अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

अनुभवन्यास: अमेरिकामा आमा

लीला लुइटेल २०७७ वैशाख १६ गते २२:०३ मा प्रकाशित

१. आरम्भ
कुनै पनि स्रष्टाले आफ्ना भावनाहरूलाई अभिव्यक्ति दिन सहारा लिनुपर्ने माध्यम अनेक हुन सक्छन् । यसरी सहारा लिने क्रममा धुन, रङ्ग, शब्द, हाउभाउ आदि अनेक माध्यमहरू चयन गर्न सकिन्छ । कलमका माध्यमबाट आफ्ना भावनाहरूलाई अभिव्यक्ति दि“दा पनि स्रष्टाले अनेक विकल्प चयन गर्न सक्ने सुविधा छ । यस प्रकारका विकल्पलाई साहित्यमा विधाको नामबाट परिभाषा गरिएको पाइन्छ । कथा, आख्यान, नाटक र निबन्ध गरी साहित्यमा मूल रूपमा चार विधाको व्यवस्था भएको पाइन्छ । हरेक विधाको जन्मसँगै त्यसको सैद्धान्तिक स्वरूपको निर्माण र व्याख्या गर्ने प्रचलन पनि विस्तार हुँदै जान्छ । सर्जक स्वतन्त्र ढङ्गले आफ्नो भावनामा रमाउने व्यक्ति भएकाले ऊ सधैँ परम्पराले निर्दिष्ट गरेको सैद्धान्तिक सीमाभित्र खुम्चिएर बसिरहन सक्दैन । फलस्वरूप अभिव्यक्तिका लागि उसले नयाँ“नयाँ गोरेटोहरू खोजिरहेको हुन्छ । यसले गर्दा साहित्यमा प्रयोगका क्षितिजहरू उघ्रिंदै जान्छन् र नयाँनयाँ विधाउपविधाको निर्माण हुने क्रम पनि चलिरहन्छ । यस क्रमले साहित्यको इतिहासमा नौलो मोड र प्रवृत्तिको स्थापना गर्दै साहित्यको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

२. विषय प्रवेश: अनुभवन्यासको सन्दर्भ
केही समययता नेपाली साहित्यमा अनुभवन्यास शब्दको प्रयोग हुनथालेको देखिन्छ । ‘अनु + भू + अव + नि + आस’ को मेलबाट अनुभवन्यास शब्दको निर्माण भएको पाइए पनि नेपालीमा यसले अनुभव + उपन्यासको अर्थ वहन गरेको खोजेको स्थिति रहेको देखिन्छ । कसै कसैले यसलाई आत्मन्यास पनि भनेका छन् । यसमा लेखक स्वयंका जीवनमा घटित तीतामिठा घटनाहरूबाट कथानकको निर्माण भएको हुन्छ अर्थात् लेखककै जीवन भोगाइको लामो कालखण्डलाई अनुभूतिमय तुल्याएर आख्यानको ढा“चामा प्रस्तुत गरिएको हुन्छ । अनि लेखककै व्यक्तित्व एवं चरित्रले प्रमुख पात्रको स्वरूप धारण गरेको पाइन्छ । आत्मकथात्मक शैली उपन्यास लेखनको एउटा शैलीगत प्रवृत्तिको प्रकार भए पनि उपन्यासकार स्वयंले आफ्नो निजी जीवनलाई विषय बनाएर संस्मरणात्मक ढङ्गमा लेखेको उपन्यासलाई अनुभवन्यास भन्ने गरिएको पाइन्छ ।

अहिले नेपालीमा प्रयोग हुन थालेको अनुभवन्यास शब्द अङ्ग्रेजीको ‘अटोबायोग्राफिकल नोभेल’ को समानार्थी शब्द हो । अङ्ग्रेजीमा यस शब्दले आत्मकथाको ढाँचामा लेखिएको उपन्यासलाई बुझाउ“छ । लेखकले आफ्ना जीवनका घटनाहरू वर्णन गरेको यस्ता कृतिका लागि ‘अटोबायोग्राफिकल नोभेल’ पदावलीको प्रयोग यदाकदा गरिएको पाइए पनि अङ्ग्रेजीमा लेखिएका यस खाले समग्र कृतिलाई ‘नोभेल’ नै भनिएको पाइन्छ । पश्चिममा यस खाले थुप्रै कृतिहरू लेखिएको पाइन्छ । चाल्र्स डिकेन्सको डेभिड कपर फिल्ड, टल्सटायको ब्वाइहुड, युथ, हेनरी मिलरको ट्रपिक अफ क्यान्सर, सिल्भिया पाथको द बेल जारजस्ता थुप्रै विश्व प्रसिद्ध कृतिहरूलाई अटोबायोग्राफिकल नोभेलका उदाहरणका रूपमा लिने गरिन्छ ।

नेपाली साहित्यमा चाहिँ ध्रुवचन्द्र गौतमको बाढी, कृष्ण धरावासीको आधा बाटो, शोभा भट्टराईको अन्त्यहीन अन्त्य, सीताजीको म हि“डेको बाटोजस्ता थुप्रै कृति लेखिएका छन् । उल्लिखित कृति लेखकको आफ्नो संस्मरण भए पनि नेपाली साहित्यमा यिनलाई उपन्यासको कोटिमा राखेर चर्चा गर्ने प्रचलन पनि रहेको छ । यसै क्रममा भारती गौतमको अमेरिकामा आमा शीर्षक कृति पनि प्रकाशित भएको पाइन्छ ।

३. विषय विस्तार: अमेरिकामा आमाको अध्ययन
लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेकी भारती गौतमको साहित्य यात्रा भने उनी नेपाल छ“दा नै प्रारम्भ भएको हो । २०३० सालको रत्नश्रीमा प्रकाशित ‘तिम्रो सम्झनामा’ शीर्षक कविताका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेकी भारतीका आकाशमाथिको सहर शीर्षक कविता सङ्ग्रह, स्मृतिमा भीमु शीर्षक संस्मरण तथा अमेरिकामा आमा नामक औपन्यासिक कृति प्रकाशित छन् । भारती गौतमको अमेरिकामा आमा शीर्षक नवीनतम कृतिको अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको अभीष्ट रहेको छ ।

भारती गौतमको अमेरिकामा आमा शीर्षक संस्मरणात्मक कृतिलाई कसैले उपन्यास, कसैले संस्मरण तथा कसैले संस्मरणात्मक उपन्यास भनेको पाइन्छ । यसैले सर्वप्रथम प्रस्तुत कृति आत्मकथा, संस्मरण वा उपन्यास के हो भनी निक्र्यौल गर्नु आवश्यक हुन्छ । सामान्यतया आत्मकथामा लेखकले आफ्नो अनुभव र क्रियाकलापका आधारमा आफ्नै जीवनको विकासक्रम चित्रण गरेको हुन्छ अर्थात् यसमा लेखकले जानेका वा देखेका व्यक्ति अथवा घटनाको चित्रण गरेको हुन्छ । जीवनको लामो समय शृङ्खलामा वर्णित घटनाहरूको संयोजनलाई मात्र कथानक मान्न सकिदैन । घटनाहरूलाई कार्यकारण शृङ्खलामा आबद्ध गरेपछि मात्र कथानकको निर्माण हुन्छ । प्रस्तुत कृति लेखकको जीवनको विकास क्रम मात्र होइन, यसमा व्यक्ति वा घटनाको चित्रण मात्र पनि छैन । यो कृति अनुभवको वर्णन भए पनि लेखकका बहु कालिक मानसिक जगेर्नाको कलात्मक सिर्जनात्मक प्रस्फुटन हो, व्यक्तिको मनमा सञ्चित भावमय अभिव्यक्तिको रागात्मक उत्खनन पनि हो । यस खाले अभिव्यक्तिले यस कृतिका लागि कथानकको निर्माण गर्नु ठुलो भूमिका खेलेको छ । यसैले यसमा घटनाहरूको सोझो चित्रण मात्र नभएर सुगठित कथानक भएकाले यो कृति उपन्यासका निकट पुगेको देखिन्छ ।

उपन्यास र संस्मरणमा पाइने पार्थक्य पनि यही हो । आत्मकथामा आत्मवृत्तान्त निवेदन गर्ने प्रबल आग्रह देखिन्छ भने यस कृतिमा आख्यान प्रस्तुत गर्ने आग्रह प्रबल रहेको छ । साहित्यमा यस्तो रूपान्तरणलाई प्रयोगका रूपमा पनि लिनसकिन्छ । यस कृतिमा लेखक मात्र नभएर अतीतका आ“खाको माध्यमबाट सिङ्गो नेपाल पनि अमेरिकामा मिसिन पुगेको छ । लेखकको नेपालप्रतिको मोह अतुलनीय छ, उनले अमेरिकामा भोगेको अनुभव र नेपाली सन्दर्भस“ग गरिएको तुलना अद्वितीय छ र त्यसलाई अभिव्यक्त गर्ने कौशल विशिष्ट रहेको छ । यसमा लेखकको अनुभव तथा जीवनमा घटेका घटनाहरूबाट कथानकको निर्माण भएको छ । उनकै व्यक्ति एवं चरित्रले प्रमुख पात्रको स्वरूप धारण गरेको छ उनकै समय एवं स्थान परिवेशका रूपमा चित्रित भएको छ । आदि देखि अन्त्यसम्म नै कथ्य एवं भाषाशैली दुवैले सम्मोहनका साथ पाठकलाई आकर्षित गरिरहन्छ । यी विविध सन्दर्भले यो कृति आत्मकथा भएर पनि उपन्यासमा रूपान्तरित हुनपुगेको छ ।

साहित्यमा अहिले विधाभञ्जन र विधामिश्रणको चर्चा पनि प्रशस्तै हुनेगरेको पाइन्छ । यस सन्दर्भमा भारती गौतमको अमेरिकामा आमा नामक प्रस्तुत कृतिलाई परम्पराले निर्धारण गरेको उपन्यासका दृष्टिबाट विधाभञ्जनका रूपमा लिनसकिन्छ । यसैगरी यसमा संस्मरण र उपन्यास दुई विधाको मिश्रण भएको पाइन्छ । यसैले यसलाई विधामिश्रणका रूपमा पनि चर्चा गर्नसकिने स्थिति रहेको छ ।

अर्काेतिर नेपाली साहित्यमा यसअगि नै प्रकाशित बाढी, आधा बाटो, अन्त्यहीन अन्त्य, म हि“डेको बाटोजस्ता यसखाले थुप्रै कृति लेखकको संस्मरण भए पनि तिनलाई उपन्यासको कोटिमा राखेर चर्चा गर्ने प्रचलन पनि रहेको हुनाले भारती गौतमको अमेरिकामा आमा शीर्षक कृतिलाई पनि उपन्यासकै दृष्टिकोणबाट हेर्नु अनुपयुक्त हुँदैन ।

शिल्पसंरचना
प्रत्येक परिच्छेदलाई बेग्लाबेग्लै शीर्षक दिइएको भारती गौतमको अमेरिकामा आमा उपन्याससम्बद्ध परिच्छेदका अधिकांश शीर्षकबाटै वर्णित कथ्यको अनुमान लगाउन सकिने स्थिति पनि रहेको छ । यी परिच्छेदहरू बेग्लाबेग्लै शीर्षकमा भएकाले एकातिर तिनलाई स्वतन्त्र रूपका संरचनाका रूपमा पनि लिन सकिन्छ भने अर्काेतिर घटना एवं सन्दर्भहरू क्रमिकताका साथ प्रस्तुत भएकाले क्रम भङ्ग नभई तिनका बीच अन्विति रहेको पनि देख्न सकिन्छ । एउटै शीर्षकको परिच्छेदमा वर्णित प्रसङ्ग परिवर्तन भएको स्थितिमा कुनै पनि प्रकारको चिह्न वा सङ्केतको प्रयोग नगरी अनुच्छेद मात्र परिवर्तन गरिएको छ । यसरी बेग्लाबेग्लै शीर्षक दिइए पनि कथालाई एउटै सूत्रमा उनेर क्रमिकताका साथ प्रस्तुत गरी औपन्यासिक स्वरूपमा प्रस्तुत गर्नु भारतीय गौतमको अमेरिकामा आमा उपन्यासमा देखिने शिल्पसंरचनागत वैशिष्ट्य हो ।

कथ्य
अमेरिकामा आमा शीर्षक कृतिमा लेखकले जीवनमा भोगेका तथा अनुभव गरेका घटना र तिनबाट उत्पन्न क्रिया प्रतिक्रियाहरूलाई अनुभूतिमय बनाएर आख्यानको शृङ्खलामा टिपिएको छ । पारिवारिक एवं व्यक्तिगत संस्मरणमा आधारित यस कृतिमा अमेरिकामा तीस बर्ष बिताएको एउटा नेपाली परिवारको सुखदुखका घटनाहरूलाई क्रमिक ढङ्गले प्रस्तुत गरिएको छ । उच्चशिक्षा अध्ययनका लागि परदेसिएका पतिको साथ लागेर अमेरिका पुगेकी एउटी शिक्षित नारी अर्थात् एउटी आमाको दिनचर्याका आधारमा उसको मनोविज्ञानका विभिन्न पाटाहरूलाई केलाइएको यस उपन्यासमा छोराछोरीको अध्ययनका लागि आफूले गर्नु परेको त्याग र मिहेनतका बारेमा चर्चा परिचर्चा गरिएको पाइन्छ । अमेरिकाका विभिन्न सातवटा सहरलगायत नेपालको भूगोल, रहनसहन, जीवनशैली, दृष्टिकोण आदि विविध सन्दर्भको यथार्थ चित्र खिचिएको यस कृतिमा अमेरिका एवं नेपालमा मनाइने विभिन्न प्रकारका चाडपर्वहरूको तुलनात्मक प्रस्तुति पाइन्छ । अमेरिकामा समयसमयमा स्थान परिवर्तन गरी बस्नु परेका पीडालाई समेटिएको यस कृतिमा अमेरिकामा देखेका हरेक भागलाई नेपालको भूगोल एवं परिवेशस“ग तुलना गरिएको छ । यसप्रकारको प्रस्तुतिले नेपाललाई बिर्सन नसकेको तथा लेखकभित्र नेपालप्रतिको अगाध आस्था र श्रद्धा रहेको स्पष्ट हुन्छ । यसमा बा, आमा, बहिनी एवं ससुराका निधनको प्रसङ्गलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । आमाको भूमिका र कर्तव्यका बारेमा प्रत्यक्ष एवं परोक्ष रूपमा प्रस्तुत गरिएको यस कृतिमा एउटी महिलाले पतिको सफलता, सुख, शान्ति एवं उन्नतिका साथै सन्तानको सुखसुविधाका लागि आफ्नो सम्पूर्ण जीवन नै वलिदान गर्नसक्ने उदाहरण प्रस्तुत गरिएको छ । यस उपन्यासमा बालमनोविज्ञान तथा समाज मनोविज्ञानका विविध सन्दर्भ पनि पाइन्छन् ।

डायस्पोराको अध्ययनका दृष्टिले पनि यो कृति उल्लेखनीय रहेको छ । घरदेश छोडेर डायस्पोरामा पुगेको मान्छेले परदेशलाई पूर्ण रूपमा आफ्नो ठान्न सकिरहेको हुँदैन । यसले गर्दा उसको मानसिकता दुईतिर विभाजित भएको पाइन्छ । यसबाट बेलाबेला उसलाई गल्ती बोधको त्रासले पनि किचिरहेको हुन्छ । प्रस्तुत कृतिमा विभाजित मानसिकताको चित्रण व्यापक सन्दर्भबाट अत्यन्त सूक्ष्म ढङ्गले गरिएको देखिन्छ । पारिवारिक सम्बन्ध, सामान्य प्राकृतिक दृश्य, बाटोघाटो, भौतिक सुविधा, चाडपर्वजस्ता अनेक सन्दर्भहरूमा सूक्ष्म दृष्टिकोणको प्रस्तुति पाइने यस कृतिमा भाषा एवं संस्कारका सन्दर्भबाट छोराछोरीको स्वाभाविक क्रियाकलापमा समेत लेखकमा रहेको द्विविधा पनि चित्रित छ । अमेरिकाका अनेक स्थानमा बसोबास गर्दा अल्पसङ्ख्यक हुनुको पीडा पनि यस उपन्यासमा अभिव्यक्त भएका छन् । दुख साट्ने साथी नपाउनु, मनको कुरो भन्न नसक्नु आदि अनेक सन्दर्भले यस उपन्यासमा स्थान पाएका छन् ।

डायस्पोरामा रहेका बेलामा सबभन्दा ठूलो साथी भनेकै अतीत स्मरण हुन्छ । यस कृतिमा पनि लेखकको अतीत मोह जताततै छरिएका छन् । यसैगरी जतिसुकै भौतिक सुखसुविधाले सुसम्पन्न भए पनि आफ्नो भाषा एवं संस्कृति पर हु“दै गएको सन्दर्भले चिमोटी रहेको हुन्छ । पूर्वी र पश्चिमी जीवनशैली एवं जीवनप्रतिको दृष्टिकोणको तुलनात्मक प्रस्तुति पाइने यस कृतिमा पूर्ण रूपले अमेरिकी हुन नसकी सङ्कटमा चेपिनपुगेको नेपाली मानसिकताको चित्रण पाइन्छ । माध्यमिक तह पार गरेर अध्ययन अगि बढाउने अभीष्टले कान्छो छोरालाई छात्रावासमा छोड्न जानुपर्दाको क्षणबाट सुरु भएको यस कृतिमा लगभग तीस बर्षअगिका ससाना घटनालाई पनि शृङ्खलाबद्ध ढङ्गमा प्रस्तुत गर्दै प्रारम्भ र अन्त्यलाई एउटै घटनाको केन्द्रबिन्दुमा सफलतापूर्वक जोडिएको छ । यसले गर्दा पनि यस कृतिले विशिष्टता प्राप्त गरेको छ र यो कृति आत्मकथाभन्दा बढी उपन्यासका निकट पुगेको छ ।

आफ्नो जीवनका विभिन्न सन्दर्भलाई संस्मरणात्मक ढङ्गमा प्रस्तुत गरिएको यो कृति झट्ट हेर्दा संस्मरणजस्तो देखिए पनि सूक्ष्म रूपले हेर्दा निकै गहन कृतिका रूपमा रहेको छ । स्वदेश एवं प्रवासको लामो भोगाइबाट खारिएर परिपक्व बनेका अनुभवहरू र प्रेरणादायी प्रसङ्गहरूको वर्णन गरिएको यो कृति शिक्षामूलक पनि छ । आÇना बाल्यकालदेखि जागिरे जीवन हु“दै वर्तमानसम्मका विभिन्न कार्यकौशलको पनि वर्णन गरिएको यो कृति वर्तमानमा लेखिएका तथा खेताला लगाएर लेखाइएका अहंपुराण तथा ‘स्टन्ट’ भन्दा बढी यथार्थ अभिव्यक्तिको नमुनाका रूपमा रहेको छ । भावुकताको सम्मिश्रणका साथ यथार्थमूलक अभिव्यक्ति पाइने यस कृतिमा कतै ऐतिहासिकता, कतै कथात्मकता, कतै सामाजिकता तथा कतै काल्पनिकता पनि दिग्दर्शन हुन्छ । आÇना घरायसी सन्दर्भहरूलाई पनि नढा“टी यथार्थमूलक ढङ्गबाट अभिव्यक्ति दिँदै हरेक सन्दर्भमा अतीतका संस्मरण तथा घटनाविवरणलाई तुलनात्मक रूपमा प्रस्तुत गर्नु यस कृतिको विशिष्ट पक्ष हो ।

परिवेश, उद्देश्य र दृष्टि बिन्दु
परिवेश सूचक स्थानका दृष्टिले हेर्दा यस कृतिमा अमेरिकाकै विविध सन्दर्भहरूको चर्चा बढीजस्तो लागे पनि त्यही अनुपातमा नेपालका विभिन्न सन्दर्भहरूको चर्चा पनि उत्तिकै मात्रामा गरिएको छ । यी दुवैतिरको परिवेशमा लेखकको स्थिति भोक्ता एवं द्रष्टा रूपमा मात्र नभई नजिकबाट स्पर्श वा अनुभूत गर्न सकिने गरी जीवन्त बनेर देखा परेको छ । यसमा यी दुवै देशका प्राकृतिक, सामाजिक, आर्थिक, राजनैतिक आदि पक्षको विस्तृत चित्रण पाइन्छ । दुवैतिरका अनुकूल एवं प्रतिकूल परिवेशको चित्रण पाइने यस उपन्यासमा दुखद परिवेशको चित्रण पनि अत्यन्त कलात्मक एवं दार्शनिक पाराले गरिएको छ । प्रत्यक्ष रूपमा तीस वर्षको समयलाई समेटिएको भए पनि यसमा सिङ्गो जीवनको पर्यावलोकन गरिएको छ । यस उपन्यासमा वातावरण सूचक सङ्केतहरू प्रशस्तै छन् । परिवेश चित्रणको व्यापकताका साथ सुखद, दुखद एवं त्रासद वातावरणको प्रस्तुति सूक्ष्म ढङ्गमा गरिनु यस उपन्यासको परिवेशगत प्रवृत्ति हो ।

परम्परित ढङ्गले यस उपन्यासको उद्देश्यको चर्चा गर्न सकिने स्थिति नभए पनि उपन्यासमा अभिव्यक्त विचारबाट उद्देश्यको निरूपण गर्नुपर्ने हुन्छ । कथ्य, परिवेश आदिमा व्यापकता पाइएजस्तै यस कृति सिर्जनाका उद्देश्यहरू पनि व्यापक रहेका छन् । आमाबाबुका लागि त्यसमा पनि अझ एउटी आमाका लागि सन्तानभन्दा ठुलो विषय यस संसारमा केही सृष्टि भएकै छैन भन्ने कुरा देखाउनु यस पुस्तकको मूल अभीष्ट रहेको छ । नेपाली र अमेरिकी दुवै जनजीवनका विविध घटना, सन्दर्भ तथा क्रिया प्रतिक्रियाहरूको तुलनात्मक प्रस्तुति पनि यस उपन्यासको उद्देश्य रहेको देखिन्छ । जुनसुकै परिस्थितिमा पनि मानिसले सहजतापूर्वक आफूलाई समायोजन गर्न सक्नु पर्ने दृष्टिकोण पाइने यस उपन्यासमा भूमण्डलीकरणको आजको युगमा मानिसलाई स्वतन्त्रतापूर्वक उसकै विवेकअनुसार जीवन यापन गर्न दिनुपर्ने आशय मुखरित गर्नु पनि यस उपन्यासको उद्देश्य रहेको छ ।

प्रथम पुरुष दृष्टि बिन्दुमा संरचित यस उपन्यासमा समाख्याताकै माध्यमबाट सबै पात्रका भावना, विचार, अनुभूति, प्रतिक्रिया आदिलाई प्रस्तुत गरिएको छ । उपन्यासकारले प्रायः तटस्थ रही विश्वसनीय रूपमा घटना वलीलाई प्रस्तुत गर्दै अधिकांश ठाउँ“मा अनेक विषयमा अनेक प्रकारका विचार प्रस्तुत गरेको देखिन्छ । एउटा भूगोल एवं समाजबाट नितान्त पृथक् भूगोल वा समाजमा पुगेपछि आइपर्ने अनेक प्रकारका सङ्घर्षलाई व्यक्तिले सहजतापूर्वक आत्मसात् गरेर आशावादी दृष्टिकोणका साथ अगि बढ्न सके मात्र जीवन सफल हुन्छ भन्ने सकारात्मक दृष्टिकोण यस उपन्यासमा प्रस्तुत भएको छ ।

भाषाशैलीय विन्यास
प्रस्तुत कृतिमा देखिएको भारती गौतमको अर्को प्रभावकारी पक्ष भाषिक प्रयोग पनि हो । भाषामा सहजतापूर्वक खेल्न सक्ने भारती गौतमको यस कृतिमा प्रयुक्त भाषा सरल, सरस, रोचक, चित्ताकर्षक, सन्तुलित, प्राञ्जल, काव्यात्मक, लयात्मकजस्ता गुणले ओतप्रोत हुनाका साथै स्तरीय र बौद्धिक खालको छ । स्तरीय र बौद्धिक भएर पनि यिनको भाषिक प्रयोग जटिल र दुर्बोध नभई सबै तहका पाठकका लागि सुहाउदिलो सरल र सुबोध छ । आफ्नै प्रकारको निजात्मक गुणले ओतप्रोत विशिष्ट भाषा शैलीको निर्माण गर्न अत्यन्त सफल भारती गौतमको शैली तार्किक रहेको छ । तत्सम, तद्भव र आगन्तुक शब्द, पदावली र वाक्यको चयनपूर्ण र सन्तुलित प्रयोग गर्ने गौतमले आफ्ना उपन्यासका कतिपय ठाउँमा संस्कृतका सूक्तिहरू, अङ्ग्रेजीका शब्द, पदावली र वाक्यहरूका साथै नेपाली उखान, टुक्का, अनुकरणात्मक शब्दको यथोचित प्रयोग गरी आफ्नो भाषाशैलीगत छुट्टै र विशिष्ट पहिचान निर्माण गरेकी छन् । काव्यात्मक गुणले ओतप्रोत, अनेक उपमा, बिम्ब र प्रतीकले सजिएको यिनको भाषिक प्रयोग दुर्बोध नभएर बोधगम्य हुनु यिनको भाषिक प्रयोगको विशिष्ट पक्ष हो । प्रत्येक घटना, सन्दर्भ, प्रकृति, भूगोल, निर्जीव वस्तुलाई उपमासहित तुलनात्मक ढङ्गमा प्रस्तुत गर्न सक्ने उनको भाषिक क्षमता उल्लेखनीय रहेको छ । यस्तो उपमायुक्त प्रस्तुतिले यस उपन्यासलाई रोचक र आकर्षक बनाउनुका साथै यसले लेखकको भाषिक ज्ञान, विद्वता र कौशलताकलाई छर्लङ्ग पारेको छ । यति हुँदाहुँदै पनि यिनको अभिव्यक्ति सबै खाले पाठकलाई सहजै आकर्षित गर्न सक्ने क्षमतायुक्त रहेको छ । व्यक्तिगत पारिवारिक संस्मरणलाई औपन्यासिक ढाँचामा विशिष्ट ढङ्गले प्रस्तुत गरिएको यो कृति विशाल कायको भए पनि पढ्न थालिसकेपछि समाप्त नगरी छोड्न मन नलाग्ने तथा सबै स्तरका पाठकका लागि सहज पठनीय रहेको देखिन्छ । उल्लिखित सबै सन्दर्भबाट हेर्दा अभिव्यक्ति कौशल सुन्दर भएको यस कृतिलाई देश खाई शेष भएको एउटा परिपक्व व्यक्तिको अनुभवजन्य उपन्यासका रूपमा लिँदा अतिशयोक्ति हुँदैन ।

४. उपसंहार
यस उपन्यासको शीर्षकका रूपमा प्रयुक्त अमेरिकामा आमा पदावलीले अमेरिकामा रहेकी आमालाई बुझाउँछ । आमा जस्तो महान् सम्बन्ध जहाँ बसे पनि महानै हुन्छ भन्ने कथ्यअनुरूप चयन गरिएको प्रस्तुत उपन्यासको शीर्षक अमेरिकामा आमा सार्थक, सामञ्जस्यमूलक र औचित्यपूर्ण देखिन्छ । अनेक शीर्षकसहित आदि, मध्य र अन्त्यको क्रमिक विन्यासमा सङ्गठित अमेरिकामा आमा उपन्यास व्यक्तिगत एवं पारिवारिक विषयवस्तुमा आधारित विचारमूलक कृति हो । कथ्यलाई विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको यस कृतिमा अमेरिकी भूगोल एवं परिवेशमा बा“चेको मानसिकतामा नेपाली भूगोल एवं परिवेश जाज्वल्यमान भएर देखापरेको छ । आप्रवासमा पाइने दुख, कष्ट, सङ्घर्ष आदिको बाह्य प्रस्तुतिका माध्यमबाट भिन्न भूगोल, भिन्न भाषा, धर्म, दृष्टिकोणस“ग समायोजन हुन चाहँदा चाहंदै पनि कतै नसकेको, कतै असावधानीपूर्वक चिप्लिएको अनि कतै सफल भएको अन्तर्मनको विश्लेषण गरिएको यस कृतिमा विभिन्न सन्दर्भबाट एउटी आमाको मनस्थिति केलाउ“दै विषम परिस्थितिमा पनि सहजतापूर्वक अगि बढ्नुपर्ने दृष्टिकोण प्रस्तुत भएको छ ।

परम्परित सन्दर्भबाट संस्मरण भनिने तथा प्रयोगशील सन्दर्भबाट हेर्दा उपन्यास भनिने भारती गौतमको अमेरिकामा आमा शीर्षक कृतिमा विभिन्न घटनावलीको संयोजनका साथ उपन्यासकारको स्वकीय जीवनानुभवले औपन्यासिक स्वरूप प्राप्त गरेको छ । यस कृतिमा घटना, सहभागी, परिवेश सबै काल्पनिक नभएर यथार्थ जीवन भोगाइका आत्मवृत्तान्तको अनुभवन्यासीकरण गरिएको छ । विषयगत विविधता, चिन्तनमूलकता, प्रभावकारी प्रयोगशीलता, आपूm बा“चेको परिवेशको यथार्थमूलक एवं जीवन्त प्रस्तुति अभिव्यक्ति, अनुभवन्यास लेखन, डायस्पोरिक पीडाको अभिव्यक्ति सरल, सहज, स्वाभाविक र प्रवाहपूर्ण भाषा तथा अनौपचारिक शैलीको प्रयोग आदि भारती गौतमको यस कृतिमा पाइने वैशिष्ट्य हुन् । नेपाल र अमेरिकाका हरेक चिजमा तुलनात्मक दृष्टिकोणको प्रस्तुतिका साथ आफ्नो भूगोल, भाषा, रहनसहन, खानपान आदिलाई बिर्सिन नसकिएको आप्रवासी भावना व्यक्त गरिएको यो उपन्यास सोद्देश्यमूलक रहेको छ । काव्यात्मक भाषाको प्रयोगका साथ र तार्किक एवं तुलनात्मक शैलीमा स्पष्ट विचारका साथ प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित यस कृतिलाई यथार्थवादी कित्ताको डायस्पोरा साहित्यको उल्लेख्य नमुनाका रूपमा लिनसकिन्छ ।