अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

अमेरिकाको न्यूयोर्कमा आर्थिक गतिविधि सुचारु गर्ने तयारी

बिआरटीनेपाल २०७७ वैशाख १४ गते २१:५६ मा प्रकाशित

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाको इपिसेन्टर न्यूयोर्कले आफ्नो अर्थतन्त्र पुनः चलायमान बनाउने तयारी थालेको छ । कोरोना भाइरस महामारीको उच्च तह पार गरेपछि न्यूयोर्कले अब आर्थिक गतिविधि सुचारु गर्ने तर्फ ध्यान दिन थालेको हो ।

गभर्नर एन्ड्रयू कुओमोले राज्यका आर्थिक गतिविधिहरु चरणबद्ध रुपमा खुला गर्ने बताउनुभएको छ । यस अन्तर्गत सुरुमा निर्माण तथा उत्पादन क्षेत्र सञ्चालन गर्न दिइने गभर्नर कुओमोले बताउनुभयो । दोस्रो चरणमा आवश्यकताको सिद्धान्त र अवस्था अनुसार व्यवसायहरु सञ्चालनको अनुमति दिइने उहाँको भनाई छ । हरेक चरणमा दुई हप्ताको अवधी हुने र सो अवधिमा प्रभाव कस्तो रह्यो भनेर अवलोकन गरिने कुओमोले बताउनुभयो ।

व्यवसाय सञ्चालन गर्दा कोरोना भाइरसको संक्रमण तथा त्यसबाट अस्पताल भर्ना गर्नु पर्ने बिरामीको संख्यामा बृद्धि भयो वा भएन भन्ने हेरिने उहाँले नियमित पे्रस ब्रिफिङ्गको क्रममा जानकारी दिनुभयो । कुओमोले व्यवसाय पुनः सञ्चालन गर्ने रणनीतिको समयक्रम भने सार्वजनिक गर्नुभएको छैन । तर राज्यका केही क्षेत्रहरु मे १५ भन्दा पहिले नै सञ्चालन हुने उहाको भनाई छ ।

कोरोनाका कारण शनिबार न्यूयोर्कमा ३६७ जनाको मृत्यु भएको थियो । यस्तै लगातार अस्पताल भर्ना गर्नु पर्ने बिरामीको संख्या पनि कम भएको छ । यस्तै संक्रमणको दर राज्यमा ०.८ प्रतिशतमा झरेको पनि गभर्नर कुओमोले जानकारी दिनुभयो ।

प्रतिक्रिया