अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

डा. एन्थोनी फाउचीको अमेरिकी सिनेटलाई चेतावनी– लकडाउन चाँडै हटाए संक्रमण तीव्र गतिमा फैलिन्छ

बिआरटीनेपाल २०७७ वैशाख ३० गते २१:४६ मा प्रकाशित

अमेरिकाका संक्रामक रोग सम्बन्धीका वरिष्ठ डाक्टर तथा कोरोना भाइरसका विरुद्धको अभियानका प्रमुख ‘योद्धा’ डा. एन्थोनी फाउचीले अहिले नै लकडाउन खुकुलो पारेमा भाइरसको संक्रमण अति तीव्र गतिमा फैलिने चेतावनी दिनुभएको छ । डा. फाउची नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख हुनुहुन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुन सक्ने आशंकामा उहाँ हाल आइसोलेशनमा रहनुभएको छ ।

सिनेटमा भएको कोरोना भाइरस सम्बन्धी सुनुवाईको क्रममा डा. फाउचीले अहिले नै लकडाउन वा घरमै बस्नु पर्ने नियम खुकुलो बनाएर सामान्य जनजीवनमा फर्किन खोजिए अवस्था अति असामान्य र भयावह हुने चेतावनी दिनुभयो । यस्तो गरिएमा भाइरस तीव्र गतिमा फैलिने उहाको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन अन्त्य गरी व्यापार व्यवसाय सञ्चालन गर्ने पक्षमा हुनुहुन्छ । लकडाउनको विरोधमा विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । केही राज्यले लकडाउन खुकुलो बनाउन थालेका छन् । यस्तो बेला फाउचीको चेतावनी आएको हो ।

लकडाउन खुकुलो बनाउनका लागि तयार पारिएको ‘ओपनिङ्ग अप अमेरिका अगेन’ मा उल्लेख भए अनुसारका सबै नियमहरु चनाखो भएर पालना नगरिए सीमित क्षेत्रमा भएको संक्रमणले महामारीको रुप लिन सक्ने बताईएको छ । सो योजनामा तीन चरण समेटिएको छ र हरेक चरणमा १४ दिनको समय हुने व्यवस्था छ ।

रिपब्लिकनको नेतृत्व रहेको अमेरिकी सिनेटको समितिसँग भिडियो लिंक मार्फत कुराकानी गर्दै फाउचीले अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या अहिलेसम्म आएको आधिकारिक तथ्यांक भन्दा बढी हुन सक्ने पनि बताउनुभयो । महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म कोभिड–१९ बाट ८२ हजार भन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू