अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्ने २४ लाखले बढे

बिआरटीनेपाल २०७७ जेठ ८ गते ९:२७ मा प्रकाशित

न्यु योर्क । डिपार्टमेन्ट अफ लेबरले बेरोजगार भत्ता दाबी गर्ने मानिसको सङ्ख्या अघिल्लो साता २४ लाखले बढेको जनाएको छ । यसले कतिपय राज्यमा व्यवसाय खुला गरिए पनि अर्थतन्त्रमा कोरोना भाइरसको असर निरन्तर रहेको सङ्केत गर्छ ।

कोरोना भाइरसका कारण झन्डै ३ करोड ९० लाख अमेरिकीले रोजगारी गुमाएको छन् । उनीहरूले ९ सातादेखि बेरोजगारी भत्ता लिइरहेका छन् । यो बेरोजगारी दर सन् १९३० दशकको ग्रेट डिप्रेसन पछिको सबैभन्दा डरलाग्दो हो । ‘श्रम बजारमा कोरोना भाइरसले गम्भीर असर पुर्याएको छ,’ वरिष्ठ अर्थविद् डेनियल झाओले भनेका छन् ।

डिपार्टमेन्ट अझ लेबरको तथ्याङ्कले १६ मेमा अन्त भएको अर्थात् अघिल्लो साता थप २४ लाखले बेरोजगारी भत्ता दाबी गरेको देखाउँछ । योसहित मार्च महिनाको मध्यमा बेरोजगारी भत्ता दाबी गर्नेको सङ्ख्या करिब ३ करोड ८६ लाख पुगेको छ ।

बेरोजगार भत्ता दाबी गर्नेको सङ्ख्या क्यालिफोर्नियामा सबैभन्दा बढी छ । क्यालिफोर्नियामा गत साता बेरोजगार भत्ता दाबी गर्नेको सङ्ख्या २ लाख ४६ हजार १ सय १५ ले थपिएको छ । त्यस्तै बेरोजगारी भत्ता दाबी गर्नेको सङ्ख्यामा न्यु योर्क दोस्रो नम्बरमा छ । न्यु योर्कमा गत साता २ लाख २६ हजार ५ सय २१ ले थपिएको छ ।

केही अध्ययनले ठुलो सङ्ख्यामा श्रम शक्ति लामो समय बेरोजगार रहन सक्ने देखाएको छ । सिबिओ नामक संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बेरोजगारी दर १६ प्रतिशत रहन सक्ने प्रक्षेपण गरेको छ । उक्त संस्थाको प्रक्षेपण अनुसार २०२१ को अन्तमा बेरोजगारी दर ८ दशमलव ६ प्रतिशत रहन सक्छ ।

प्रतिक्रिया