अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

कुकुरमार्फत सुँघेर कोरोना संक्रमित पत्ता लगाउन बेलायतमा अनुसन्धान सुरू

बिआरटीनेपाल २०७७ जेठ ६ गते २१:४८ मा प्रकाशित

बेलायतमा मानिसमा कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमण भएको या नभएको भनी सुँघेर कुकुर मार्फत पत्ता लगाउन अनुसन्धान सुरू भएको छ । तालिम प्राप्त कुकुरहरुले यसअघि विशिष्ट किसिमका क्यान्सर, पार्किन्सन र मलेरिया सुँघेर छुट्याएका थिए ।

यही तरिकाबाट बेलायतका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस मानिसमा संक्रमण भएको छ कि छैन भन्ने पत्ता लगाउन कुकुरको प्रयोग सम्भव हुने या नहुनेबारे अनुसन्धान भइरहेको हो । यो अनुसन्धानको अगुवाई बेलायतस्थित दुर्हाम विश्वविद्यालय अन्तरगतको लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन र एक ब्रिटिस परोपकार संस्थाले गर्नेछ । यसका लागि बेलायत सरकारले ५ लाख पाउण्ड रकमसमेत दिएको छ ।

अनुसन्धानका लागि ६ वटा ल्याब्राडोर र ककर स्पानियल्स जातका कुकुरलाई कोरोना संक्रमित बिरामीको गन्धको नमुना दिइनेछ र यसलाई संक्रमण नभएका मानिसहरूको गन्धबाट छुट्याउन सिकाइनेछ । ती नमुनाहरू भने लन्डन अस्पतालका कोभिड(१९ का बिरामीबाट लिइने बताइएको छ ।

अनुसन्धान सफल भएमा एउटा कुकुरले प्रतिघण्टा २५० जना मानिसको परीक्षण गर्नसक्ने अनुमान गरिएको छ । तालिम प्राप्त यी कुकुरहरुलाई विमानस्थल तथा सार्वजनिक स्थलमा प्रयोग गर्न सकिने बेलायती अनुसन्धानकर्ताहरुले बताएका छन् । यसअघि कुकुर तथा अन्य जनावरमा पनि कोरोना संक्रमाण भएको पाइएको थियो । तर तिनीहरुमा उनीहरुकै मालिकबाट सरेको पुष्टि भएको थियो ।

–बिबिसी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू