अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

नयाँ नेपाली नक्सा र नेपालको पक्षमा अभिनेत्री मनिसा कोईरालाको ट्विटको बिषयप्रति भारतीय मिडिया रुष्ट

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:५७ मा प्रकाशित

लामो समयदेखि भारतले अतिक्रमण गरेको नेपाल भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमाग समेटेर नेपालले जारी गरेको अद्यावधिक नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ । सरकारले नेपाली भुमि समेटिएको नक्सा पारित भएसँगै अभिनेतृ कोइरालाले समर्थन गर्नुभएको थियो ।

कोइरालाले भारत र नेपालको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै भारतीय मिडियाहरु सीमा नाघेर उहाँबिरुद्ध खनिएको हो । कोइरालाको बिषयमा एबिपीले लेखेको छ, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छन । उनीहरुको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषा कोइरालाको चर्काे आलोचना गरेका हुन । कोइरालाको यो अडानलाई कतिपय भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत आरोप लगाएका छन । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषा कोइरालालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोपसमेत लगाउन भ्याएका छन ।

परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र (कालापानी, लिपुलेक र लिम्पियाधुरा) समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेख्नुभएको थियो, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस भन्ने आशा गर्छौं ।’ कोइरालाको यो ट्वीटलाई ७ सय भन्दा बढीले रिट्वीट गरेका छन् ।

अभिनेत्री कोइराला नेपालमा जन्मे पनि भारतलाई कर्मथलो बनाउनु भयो । लामो समय बलिउडमा राज नै गर्नुभयो । सौदागर, बम्बे, अग्नीसाक्षी, खामोशी, १९४२– अ लभस्टोरी, दिलसे, मन, अकेले हम अकेले तुम, गुप्त, कम्पनी लगायतका थुप्रै फिल्ममा अभिनय गर्नुभएकी मनिषा कोइराला हिन्दी फिल्ममा उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीमा पर्नुहुन्छ ।

आफ्नो देश नेपालले जारी गरेको नक्साको पक्षमा दृढताका साथ अडान लिएपछि मनिषालाई हतोत्साहित गराउने नियोजित योजनाका साथ भारतीय मिडिया उहाँबिरुद्ध लागेका हुन । भारतीय मिडियाले कोइरालालाई खेदो खन्न थालेपछि नेपाली जनताले प्रतिवाद गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू