अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

नेपाली जनसम्पर्क समिति अमेरिका विज्ञप्ति

बिआरटीनेपाल २०७७ वैशाख १६ गते २२:०८ मा प्रकाशित

विज्ञप्ति
विश्व जगत् कोभिड-१९ को महामारी(Pandemic)ले स्तब्ध भएको बेलामा कोरोनाको एपिकसेन्टर बन्दै गएको न्यूयोर्कबाट मुलुकको राजनीतिक घटनाहरूका बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुपर्दा हामीलाई दुःख लागेको छ । कोभिड -१९ ले विश्वलाई आक्रान्त बनाएसँगै आम नेपाली नागरिक घरभित्र थुनिएको अवसर पारेर नेपाल सरकारले प्राप्त गरेको जनमतको दुरुपयोग गर्दै, पटक पटक नेपालको संविधानको मर्म, भावना र आधारभूत स्तम्भमाथि गरेको निर्मम प्रहार प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेकपाको वर्तमान सरकारले लकडाउनको समय पारेर ‘राजनीतिक दल परिवर्तन र संवैधानिक परिषद्’ सम्बन्धी लोकतान्त्रिक संविधानको मूलभूत मान्यता र मर्यादालाई अवमूल्यन गर्दै, ल्याउन खोजिएको दुई वटा अध्यादेशलाई नियाल्दा यो सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको स्पष्ट देखिन्छ ।

लोकतन्त्रलाई कमजोर पार्ने उद्देश्यले, सरकारले यसबिचमा आफ्नो अभीष्ट पुरा गर्न, मुलुकको राजनीतिक दल विभाजन गराउने योजना बनाई, सांसद अपहरण गरेको, लज्जास्पद र आपराधिक कार्यको घोर भर्त्सना गर्दै, अपहरण काण्डमा संलग्न दोषीहरू सबैलाई कानुन बमोजिम कारबाही गर्न समिति सरकार समक्ष जोडदार माग गर्दछ। यसका साथै कोभिड-१९ को कारणले संसारका विभिन्न मुलुकमा अलपत्र तथा विपत्तिमा परेका तमाम नेपालीहरूको यथाशीघ्र उद्धारको लागी समिति सरकारसँग माग गर्दछ ।
साथै, पछिल्लो समय सरकारले लोकतन्त्रको आधारभूत मूल्य र मान्यतालाई कुल्चिँदै, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार तथा सूचना र सञ्चार जगतमा गरेको निर्मम प्रहार प्रति गम्भीर आपत्ति जनाउँदै, यस महाविपत्तिको घडीमा नागरिकको जीवन रक्षाका लागि जिम्मेवार हुन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौ ।

यो सरकारले यस महामारीलाई हतियार बनाइ लोकतन्त्रमाथि हस्तक्षेप गर्ने बहाना बनाउन सक्दछन्, त्यसका लागि आम लोकतन्त्रवादी नागरिकलाई थप सचेत र सतर्क हुन हार्दिक अनुरोध गर्दछौ । साथै यस किसिमको स्वेच्छारी र निरङ्कुश प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकजुट भई सङ्घर्ष गर्न आह्वान गर्दै, सर्वसत्तावादी चरित्रको खिलाफमा अन्तर्राष्ट्रिय जगतलाई ऐक्यबद्धताका साथ बुलन्द आवाज उठाउन सबैमा हार्दिक अपिल गर्दछौ ।

धन्यवाद जय नेपाल !
मुनीन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका ।
अप्रिल २८, २०२०।

प्रतिक्रिया