अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

प्रशासनले तास खेल्ने र रक्सी खाने साथिलाई सवारी पास बाँडेको राष्ट्रिय सभाका सांसद्हरुको आरोप

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:४५ मा प्रकाशित

राष्ट्रिय सभामा सांसदहरुले कोरोना भाईरस संक्रमण रोक्ने सरकारी कार्यशैलीविरुद्ध आक्रोश पोखेका छन् । सांसदहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन् । बुधबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरुले अलपत्र परेका नागरिकलाई तुरुन्तै फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न भनेका हुन् । क्वारेन्टिनहरु गुणस्तरहीन भएकाले होटलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न पनि उनीहरुले सरकारलाई सल्लाह दिएका छन् । उनीहरुले कोरोना फैलन नेता, मन्त्री, सांसददेखि सिडियोसम्म दोषी रहेको आरोप लगाएका छन् ।

सत्तारुढ नेकपाका सांसद रामनारायण विडारीले सरकारलाई हाम्रो र अर्काको भनेर नसोची काम गर्न सुझाउँदै नेता, मन्त्री, सांसद, सिडिओका कारण बढी कोरोना फैलिएको आरोप लगाउनुभयो । सरकार संवेदनशील नभएको आरोप लगाउँदै उहाँले तास खेल्दाको र रक्सी खाँदाको साथी सवैलाई प्रशासनका मानिसहरुले पास बाँडिदिएको बताउनुभयो ।

सांसद हरिराम चौधरीले कोरोनाका कारण देश भयावह अवस्थामा पुग्न लागेको भन्दै भारतबाट आउने नागरिकलाई व्यवस्थित गर्न माग गर्नुभयो । सांसद जितेन्द्रनारायण देवले नेपालमा कोरोना महामारी उत्कर्षमा गइरहेकाले सरकारलाई गम्भीर बन्न आग्रह गर्दै भारतमा रहेका नागरिकलाई तत्काल फिर्ता ल्याउन आग्रह गर्नुभयो ।

सांसद शेखरनारायण सिंहले आवश्यक मात्र परीक्षण किट उपलब्ध गराउन माग गर्दै दुई नम्बर प्रदेशमा अझै पनि किट पर्याप्त नरहेको बताउनुभयो । सांसद नन्दा चपाईँले कोरोना लागेका र अन्य रोगीका बिरामीको उपचार अझै पनि एउटै अस्पतालमा भएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू