नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत १ हजार ८५ अमेरिकी डलर अर्थात एक लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६÷७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस आँकडामा पुगेको हो । गत आर्थिक वर्ष २०७५÷७६ मा प्रतिव्यक्ति आय एक हजार ४७ डलर रहेको थियो ।
करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । यस वर्ष २ दशमलव २७ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिँदा प्रतिव्यक्ति आयमा समेत यसको प्रभाव देखिएको विभागका उप–महानिर्देशक हेमराज रेग्मीले सीआइएनलाई जानकारी दिनुभयो । यस वर्ष विप्रेषण आयसमेत केही खुम्चने भएको छ ।
विभागका अनुसार यस वर्ष सात खर्ब १६ अर्ब रुपैयाँ मात्र विप्रेषण आय हुने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ उत्पादन अर्थात उपभोक्ता मूल्यलाई कुल जनसंख्यामा भाग लगाउँदा प्रतिव्यक्ति आय प्राप्त हुनेछ । चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उपत्पादन जीडीपी ३७ खर्ब ६७ अर्ब पुगेको छ ।