अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

विश्लेषणः तत्काल नटरेको प्रधानमन्त्री ओलीको सत्ता सङ्कट

गोबिन्द खड्का २०७७ वैशाख २० गते २२:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आत्माआलोचना गरेपछि अब उहाँकै नेतृत्व मान्नेगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल तयार हुनुभएको हो त ? गएराति करिब १० बजे पार्टी सचिवालय बैठकको निर्णय बुझ्ने क्रममा टेलिफोन गर्दा प्रधानमन्त्रीको प्रस्ताव गरिनु भएका वामदेव गौतमलाई प्रतिनीधिसभामा ल्याउन पहल गर्ने निर्णय र प्रधानमन्त्रीको आत्मआलोचनाको अर्थ नेताहरू नै खोजिरहेका थिए ।

यसअघि डोल्पाबाट निर्वाचित धनबहादुर बुढा, काठमाडौँ–७ बाट निर्वाचित रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई सांसद बनाउन खोजिएको थियो । पार्टीभित्रै विवाद भयो र दुवैजनाले मानेनन् पनि । स्वर्गीय रवीन्द्र अधिकारीको ठाउँमा कास्की–२ बाट उठाउने विषयमा पनि पार्टीमा छलफल भएको थियो । राष्ट्रियसभामा आएपछि प्रधानमन्त्री बनाउन संविधान संसोधन गर्नुपर्ने भएपछि नेता नेपाल पक्षले त्यसो गर्नुहुँदैन भनेर अडान लिएको थियो ।

राष्ट्रियसभामा ल्याउने बाटो बन्द भयो । प्रधानमन्त्री बनाउने बाटो खोल्न अहिले फेरि प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरिएको छ । अब कुनै सदस्यलाई राजीनामा गराउनुपर्ने हुन्छ र उप निर्वाचन गरेर जिताएपछि गौतमको प्रवेश संसदमा हुनेछ । त्यो निर्णय सजिलो छैन् । तत्काल पूरा भइहाल्ने पनि देखिँदैन । उसो भए बामदेवका नाममा के पार्टीको विवाद मिल्यो त ? बामदेव गौतमका लागि ‘उपयुक्त समय’ कहिले हो र कहाँबाट जिताएर ल्याउने भन्नेबारेमा कसैले पनि मुख खोलिसकेका छैनन् ।

नेताहरूका अनुसार प्रधानमन्त्रीले बैठकमै गल्ती स्वीकारले मिलेर पार्टीलाई एक राख्नेमा मुख खुले तर मन खुलेका छैनन् । अध्यक्ष प्रचण्ड र नेता नेपाल पक्ष सचिवालय बैठकपछि स्थायी कमिटी बैठक डाक्ने र त्यहीबाट ओलीमाथि अन्तिम प्रहार गर्ने तयारीमा थिए । त्यो रणनीति फेरिएको छैन । सचिवालय बैठकमा साम्य भइसकेको मानिए पनि प्रधानमन्त्रीको राजीनामा फेरि स्थायी समितिमा जोडतोडले उठ्ने देखिन्छ ।

प्रचण्ड र माधव नेपाल समीकरण कायम रहँदाको अवस्थामा सचिवालय, स्थायी समिति र केन्द्रीय समिति अल्पमतमा रहनुभएका प्रधानमन्त्री ओली आफू पदमै रहन अनेक रणनीति खोजी नै रहनुभएको छ । हिजोको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको कुर्सी रणनीति त्यही मध्येको एउटा मान्नेहरू पनि छन् । सचिलायको बैठकपछि तत्काल ओलीको सत्ता सङ्कट टरेको देखिएको छ ।

तर यदि अन्तिम लडाईँसम्म खरो उत्रिने तयारीमा रहनु भएको प्रधानमन्त्री ओली यदी प्रचण्ड र नेपाल स्थायी कमिटी बैठकपछि हटाइछाड्ने अडानमा उभिए भने प्रधानमन्त्री सङ्कटकाल घोषणा वा पार्टी विभाजनसम्म जान सक्नु होला त ? राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग छलफल गरिरहनु भएकाले त्यो सम्भावना पनि छ भन्नेहरु पार्टी भित्रै देखिएका छन् ।

 

प्रतिक्रिया