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा २ अधिकृत र २ अन्य दर्जाका सैनिकलाई कारवाही गरिएको हो । समरी जनरल सैनिक अदालतबाट सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका २ सैनिक अधिकृत तथा २ अन्य दर्जाका सैनिकलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको सैनिक् जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कसूरमा सामेल भएकाहरुलाई उपरथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट शुक्रबार कारबाहीको फैसला सुनाइएको हो । फैसला अनुसार महासेनानी भुपालमान अधिकारी सैनिक ऐन, २०६ (घ) को दफा ४९ को खण्ड (क), दफा ५२ को खण्ड (६) र (झ) बमोजिमको कसुरमा दोषी ठहरिएको र उनलाई दुई महिना कैद तथा भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरिने गरी सेवाबाट हटाइने भएको छ । त्यस्तै, अधिकारीले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरेको ठहर गर्दै सैनिक अदालतले विगो वापत १ करोड ८५ लाख ४० हजार १ सय ८ रुपैयाँ ११ पैसा असुल उपर गरिने समेत फैसला गरेको छ ।

त्यस्तै आर्थिक अनियमितासँग जोडिएका अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने सैनिक अदालतको फैसला छ । क्षेत्रीसँग ४ लाख ४० हजार विगो जरिवानासमेत असुल गरिने भएको छ । अनियमिततामा दोषी हवल्दार यज्ञराज पोखरेल र गणेश बहादुर अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी सेवाबाट हटाउने अदालतको फैसला छ ।

फैसला अनुसार अधिकारीबाट ३ लाख ६० हजार असुल उपर गरिने र लेखा सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई नसिहत निर्णय गरिएको नेपाली सेनाले जनाएको छ । यही मुद्धामा संलग्न अन्य १३ जनाले भने अभियोग माग दावीबाट सफाई पाउने गरी फैसला भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू