अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

सरकारद्धारा नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:१४ मा प्रकाशित

सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान संशोधन विधेयक दर्ता गराएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो ।

कानुन मन्त्री डाक्टर शिवमाया तुम्बाहाङफेले हस्ताक्षर गर्नुभएको पत्र र परिवर्तित निशान छापसहितको विधेयक सचिवालयमा दर्ता भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार जारी भएको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था रहेको छ । निशान छापभित्रको नक्सा मिलाउन संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको व्यहोरा खुलाइएको छ ।

संविधान संशोधनको उद्देश्य र कारणमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९ को उपधारा (२) मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भए बमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनको लागि यो संशोधन विधेयक पेस गरेको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू