अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

बर्खास्तीमा परेका अमेरिकी खोप विज्ञ ब्राईटको चेतावनी– “अमेरिकाले महामारीसँग जुध्ने अवसर गुमायो”

बिआरटीनेपाल २०७७ जेठ १ गते २१:५३ मा प्रकाशित

अमेरिकाका एक पूर्व उच्च स्वास्थ्य अधिकारीले आउँदो हिउँदमा कोरोना भाइरसको संक्रमण अति भयावह हुन सक्ने र देशले आधुनिक इतिहासमै सबैभन्दा खराब समयको सामना गर्नु पर्ने जोखिम रहेको चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसमा सुनुवाईको क्रममा रिक ब्राइटले कोरोना भाइरसको जोखिम तत्काल अन्त्य हुने सम्भावना आफूले नदेख्ने बताउनुभएको हो ।

उहाँ यसअघि कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि प्रयास गरिरहेको सरकारी एजेन्सीका प्रमुख हुनुहुन्थ्यो, तर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उहाँलाई गएको महिना बर्खास्त गरेको थियो । ब्राइटले राष्ट्रपति ट्रम्पबाट कोरोना भाइरसको उपचार हुने भन्दै सुझाइएका अप्रमाणित औषधि तथा विधिहरुप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ । आफूलाई सोही कारण बर्खास्त गरिएको उहाको भनाई थियो ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको स्वास्थ्य उपकमिटि समक्ष रिक ब्राइटले भन्नुभएको छ , “महामारीको सुरुवाति चरणमै प्रशासनले उचित कदम नचालेकाले जीवनहरु अन्त्य भए” । उहाँले गएको जनवरीमा कोभिड १९ को उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको बारे सार्वजनिक रुपमा पहिलो पटक चासो व्यक्त गर्नुभएको थियो । बिहीबार भएको सुनुवाईको क्रममा ब्राइटले कोरोना भाइरसको महामारीसँग जुध्ने अवसर अमेरिकाले गुमाएको समेत उल्लेख गर्नुभयो । पर्याप्त योजना बिना २०२० को हिउँद आधुनिक समयकै सबैभन्दा अँध्यारो समय बन्ने ब्राईटको भनाई छ ।

प्रतिक्रिया