अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

अमेरिकाको कोलोराडोमा कोभिड–१९ का कारण ४ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ ३ गते २२:१६ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा कोभिड– १९ बाट ज्यान गुमाउने नेपालीको संख्या ४ पुगेको छ । मृतकहरुमा ३ जना नेपाली र १ जना नेपालीभासी भुटानी नागरिक रहेका छन् । निधन हुनेहरुमा ७३ बर्षीया रत्ना कार्की , ७८ बर्षकी रत्नावती खनाल, ६२ बर्षीय मंगल गुरुङ र लोकेन्द्र कार्की रहेका छन् ।

उनीहरुमध्ये रत्ना कार्की र रत्नावती खनालको अप्रिल १६ मा मृत्यु भएको थियो । ७८ वर्षीय रत्नावती खनाल २०१५ देखि अमेरिकाको कोलोराडोमा कान्छी छोरी कुसुम भट्टराईको परिवारसँग बस्दै आउनु भएको थियो । छोरी कुसुमले दिएको जानकारी अनुसार, “अप्रिल महिनाको सुरुमा आमालाई ज्वरो नाप्दा ९९ मात्र देखिएकोले घरमा नै तातो दूधमा बेसार, मरीच, ल्वाङ र अदुवा मिलाएर दिएपछि निको भएको थियो । अप्रिल ७ मङ्गलवारको दिन फेरी आमाले रिङ्टा लागेको, मुटु पोल्ने र कमजोरी भएको भनेपछि ९११ मा कल गरेर उहाँलाई अस्पताल लगियो । अस्पताल लगेको ३ दिनपछि शुक्रवार डाक्टरले उहाँको अवस्था नराम्रो रहेको जानकारी दिए । घरमा म आफैँ कोरोनाको लक्षण देखिएर कोरन्टाईनमा बेग्लै बस्दै आएकी थिए । त्यसपछि आमा अझै १० दिन सम्म अस्पतालमै जीवन र मृत्युसँग सङ्घर्ष गर्दै हुनुहुन्थ्यो । आमाको अवस्था झन् झन् चिन्ताजनक भएको हुनाले अप्रिल १६ का दिन उहाँको मृत्यु भयो, छोरी कुसुमले भन्नु भयो ।

यसैगरी, लोकेन्द्र कार्कीको अप्रिल २४ मा निधन भएको थियो भने मंगल गुरुङको अप्रिल २७ मा निधन भएको थियो । बोल्डरमा बस्दै आउनुभएका लोकेन्द्र कार्कीको बोल्डर कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्कीका नजिकका व्यक्ति भोला कटुवालले जानकारी दिएका छन् । अप्रिल १३ मा उनी कोभिड १९ को उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । नेपालमा विराटनगरको पोखरिया घर भएका कार्कीका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । कार्कीकी श्रीमती केही समयका लागि नेपाल गएको समय उहाँको निधन भएको हो । उनको पार्थिव शरीरलाई अप्रिल २९ मा कमर्स सिटीको Colorado Wilbert Vault Co मा अन्तिम दाह संस्कार गरिएको थियो ।

यसैगरी, लङ्मन्ट निवासी मंगल गुरुङको पनि उपचारका क्रममा ज्यान गएको तमु धि कोलोराडोले जनाएको छ । अमेरिकाको ८ औँ ठुलो राज्य कोलोराडोमा १० हजारको हाराहारीमा नेपालीहरुको बसोवास रहेको बताईन्छ जहाँको कुल जनसंख्या ५४ लाख ५६ हजार रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू