अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

बजेटमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुने – अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७७ वैशाख ३१ गते ७:५१ मा प्रकाशित

युवराज खतिवडाले नागरिकको जीवनरक्षा आगामी आर्थिक आर्थिक बर्ष २०७७÷०७८ को प्राथमिकतामा पर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्यसेवाका उपकरण र पूर्वाधार विस्तारलाई समावेश गरिने बताउनुभयो ।

कोरोना महामारीले निम्त्याएको समस्याबाट अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थान र कृषिलाई जोड दिइएको भन्दै ती विषय बजेट निर्माण गर्दा प्राथमिकतामा राखिने मन्त्री खतिवडाले बताउनुभयो । नवउदारवादका स्वर्णयुगले पनि मुलुकलाई कायापलट गर्न सक्नेमा आफू विश्वस्त नरहेको भन्दै राष्ट्रका सम्पूर्ण स्रोतहरूलाई केन्द्रिकृत गरेर शतप्रतिशत राज्य निर्देशित अर्थ प्रणालीको मौका संविधानले नदिएको उहाको भनाई थियो ।

तीनखम्बे अर्थनीति, सार्वजनिक निजी साझेदारीको अवधारणाबाट निजी क्षेत्रलाई सँगसँगै लिएर जाने अवधारणाअनुसार सरकार अघि बढेको भन्दै मन्त्री खतिवडाले आधारभूत क्षेत्रमा राज्यको भूमिकालाई बढाउँदै लैजाने र व्यावसायिक क्षेत्रमा निजी क्षेत्रलाई मौका दिने गरी अघि बढ्ने तयारी भइरहेको खतिवडाले सदनलाई जानकारी गराउनुभयो ।

यसैबीच, प्रतिनिधिसभामा प्रिबजेट छलफल सकिएको छ । जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने व्यवस्था छ । संघीय संसदको जेठ २ गते ४ बजे बस्ने संयुक्त बैठकमा भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू