अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

निजगढ विमानस्थल निर्माणका लागि ज्यूरिक इन्टरनेसनलसँग सम्झौता गर्न निर्देशन

बिआरटीनेपाल २०७७ वैशाख २८ गते २१:५७ मा प्रकाशित

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण उच्चस्तरीय सहजीकरण समितिले ज्युरिक इन्टरनेसनलसँग सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडेल अनुसार प्रस्ताव माग गर्दै सम्झौता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेतृत्वको उच्चस्तरीय समितिले ज्यूरिचलाई निश्चित समय दिएर विस्तृत प्रस्ताव (आरएफपी) माग्न निर्देशन दिएको हो ।

नागरिक उड्डयन प्राधिकरणलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृया शीघ्र सम्पन्न गर्न पनि निर्देशन दिएको नागरिक उड्डयन प्राधिकरणमा गौरवका आयोजना कार्यालयका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । उच्चस्तरीय सहजीकरण समितिको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वको कार्यदललाई जिम्मेवारी बमोजिमका कार्य यथाशिघ्र अगाडि बढाएर १० दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।

वन तथा वातावरण मन्त्रालयलाई समिमितले पेरीफेरी सडक निर्माणका निम्ति गणना गरिएका चार हजार दुई सय ३२ वटा रुखको कटान–स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गर्न पनि निर्देशन दिएको छ । विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलहरूको लगत नम्वरीङ कार्य तत्काल अघि बढाउनु भनेको जनाइएको छ । लगानी बोर्डले पीपीपी मोडल अनुसार निर्माण गर्न प्रस्ताव गर्ने ६ वटा कम्पनीमध्येबाट ज्यूरिच छानिएको छ । २०७७ देखि निर्माण थालिने भनिएको यो परियोजना २०८१–०८२ सालबाट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया