अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

ग्रिन कार्ड रोक्ने सम्बन्धी आदेशमा राष्ट्रपति ट्रम्पद्धारा हस्ताक्षर

बिआरटीनेपाल २०७७ वैशाख १० गते २२:२७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गर्नुभएको छ । विभिन्न छुटसहितको निर्देशन अनुसार ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनका लागि स्थगित भएको छ । तर ट्रम्पले यो अवधी बढ्न सक्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिवेशमा अमेरिकी कामदारका लागि रोजगारीका अवसरहरु सुरक्षित गर्नका लागि यस्तो निर्णय लिएको दावी गर्नुभएको छ । आलोचकले भने ट्रम्पले महामारीलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएका छन् । उहाँ जहिले पनि आप्रवासीको विपक्षमा रहेको र त्यही नै ट्रम्पको प्रमुख चुनावी मुद्दा पनि बन्ने गरेको छ । ट्रम्पको पछिल्लो आदेश आउँदो नोभेम्बरमा हुने चुनाव लक्षित रहेको विश्लेषण गरिएको छ ।

ट्रम्पले भने ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गको क्रममा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिन कार्ड सेवा रोकेको बताउनुभयो । हरेक वर्ष अस्थायी आवास स्वीकृतिमा कामका लागि विश्वका विभिन्न देशबाट मानिसहरु कामका लागि अमेरिका पुग्छन् । सो सेवा भने ६० दिने अवरोधबाट प्रभावित हुने छैन ।

यस्तै अमेरिकी नागरिकका श्रीमान–श्रीमती तथा सन्तानहरु, अहिले नै अमेरिकामा रहेका ग्रिन कार्डका आवेदक, कामका लागि अमेरिका छिर्न चाहने डाक्ट, नर्स तथा अरु स्वास्थ्यकर्मीहरुमा पनि यो नियम लागु हुने छैन । तर ग्रिन कार्ड पाएकाहरुले परिवारका अरु सदस्यलाई अमेरिका छिराउने प्रक्रियामा भने यो अवधीमा रोक लाग्ने भएको छ । राष्ट्रपतिको यो आदेश विरुद्ध कानूनी चुनौति आउने सम्भावना रहेको बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू