अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

पाकिस्तानमा विमान दुर्घटना– ९७ जनाको मृत्यु , २ जना बाँच्न सफल

बिआरटीनेपाल २०७७ जेठ ९ गते २१:५४ मा प्रकाशित

पाकिस्तानमा भएको विमान दुर्घटनामा ९७ यात्रुको मृत्यु भएको छ । विमानमा रहेका दुई जनालाई सकुशल उद्धार गरिएको छ । ९९ जना यात्रु रहेको विमानका दुई जना भने आश्चर्यजनक रुपमा बाँचेका छन् । जसमा एक जना बैंक म्यानेजर छन् भने एक बालक रहेको जनाइएको छ ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार सिन्ध स्वास्थ्य अधिकारीहरुले ९७ जनाको मृत्यु भएको र दुई जना बाच्न सफल भएको जनाएका छन् । पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाका प्रवक्ता अब्दुल हफीजले जनाएअनुसार ए ३२० विमानमा ९१ जना यात्रु र ८ जना क्रु मेम्बर थिए । लाहोरबाट कराँची जाँदै गरेको उक्त विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्न एक सय मिटर जतिको दूरीमा रहुँदा दुर्घटनामा परेको थियो ।

विमानस्थल नजिकैको वस्तीमा विमान दुर्घटना हुनुपूर्व विमानले अवतरणका लागि दुई तीन पटक प्रयास गरेको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । वस्तीमा विमान खस्दा ५÷६ वटा घर ध्वस्त भएका छन् । विमान खसेका ठाउँ बाक्लो बस्ती रहेको मोडेल कोलनी भएको र त्यहाँ विशेष गरी गरीब समुदायका मानिस बस्ने गरेको जनाइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उहाँले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू