अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

नीतिराज र राजनीति

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ वैशाख २० गते १९:४७ मा प्रकाशित

नीतिराजले भनेका धेरै कुराहरूसँग म सहमत छु तर उल्टो राजनीतिलाई सुल्टो पार्न निकै कठिन छ यद्यपि असम्भव छैन । नेपालको वर्तमान राजनीति पनि निकै दुंषित र कलङ्कित छ ।

आन्तरिक झगडा, असहमति र मतभिन्नता सँग मतदाता र सर्वसाधारणको कुनै सरोकार छैन र एउटा ठुलो समूहलाई नेपालको राष्ट्रीयतासंग कुनै वास्ता छैन । राष्ट्रियता त विशेष गरी राजनीति गर्ने नेता, बुद्धिजीवी र सचेतन वर्गको विषय हो ।

यो राष्ट्रियताको लिस्नो चढेर के.पी.ओली पनि नेपालका प्रधानमन्त्री भए र डन्डा उनकै हातमा छ तर सिमानाका स्तम्भहरू सारेर भारतले जग्गा मिचिरहेको छ । उनी चुइँक्क बोल्दैनन् । नेपाल भित्रै पनि दूर -दराजका नेपाली जनतालाई प्रधानमन्त्री, राष्ट्रपति र अरू को-को, के के हुन केही थाहा छैन । राष्ट्रियताको कुरा त परै जाओस् ।

राष्ट्रियता एउटा संवेदनशील विषय हो । यो भएको अति उत्तम हो तर नेपालमा छैन । त्यसो भा राष्ट्रियताको कुरा किन गर्नु ? जोगाउन नसके जनतालाई किन झुक्क्याउनु र हामीले गाडी- गुन्डा र विविध सामग्री हरूको चर्को ब्याज र ट्याक्स किन भार थलाइ तिर्नु ? भारतलाई सोधेर देश चलाउने बुद्धिहीन नेताहरूलाई किन शासन सत्तामा पुर्‍याउनु ? अन्य देशहरूले नेपाललाई एउटा स्वतन्त्र देश भनेर नेपालको संविधानलाई मान्यता दिँदा पनि भारतले अद्यपरिमित किन नदिएको ? यस्ता धेरै-धेरै सवालहरूले मलइ दिन- रात पिरोल्छ । संभवत सबै देशभक्त जनताहरूलाई पिर्दो हो यो विषय र सन्दर्भले र विरक्ति पैदा हुँदो हो ।सबै दलका सबै नेताहरू भारत परस्त, धेर- थोर भ्रष्टाचारी, गैर- जिम्मेवार र अपारदर्शी छन् ।

मैले पनि मेरा जीवनका अत्यधिक उर्वर शील वर्षहरू नेपालको राजनीतिमा बिताएँ । झापा जिल्लाको लाल किल्ला तोड्ने देखि लिएर किसुनजीको काठमान्डुको चुनावी क्षेत्रमा संयोजक भएर समेत काम गरेँ । नेपाली काँग्रेसको केन्द्रीय प्रशिक्षक भएर पनि काम गरेँ । म मेरा बारेमा धेरै व्याख्या गर्न चाहन्न तर मैले उठाउन खोजेको विषय के हो भने किशुनजी, गिरिजा प्र. कोइराला, सुशीलदा लगायत धेरै नेताहरूसँग मैले नजिक रहेर काम गरेँ । मलाई राजनैतिक नियुक्ति दिँदा पनि लिइन र सङ्गठनकै बारेमा सदैव चिन्तित रहेँ । सबैसंग राम्रै सम्बन्ध थियो तर साङ्गठनिक महत्त्वका कुराहरू कसैले गम्भीरतापूर्वक सुनेनन् । साङ्गठनिक कार्य-कुशलता, अनुशासन, अनुशीलन, पुरस्कार र दण्डका कुरा कसैले पनि सुनेनन् र म आफ्नै सामर्थ्य, शिक्षा र बलबुतामा अमेरिका आएँ ।

म व्यक्तिगत र पारिवारिक रूपले खुसी छु । आर्थिक रूपले सम्पन्न छु । शारीरिक रूपले मज़बूत छु यद्यपि मधुमेहको प्यारो छु । तर मन चैँ नेपालमै हुन्छ तन अमेरिकामै भए पनि संवेदनशील हुन्छु नेपालको राजनैतिक सङ्कट र दुरावस्था सुनेर र देखेर । मेरो लगानी छ नेपालको शैक्षिक, सामाजिक र राजनैतिक जीवनमा ।

शेर ब. देउवाले पनि काँग्रेसलाई डुबाए । हामीले सत्य कुरा बोल्नु पर्छ । यीबाट पार्टी चल्दैन । अन्य युवापुस्ता पनि प्रतिपक्षीको मात्रै विरोध गर्छ । सबैले एक- एक जना शीर्ष नेताहरूको चाचुचा गरेर बसेका छन् । निकै युवापुस्ताबाट आस गर्न सकिन्छ । पुराना पुस्ताबाट शेखर कोइराला टेस्टेड भएका छैनन् । हामी उनलाई एउटा मौका दिन सक्छौँ तर नेपालको भू- स्थिति, राष्ट्र र जनतालाई मध्यनजर राखेर काम गर्नु पर्छ । नत्रभने अन्यहरूले प्रधानमन्त्रीको जिम्मेवारी लिनु म त्यति सहज देख्दिन ।

अन्य मधेसी दलहरू मौका हेरेर बस्छन् चौका मार्नलाई । मधेसीको वर्षोंदेखिको सेन्टिमेन्टलाई क्यास गरेर यिनीहरू तर मार्न खोज्छन् सत्ताको जुन सम्भव छैन। पीडित, उपेक्षित मधेसीहरूको पक्षमा म छु तर अहिलेका नेताहरूबाट तिनीहरूको मुक्ति सम्भव छैन ।

* बामदेव प्रसङ्ग
अब ती दिन गए । के. पी ओली राजा हैनन् र हामी रैती हैनौँ । हामीसँग रद्दी नै भए पनि एक थान संविधान छ । संविधानले अहिले नै बामदेवलाई प्रधानमन्त्री हुने मौका कतै, कहीँबाट दिँदैन । पटमूर्खहरू भेला भएर जे गरे पनि हुन्छ र ? जनता पनि होलान् नि त नेपालमा ! परदेशबाट आउने नेपालीहरूले पनि मूल्याङ्कन गरेका होलान् । लकडाउन पछि सडक, सदन र वदन तात्छ र एउटा ठुलै भुईँचालो जाला नेपालमा, आशा र विश्वास गरौँ । बुद्धिजीवी, प्राध्यापक, पत्रकारहरू र नागरिक समाजका प्रत्येक सदस्यहरू सडकमा आएर अप्रजातान्त्रिक गतिविधिहरूका विरुद्ध बोल्नु पर्छ, लेख्नु पर्छ र राष्ट्रलाई जोगाउनु पर्छ हैन भने भारत, चीन अथवा अमेरिकालाई बुझाई दिए जनताले सु:ख – शान्ति पाउनेछन् ।

राष्ट्रियता खास गरी भावनामा हुन्छ; भाषणमा हैन । पोसाकमा हैन; पवित्रतामा हुन्छ । अहिलेका जस्ता कुख्यात नेताहरूबाट सत्य होला; हामीले अपेक्षित विकास र प्रगति- उन्नति हासिल गर्न सक्दैनौँ र राष्ट्र अरू कलङ्कित हुन्छ ।

स्वतन्त्र राष्ट्र हुन सीमा पनि बाँधिएको हुनु पर्छ, एक किसिमको पर्खाल हुनुपर्छ । सार्वभौमसत्ता जनता र देशभित्र हुनु पर्छ । हामीसँग छ ? ? ?

यी नीतिराज भनेका कौटिल्य हुन । यिनी चन्द्र गुप्तका महामन्त्री थिए । यिनी ख़ासगरि चाणक्यका नामले चिनिन्छन् । क्षेत्रीय कुलका उनी प्रखर दार्शनिक, विचारक, आध्यात्मिक र त़क्षशीला विश्वविद्यालयमा अर्थ शास्त्रीका प्राध्यापक थिए । हाम्रा राजनैतिक नेताहरूले ‘चाणक्य नीति’ पढुन् र कसरी देश चलाउनु पर्छ, सिकुन् ।