अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

अम्पुनको प्रभाव नेपालमा कमजोर, स्थानिय वायुको प्रभावका कारण मौसममा बदली

बिआरटीनेपाल २०७७ जेठ ७ गते २१:५८ मा प्रकाशित

अम्पुन आँधीको अप्रत्यक्ष प्रभावका कारण नेपालको पूर्व र मध्य क्षेत्रको मौसम प्रभावित भएको छ। बंगालको खाडीमा बनेको अम्पुन चक्रवात जमिनमा प्रवेश गरिसकेकाले अहिले कमजोर हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अम्पुनसँगै स्थानीय वायुको प्रभावका कारण पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ।

अहिले देशको पूर्वी र मध्य भू–भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका थोरै स्थानमा वर्षा भइरहेको छ ।बिहीबार दिउँसो देशको पूर्वी भू–भागमा पूर्ण बदली र मध्य क्षेत्रमा सामान्य बदली रहने छ । यस्तै बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।

पूर्वका केही र पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वको उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पूर्वी भू–भागमा पूर्ण बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।पूर्वका केही स्थान र मध्य क्षेत्रका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य क्षेत्रका उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू