अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

संसद विकास कोषको रकम कोरोना रोकथाम कोषमा पठाउनमा ढिलाइ

बिआरटीनेपाल २०७७ वैशाख १३ गते २२:०५ मा प्रकाशित

संघीय संसदले संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न १२ दिनअघि सरकारलाई सहमति दिएको थियो । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक र प्रदेशसभाका सभामुख र उपसभामुखको छलफलमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा पठाउने प्रारम्भिक सहमति गराउनु भएको थियो । तर अर्थमन्त्रालयबाट हालसम्म थप प्रक्रिया अघि बढ्न नसकेको पाइएको छ ।

प्रतिनिधिसभाका विभिन्न दलका प्रमुख सचेतकहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन सकिने बताएपछि सभामुख सापकोटाले सरकारलाई सहमति दिनुभएको हो । त्यसैअनुसार सरकारलाई लेखी पठाइएको सङ्घीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले सीआईएनसँग बताउनुभयो । पूर्वाधार विकास कोषको रकम कोरोनाका कोषमा राख्नका लागि अर्थमन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लग्नुपर्ने हुन्छ । तर प्रक्रिया अघि बढ्न सकेको छैन ।

परामर्श समितिको बैठकमा एकमत जस्तै भएपनि कोषको रकम चलाउन पाइन्न भन्ने सांसदहरु पनि उत्तिकै छन । दलको नेतृत्वले पनि मुख खोलेको छैन । नेतृत्वको पहुँचमा रहेका सांसद पनि त्यो बजेट चलाउने हुन्न भनिरहेका छन् । प्रतिनिधिसभाको १६५ निर्वाचत क्षेत्रलाई चालु आर्थिक वर्षमा ६ करोड रुपैयाँका दरले बजेट छुट्याइएको छ ।

प्रतिक्रिया