अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

म त आजित छु

युवराज मैनाली २०७७ वैशाख १८ गते २१:३१ मा प्रकाशित

अभावै अभावका -खाडलहरू
समस्यै समस्याका – पहाडहरू
महँगीमा असङ्ख्य – डाॅंडाहरू
अन्धविश्वासका अग्ला – पर्खालहरू
आज खडा छन् – मेराअगाडि
गरिबीको भूतले तर्साइरहन्छ
स्वार्थै स्वार्थले बेरिएका – मान्छेहरू
कानको जाली फुट्ने गरी
कोलाहल मच्चाउॅंछन्
तिघ्रा ठटाउॅंछन्
उफ्रिन्छन् , कराउॅंछन्
गुदीविनाका बोक्रे – मान्छेहरू !
गाली गर्दै
धारे हात लगाउॅंदै
मेरा बाटाहरूमा तगारा लगाउन
कम्मर कस्छन्
सपना !
म त आजित छु – बिपनासॅंग !

शङ्कै शङ्काले जेलिएर
अहङ्कारले पोलिएर
मान्छेका मनहरू
चारैतिरबाट चिथोरिएर
साॅंघुरिॅंदै गएका
साना साना गल्लीका बाटाजस्ता
हुॅंदै गएका छन्
हानाहान र तानातानले
विश्वास धर्मरिएको छ
सपना !
म त आजित छु – बिपनासॅंग !

बोध वृक्षहरू ढलेका छन्
शावकहरू सुर्तामा छन्
विकास विनाशमा रूपान्तरित छ
मलिन प्रकृति
विरूप रूप बोक्न विवश छ !
कसलाई ? कहाॅं ? के ? लहड चल्छ !
अनायास को भित्रिन्छ – ग्यासच्याम्बरमा ?
कतिखेर को ढल्छ ?
कहाॅं को जल्छ ?
सपना !
म त आजित छु – बिपनासॅंग !

विवेकमा अनिकाल परेका – मान्छेहरू
गरिरहेका छन् – अट्टहास
त्रासले ढाकिएका छन् – बाटाहरू
बलात्कारले सिॅंढी चढेको छ
अनाचारले आकाश छोएको छ
मेरा काॅंपिरहेका यी – हात
भक्कानिएको मुटुमाथि राखौॅं कि
चक्कराएको शिरमाथि राखौॅं ?
होस हराउॅंदै गएको छ
सपना !
म त आजित छु – बिपनासॅंग !

धुम्बाराही , काठमाडौॅं ।