अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

अमेरिकी राष्ट्रपति ट्रम्प नै कोरोना भाइरसबाट जोगिन अप्रमाणित औषधि खाँदै

बिआरटीनेपाल २०७७ जेठ ५ गते २२:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै वैज्ञानिकबाट प्रमाणित नभएको औषधि सेवन गर्न थाल्नुभएको छ । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताउनुभएको हो । वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइएको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको ट्रम्पले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले झण्डै डेढ हप्तादेखि हाइड्रोक्सिक्लोरोक्वीन औषधि खाइरहेको छु । र पनि म यहाँ उपस्थित भएको छ ।’ हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने कुनै प्रमाण अहिलेसम्म छैन ।क्लिनिकल ट्रायलमा रहेको औषधि खाएको राष्ट्रपति स्वयंले खुलासा गर्दै भन्नुभयो, ‘तपाईँहरुलाई आश्चर्य लाग्न सक्छ कि धेरै मानिसहरुले यो औषधि खाइरहेका छन् । विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्नेहरुले कोरोना भाइरसको संक्रमण नहोस् भनेर खाइरहेका छन् । धेरैले यो औषधि खाएका छन् । र मैले पनि यो औषधि खाइरहेको छु ।’

हाइड्रोक्सिक्लोरोक्वीनले सकारात्मक काम गर्छ भन्ने प्रमाण के छ भन्ने प्रश्नमा उहाँले भन्नुभभयो, ‘यहाँ छ मेरो प्रमाणः यो औषधिले राम्रो गरेको छ भन्नेहरुको धेरै कल आइरहेको छ ।’औषधि ह्वाइट हाउसका फिजिसियनले सुझाएर नभई आफैले मगाएर खाएको जानकारी दिँदै ट्रम्पले ह्वाइट हाउसका केही कर्मचारी र आफैनजिकका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि आफूमा नरहेको दाबी गर्नुभयो ।

आफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले सञ्चारमाध्यमलाई जानकारी गराउनुभयो । उहाँले यो औषधिको प्रभाव राम्रै पर्ने देखिएको र राम्रो काम गरोस् भन्दै कामै गरेन भने पनि हाइड्रोक्सिक्लोरोक्वीन खाँदैमा बिरामी पर्ने वा मर्ने हुँदैन भन्नुभयो । यसअघि, अमेरिकाकै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत महिना हाइड्रोक्सिक्लोरोक्वीन कोरोना भाइरसको संक्रमण रोक्न वा निको बनाउन प्रभावकारी नदेखिएको र सुरक्षित पनि नरहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू