अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

नेपालमा नयाँ नक्साको प्रयोग सुरु

बिआरटीनेपाल २०७७ जेठ ९ गते ७:१४ मा प्रकाशित

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएसँगै राजनीतिक तथा प्रशासनिक रूपमा यसको प्रयोग सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो । सरकारले यही जेठ ४ गते मन्त्रिपरिषद्बाट निर्णय गरी ७ गते सार्वजनिक गरेको हो ।

यो नक्सामा भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ । सरकारले अस्ति बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि नेपालको नयाँ नक्सा हस्तान्तरण गर्नुभयो । नेपालले आफै बनाएको नक्सामा पहिलो पटक लिम्पियाधुरासहित अन्तर्राष्ट्रिय सीमानासहितको यो नक्सा प्रकाशित भएको छ । यो नक्सामा भारतले लामो समयदेखि अतिक्रमण गरेको गुन्जी, कुटी र नाभीसमेत समेटिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू