अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

न्यु ह्याम्पसायर सम्मेलनको सम्झना र अनुभव

प्रकाश पौडेल ‘माइला’ २०७७ वैशाख १२ गते ८:५६ मा प्रकाशित

जीवन सिकाइ र अनुभवहरूको शृङ्खला हो । सिक्दै जाँदा प्राप्त हुने ज्ञानले मानिसलाई आफूभन्दा माथि उठाउँछ । यो सिकाइ व्यक्तिगतभन्दा सामूहिक हुन सक्यो भने त्यसले दिने सन्तुष्टि अझमाथि हुँदो रहेछ । आफूलाई निखार्ने र तिखार्ने एउटा महत्त्वपूर्ण माध्यम साहित्य पनि हो । साहित्य सिर्जना नितान्त व्यक्तिगत अनुभव हो । तर यसलाई समाज र भाषा उन्ननयनका लागि लगाउन सकियो भने यो सामूहिक आनन्द बन्ने रहेछ । अनेसाससँग जोडिनुअघिसम्म मलाई यो कुराको गहिरो अनुभव थिएन । सन् २००७ देखि यो संस्थामा जोडिँदै र निरन्तर विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै गएँ, यसले दिने व्यक्तिगतभन्दा सामूहिक भावनाले मलाई साँच्चै आकर्षित गर्दै लाग्यो ।

आज हामी विश्वको जुनसुकै कुनामा बसेर साहित्यको जुनसुकै विधामा कलम चलाउँदै गए पनि जब एउटा लेखकले अर्को लेखकलाई भेट्छ र भोलिको नेपाली साहित्यको भविष्यको खाका कोर्न थाल्छ, मलाई त्यो सबैभन्दा सुन्दर कल्पना लाग्छ । अनेसासका हरेक कार्यक्रमहरूमा भेटिने हरेक साथीहरूले देखाउने सामूहिक भावनाले नेपाली साहित्यले नयाँ क्षितिज उघार्दै गएको महसुस गराउँछ । कहिलेकाहीँ एकोहोरो तालले संस्थामा म किन यसरी गहिरिँदै गएँ भनेर केलाउँदा मलाई यही सामूहिकताको भावनाले नै आकर्षित गरिरहेको
पाउँछु । एउटा व्यक्ति जतिसुकै सफल भए पनि सामूहिक सफलता प्राप्त नगरी एक्लो सफलताले उति सन्तुष्टि दिँदैन भन्ने कुरा पनि मैले राम्ररी महसुस गर्न थालेको छु ।

सन् २०१८ को मे ११–१३ सम्म अमेरिकाको न्यु ह्याम्पसायरमा भएको च्याप्टर सम्मेलनले मेरा अनुभवलाई अझ तिख्खर बनाएको छ र सामूहिकता कति ठुलो शक्ति हो भन्ने महसुस पनि गराएको छ । सरसर्ती हेर्दा यो सम्मेलन यसअघिको च्याप्टर सम्मेलनको निरन्तरता मात्र लाग्न सक्छ तर हाल वरिष्ठ उपाध्यक्षका रूपमा सबै साथीहरूको सुझाव, सल्लाह र चिन्तालाई गहिरिएर हेर्दा यो सम्मेलनले अनेसासका आन्तरिक समस्या सुल्झाउन मात्र होइन, नेपाली साहित्यमा नयाँ काम गर्ने साहस दिन पनि महत्त्वपूर्ण भूमिका खेलेको महसुस हुन्छ ।

न्यु ह्याम्पसायर सम्मेलन केवल भेटघाट, साहित्य चर्चा र कविता वाचनमा मात्र सीमित रहेको थिएन । यो सम्मेलनले हामीलाई अझ परिपक्व बनाएको थियो । बोर्ड अफ ट्रस्टी, केन्द्रीय कार्य समिति, विभिन्न च्याप्टर आजीवन सदस्य र शुभेच्छुकहरूको बिचमा निकट सम्बन्ध स्थापना गरेको थियो । नेपाली साहित्यलाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ, हाम्रा कमजोरी के के हुन्, हाम्रो विगत कसरी बित्यो ? संसारभर छरिएर रहेका र अनेसाससँग जोडिएका साथीहरूले हामीबाट कस्ता कुराको अपेक्षा गरेका छन् भन्ने कुरामा पनि हामी जमेर छलफल गरिरहेका थियौँ । जब कुनै बुँदामा जमेर छलफल गरिन्छ, त्यसले नयाँ निकास दिन्छ । न्यु ह्याम्पसायरमा सम्पन्न च्याप्टर सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण सफलता यो नै हो भन्ने लाग्छ ।
०००

जापानबाट अमेरिका दैनिक जसो सिधा उडान छन् । यही सजिलो उडानका कारण अति व्यस्तताका बिच पनि म समय निकालेर अमेरिकामा हुने धेरैजसो सम्मेलनमा पुग्ने गर्छु । न्यु ह्याम्पसायर भ्रमण मेरो चौथो अमेरिका यात्रा हो । यसअघिको भ्रमण डिसी, भर्जिनिया, बाल्टिमोर र न्यु योर्क क्षेत्रमै सीमित थिए । आफ्ना कतिपय आवश्यकतालाई खुम्च्याएर साहित्यका लागि यसरी समय खर्च गर्दा पारिवारिक, व्यावसायिक र सामाजिक दबाब नआउने होइन । तर माथि नै मैले भनिसकेँ, जब कुनै सामूहिक खुसीका लागि काम गर्ने अवसर आउँछ, अनेसासका धेरै साथीहरूले मेराजस्तै व्यक्तिगत खुसीहरूलाई तिलाञ्जली दिएको पाउँछु । न्यु ह्याम्पसायर सम्मेलनमा पनि धेरै च्याप्टर अध्यक्ष र प्रतिनिधिहरू भेला हुने कुरा सुन्दा आफू उपस्थित नभए धेरै साथीहरूसँग खुसी साट्ने अवसर छुट्छन् भन्ने महसुस हुनु स्वाभाविक थियो । त्यसैले साथीहरूलाई आफू उपस्थित हुने जानकारी पहिल्यै गराएको थिएँ । म वासिङ्टन डिसीस्थित डाल्लस विमानस्थल हुँदै बोस्टन विमानस्थल पुग्ने योजना र यात्रा तालिका बनाएँ ।

डिसीमा २ घण्टा ट्रान्जिट समय राखेर आन्तरिक उडानमार्फत बोस्टन विमानस्थल पुग्दा च्याप्टर सम्मेलनका लागि सबै पाहुना भेला भएर आ–आफ्ना गन्तव्यमा पुगिसक्नु भएको खबर प्राप्त भयो । उडान डिले भएको कारण उघ्रेको समयमा वाइफाई जोडेर फेसबुकमार्फत डिसी क्षेत्रका साथीहरूलाई फोन गर्न थालेँ । धेरै साथीहरूको फोन नउठे पनि पूर्व केन्द्रीय अध्यक्ष पुरु सुवेदी, तत्कालीन डिसी च्याप्टर अध्यक्ष रामप्रसाद खनाल, विमला निरौला, पुष्पा घिमिरे, नीलकण्ठ सुवेदी, सुदीपभद्र खनाल लगायतका मित्रहरूसँग सम्पर्क हुन सक्यो । मेरा लागि बोस्टन च्याप्टरका पूर्व अध्यक्ष हरिप्रसाद काफ्ले र उपाध्यक्ष यमप्रसाद पौडेल बोस्टन एयरपोर्ट बाहिर स्वागतका निम्ति बस्नुभएको रहेछ । काफ्ले र पौडेलसँग मेरो पहिलो भेट थियो तर एउटै संस्था र साहित्यले हामीलाई यसरी जोडेको रहेछ, हामी पहिलो भेटमै बर्सौँ बिछोडिएका तीन परम मित्रझैँ एक आपसमा आत्मीय अँगालोमा बाँधियौँ । त्यति लामो यात्रा र आन्तरिक ट्रान्जिटको झन्झटलाई त्यही अँगालोले जोडिदियो ।

साँझको त्यो आत्मीय मिलनपछि उहाँहरूले कवि दीपा राई पुनजीको घर लिएर जानुभयो । खासमा साँझको खानपिन दीपाजीले नै गराइरहनु भएको रहेछ । त्यहाँको वातावरण हेर्दा उहाँहरू धेरै अघिदेखि त्यहाँ जम्मा हुनुभएको र भोज अन्तिम अवस्थामा पुगेको अनुभव भइरहेको थियो । खासमा त्यो भेटघाट पनि कार्यक्रमकै महत्त्वपूर्ण अंश थियो । यसले हामीलाई एक आपसमा सहज मिलन गराउन र भोलिको कार्यक्रममा खुलेर छलफल गर्न मद्दत गर्दथ्यो । तर म ढिलो पुग्दा त्यो वातावरणलाई मैले समात्न नसक्ने हुँ कि भन्ने भान प¥यो ।

उहाँहरूको उन्मत्त गफ र रमाइला किस्सामा रमाइरहेका हँसिलो अनुहार देख्दा प्रारम्भिक भेटघाटका धेरै कुरामा आफू छुटेको अनुभव भयो । मैले खाना खान सुरु गर्दा ममताजी र अनुजीले मलाई अप्ठ्यारो महसुस नहोस् भनेर साथमा साथ दिनुभयो । हामी तिम्रो नजिक छौँ र तिमीलाई बोर हुन दिन्नौँ भन्ने बुझाउन यो भाव नै मलाई पर्याप्त थियो । एक प्रकारको न्यानो प्रेम महसुस भयो । त्यत्ति बेलै न्युयोर्कबाट साहित्यकार कृसु क्षेत्रीको फोन आयो । केही बेर फोनमा भुलेँ ।

पूर्व केन्द्रीय अध्यक्ष समेत रहनुभएका अग्रज दाइ मोहन सिटौलाको गफ निकै आकर्षक थियो । खाना खाँदै गर्दा उहाँको गफमा म रम्न पुगेँ र केही बेर अघि मात्र म त्यहाँ उपस्थित भएको भन्ने कुरा नै बिर्सिएँ । लामो यात्रापछि परिवारको भेटघाटमा जसरी थकान मेटिन्छ, त्यो बेला मलाई त्यही कुरा महसुस भयो । खाना खाने बित्तिकै कसले बढी आतिथ्य प्रदान गर्ने भन्ने होडबाजी चल्न थाल्यो । साहित्यकार महेश्वर पन्तले हामीलाई आफ्नो घर लैजान तयारी गर्दागर्दै केन्द्रीय महासचिव गोवर्द्धन पूजाले मलाई आफ्नो गाडीमा चढाइहाल्नु भयो । मलाई मात्र होइन, उहाँले तत्कालीन वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र सचिव गणेश घिमिरेजीलाई पनि सँगै बसाउनु भयो । गोबद्र्धनजीको उदात्त चित्तका विषयमा जानकारी नभएको होइन, उहाँको यो शैलीले मलाई नतमस्तक बनायो ।

भोलिपल्ट स्थानीय कन्कर्ड कम्युनिटी सेन्टरको हलमा भव्य डिनर कार्यक्रम थियो । स्थानीय च्याप्टर र साथीहरूले अनेसासको लोगो अङ्कित निकै आकर्षक केकको व्यवस्था गर्नुभएको थियो । डिनर र केकपछि महेश्वर पन्त, सागर खतिवडा र हरिमाया अधिकारीसहितको साङ्गीतिक टोलीले उक्त साँझलाई भिन्न–भिन्न स्वादमा रौनकपूर्ण बनाए । धेरैपछि बहिनी सबिता रेग्मी र पृथ्वी अधिकारी भाइसँग त्यहीँ भेट भयो । सांस्कृतिक कार्यक्रम गरेर उक्त दिन समापन भयो र सबै भोलिपल्टको उद्घाटन कार्यक्रमको निम्ति केन्द्रीकृत भइयो ।

जापान उसै पनि भिडभाडको क्षेत्र, त्यसपछिको व्यस्तताले वरपर आँखा डुलाउने फुर्सद हुँदैन । तर अमेरिकाको फराकिलो ठाउँ र विश्वभरिबाट उपस्थित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा परिचितहरूको फराकिलो छातीले कार्यक्रम विशेष हुने अड्कन काटेँ । भोलिपल्ट कार्यक्रम स्थलको खुला क्षेत्रफल र शान्त वातावरणले झन् मोहनी लगायो । त्यहाँ भेला हुनुभएका तत्कालीन केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, ट्रस्टी अध्यक्ष डा. श्याम कार्कीसहित दर्जनौँको माया पाउँदा नतमस्तक नहुने कुरै भएन । त्यसमाथि समकालीन साथीहरूले मेरो प्रतीक्षामा बिताएका क्षणहरूका कुरा सुन्दा पारिवारिक पुनर्मिलनको महसुस भइरह्यो । लसभेगस च्याप्टरका अध्यक्ष कृष्ण कुसुम मात्रै हैन जर्जिया च्याप्टर अध्यक्ष किरण मानिकेसँगको भेटमा बेग्लै मिठास अनुभूति गरेको थिएँ । क्यानडाबाट आउनुभएका गोविन्दसिंह रावत दाइ र मुक्ति गौतमजीसँग छोटो भलाकुसारी चल्यो । त्यत्तिकैमा पूर्व केन्द्रीय अध्यक्ष किरण ढुङ्गाना र तत्कालीन ट्रस्टी उपाध्यक्ष रोहिणी शर्मा दाइको आगमन भयो । बोस्टनका सुशील नेपाल दाइ र लालगोपाल सुवेदीजी चाहिँ टाढैबाट मुसुमुसु हाँस्दै आत्मीयता प्रकट गरिरहनु भएको थियो । अनेसासका दुई ठुला पुरस्कारदाता प्रा.डा. दुर्गा दाहाल दाइ र राम लामा ‘अविनाशी’ जीसँग चाहिँ हलमै पुगेर भेट भयो । केन्द्रीय कार्य समितिका पूर्व कोषाध्यक्ष नारायण अधिकारीजीलाई प्रवेशद्वारको छेवैमा भेटेँ ।

चर्चित पत्रकार गुणराज लुइटेल भने स–परिवार झुल्किनुभयो । मिजौरी च्याप्टर अध्यक्ष उर्मिला निर्दोषी, नर्दन क्यालिफोर्निया च्याप्टर अध्यक्ष सर्वज्ञ वाग्ले, न्यु योर्क च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठ, फ्लोरिडा च्याप्टर अध्यक्ष निजानन्द मल्ल, लस एन्जलस च्याप्टर अध्यक्ष डन कार्की र बेल्जियम च्याप्टर अध्यक्ष राजकुमार पुडासैनीजीसँगको मेरो भेट पनि पहिलो थियो । म एउटा कुनामा पूर्व केन्द्रीय उपाध्यक्ष राम खत्री दाइसँग गफ गरिरहेको बेला न्यु ह्याम्पसायर च्याप्टर अध्यक्ष तथा सम्मेलन संयोजक कृष्ण गिरी पनि आइपुग्नु भयो । सम्मेलनको सबै व्यवस्थापन मिलाउनका निम्ति अहोरात्र खट्दासमेत उहाँमा थकान देखिन्थेन । अर्कोतिर च्याप्टर संरक्षक उमेश कोइराला र स्थानीय हस्तीहरू हरिमाया अधिकारी, अग्नि पराजुली र ईश्वरी भट्टजी निकै दौडधुपमा हुनुहुन्थ्यो । कुमार भट्टराई, डम्बर कडरिया, निगम रिमाल, तारादेवी न्यौपाने, रमा न्यौपाने, सुन्दरी गुरुङ, मुक्ति राई, लोक लामा, हरिकुमारी गुरुङ, मीन गौतम, इन्दु गिरी, जुनु कडरिया, मैयाँ ढुङ्गाना, शिवकुमार राई, दिनबन्धु प्रेमी, कमल ढुङ्गाना, सोम गुरुङ, रबिन थापा, बबी विष्ट, सुबोध गिरी, शारदा भट्ट, प्रतिभा भट्ट लगायतले निरन्तर उहाँहरूलाई साथ दिइरहनु भएको देखिन्थ्यो । यत्तिकैमा मैले पनि मञ्च व्यवस्थापनमा केही सघाएँ । कार्यक्रमको सफलताका निम्ति ब्यानर र मञ्च व्यवस्थापन सुन्दर हुनुपर्छ भन्ने मान्यता मैले पहिलेदेखि नै राख्ने भएकाले त्यसले मेरो ध्यान खिच्यो ।

अनेसासले अन्तर्राष्ट्रिय स्तरमा गर्ने सम्मेलनहरूमा म पुगिरहन्छु, सम्भव भएसम्म पुग्ने कोसिस गरेको हुन्छु । अग्रज तथा पुराना मित्रहरूसँग नवीकरण र नयाँ साथीहरूसँगको चिनजान शृङ्खलाकै रूपमा अगाडि बढेको छ एक दशक अगाडिदेखि । यस्ता प्रेमपूर्ण भेटघाट धेरै पटक भएका थिए । तर यो सम्मेलनमा कूल १३ राष्ट्रबाट डेढ दर्जन बढी च्याप्टर अध्यक्ष र च्याप्टरका अन्य पदाधिकारीको उपस्थिति थियो । त्यसमाथि हाम्रो संस्था दिन–प्रतिदिन पुरानो हुँदै थियो र हामी झन् बढी परिपक्व र अनुभवी भएका थियौँ । यसले च्याप्टर सम्मेलनले सार्थक परिणाम दिने विश्वास हामीलाई थियो ।

नभन्दै यो सम्मेलन हामी सबैको अपेक्षा अनुरूप विशेष भयो । कार्यक्रमले धेरै साथीहरूलाई पहिलो पटक प्रत्यक्ष भेटघाट गरायो । धेरै साथीहरूसँग पुनर्मिलन गर्ने अवसर प्राप्त भयो । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण, सामूहिक छलफल, मोहन सिटौलाको कार्यपत्र प्रस्तुति र बन्द सत्रमा संस्थाका बारेमा खुलेर छलफल र बहस गरियो । यही कारण संस्थाका धेरै समस्या र विषयवस्तुहरू सतहमा आए र त्यसलाई समाधान गर्ने बाटो पनि निस्किए । फुर्सदमा फोटो सेसन पनि राम्रैसँग भएका थिए । सहभागी पाहुनाहरू फोटो सेसन र अनौपचारिक गफमा केन्द्रित हुँदा समेत विनोद स्वर, गिरिधारी बस्नेत, हेमन्त हिमाल, चण्डीका आचार्य, छत्र गुरुङ, नरेन्द्र गुरुङ, राजन राई, सुधा तिमल्सिना, लाक्पा शेर्पा, मुना कोइराला, पद्म श्री रिमाल, रवि सुवेदी, उर्मिला खड्का, चन्द्र कडरिया, राधिका भण्डारी, शम्भु गुरुङ, रामचन्द्र भण्डारी र पेमा लगायतका स्थानीय व्यक्तित्वहरू आन्तरिक व्यवस्थापन र आवश्यक मेसोमेलो मिलाउनमै खटिरहनु भएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा गभर्नर कृस सुनुनु, अमेरिकी सिनेट मे जेरिटी लिडर ड्यान फेलेट्स् र सिनेटर डेभिड वाट्टरलगायतको सहभागिताले बेग्लै माहौल सिर्जना भयो । अनेसासको कार्यक्रममा अमेरिकी गभर्नर र सिनेटरको सामूहिक उपस्थितिले हाम्रो साहित्यले अन्तर्राष्ट्रियकरण गर्ने चाहनाको अनुमोदन अथवा एक खुड्किलो हो कि भन्ने महसुस पनि भयो । मूल कार्यक्रम तत्कालीन महासचिव गोवर्द्धन पूजा र प्रतिभा भट्टले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो । विभिन्न अवार्ड वितरण, सम्मान, शुभकामना मन्तव्यलगायतको औपचारिक कार्यक्रममा केन्द्रित भयो पहिलो दिन । समारोहमा ट्रस्टी अध्यक्ष डा. श्याम कार्की, उपाध्यक्ष गीता खत्री, केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्ष मोहन सिटौला, संयोजक कृष्ण गिरी लगायतले मन्तव्य राख्नुभयो । अमेरिकाको अतिरिक्त नेपाल र भारत मात्रै हैन, जापान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे लगायतका मुलुकहरूबाट साहित्यकारहरूको बाक्लो सहभागिता थियो । केही महत्त्वपूर्ण देश र च्याप्टरहरूको प्रतिनिधित्व नदेखिँदा केही खल्लोपनाको महसुस पनि भयो । ठुलो उपस्थितिका बिच पनि कार्यक्रम निकै व्यवस्थित थियो । स्थानीयको ऊर्जा र खटाई साँच्चै नै लोभलाग्दो थियो ।

दोस्रो दिनको कार्यक्रममा च्याप्टरहरूलाई कसरी बलियो बनाउने र केन्द्रसँगको सम्बन्धलाई अझ कसरी नजिक बनाउने भन्ने कुरामा हामी केन्द्रित रह्यौँ । साथीहरूबाट नयाँ–नयाँ तर्क र विश्लेषणहरू निस्किए । धेरै खालको समाधानका बाटो पहिल्याइयो । त्यसमध्ये केही अहिले पनि लागू भएका छन् । केही बुँदामा भने अझै काम गर्न बाँकी छ । जे भए पनि यसले हाम्रा समस्यालाई सतहमा ल्यायो र समाधान गर्न सकिने सूत्रहरू पनि पत्तो लाग्यो । कार्यक्रमको मध्यतिर चाहिँ अघिल्लो कार्य समितिमा सँगै काम गरेका भोला सिवाकोटीजीसँग कुर्ची सेयर गरेर हलमा बस्दा आत्मीयता महसुस भयो ।

दोस्रो दिनको कार्यक्रममा कवि गोष्ठी पनि निकै लामो समय चल्यो । डा. मणि पनेरु, काशीराज पाँडे, शकुन ज्ञवाली, किशन धामी, विकास विष्ट, प्रकाशचन्द्र घिमिरे, ललिता क्षेत्री, दिलु सिञ्जाली, बलराम थापालगायतको कविताले मन छोयो । तत्कालीन उपाध्यक्ष प्रकाश नेपालजी र म स्वयम्ले कवि गोष्ठीको सञ्चालन गरेका थियौँ । उपाध्यक्ष भीमसेन सापकोटाको योगा प्रशिक्षणमा सबै जना मस्तले डुब्ने अवसर पनि मिल्यो भने सर्वज्ञ वाग्लेद्वारा न्यु ह्याम्पसायर घोषणा–पत्र सार्वजनिक गरेपछि तत्कालीन ट्रस्टी उपाध्यक्ष (वर्तमान अध्यक्ष) गीता खत्रीद्वारा निर्मित नेपाली चलचित्रको पनि अन्तमा प्रदर्शन गरिएको थियो ।
०००

सन् १९९१ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्थापना गर्दा सायद यो संस्था यसरी विश्वभरि फैलन्छ भन्ने कल्पना संस्थापकहरूले गर्नुभएको थियो वा थिएन । तर सामूहिक उद्देश्यले सुरु भएको यो संस्था अहिले नेपालीहरू बसेका सबैजसो देशमा फैलन थालेको छ । विश्वभरि यसका दर्जनौँ च्याप्टर सक्रिय छन् । यसले सबैलाई एक स्थानमा ल्याएको छ । यद्यपि संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायत थुप्रै संस्थापकहरूको अनुपस्थिति टड्कारो रूपमा खड्किएको महसुस भयो ।

सन् २०१६ बाट च्याप्टर सम्मेलन सुरु भएपछि यसको गुणात्मक विकासमा सहयोग पुग्न थाल्यो । पहिलो च्याप्टर सम्मेलन शान्तिराम ढकालको संयोजकत्वमा लस एन्जलस च्याप्टरले र दोस्रो सम्मेलन कृष्ण गिरीको संयोजकत्वमा न्यु ह्याम्पसायर च्याप्टरले ग¥यो । यी दुवै च्याप्टर सम्मेलनको सफलताकै कारण हुनुपर्छ, च्याप्टर सम्मेलन नियमित गर्नुपर्छ भन्ने अनुभव सहभागी सबैलाई भयो । न्यु ह्याम्पसायरको कार्यक्रम विशेष हुनुमा कार्यक्रम संयोजक एवम् च्याप्टर अध्यक्ष कृष्ण गिरीको शालीन र जुझारु व्यक्तित्वले सुनमा सुगन्ध थपेको महसुस गराएको थियो । संरक्षक उमेश कोइराला सबैका निम्ति आदर्श पात्र हुनुहुन्थ्यो । त्यसमा केही केन्द्रीय कार्य समिति, बोर्ड अफ ट्रस्टी, च्याप्टरहरू, पुरस्कारदाता, विज्ञापनदातालगायतको हातेमालो र सहयोग त आफ्नो स्थानमा छँदै थियो ।

कतिपयले मलाई सोध्छन्, साहित्यले र अनेसासले तिमीलाई के दियो ? त्यो बेला म न्यु ह्याम्पसायरजस्ता अनेक सम्मेलन र त्यहाँ भेला हुनुभएका साहित्य भनेपछि मरिमेट्ने साथीहरूको अनुहार सम्झन्छु । नबोलीकन नै मेरो उज्यालो अनुहारले नै प्रश्नकर्ताले उत्तर पाउँछ । साहित्यले भविष्यमा नेपाली भाषा र नेपाली समाजलाई धेरै दिन सक्छ । तर तत्काललाई भने यसमा काम गर्ने सम्पूर्ण साथीहरूलाई ठुलो आत्मिक सन्तुष्टि दिन्छ । यही सन्तुष्टिमा अर्को इँटा थप्ने जमर्को तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोक्यो, जापानमा २०२० को जनवरी ११–१३ सम्म सम्पन्न भयो । सन् २०१५ मा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सफल आयोजना गरेको जापान च्याप्टरले तेस्रो च्याप्टर सम्मेलनलाई पनि न्यु ह्याम्पसायर सम्मेलनजस्तै अविस्मरणीय बनाएको अपेक्षा लिएको छु । जापान सम्मेलनबारेको इतिवृत्त स्तम्भकारकै अर्को आलेखमा आइसकेको छ ।

अनेसास बोर्ड अफ ट्रस्टी, केन्द्रीय कार्य समिति, विभिन्न च्याप्टरहरू, आजीवन सदस्यहरू, न्यु ह्याम्पसायर च्याप्टर र सम्मेलन सफल पार्न अहोरात्र खट्नुहुने सम्पूर्ण साथीहरूलाई सलाम । जय अनेसास !!

(लेखक संस्थाका केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन्)

प्रतिक्रिया