अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

झरेको पात र उडान उपन्यास एक विश्लेषण

रश्मि भट्ट २०७७ वैशाख १० गते ७:१० मा प्रकाशित

(साहित्यकार/पत्रकार/ उपन्यासकार बद्री विनोद खनाल प्रतीक)
नेपाली साहित्यमा राम्रैसँग नाम चलेका साहित्यकार अझ भन्दा पोखरेली साहित्यका एक विशिष्ट हस्ती बद्री विनोदलाई नचिन्ने विरलै होलान् । बेला, बेला समसामयिक र महत्त्वपूर्ण विषयमा कलम चलाउने खनालको पत्रकारितामा पनि उतिकै ख्याति छ । साहित्य र पत्रकारिता कुनमा बढी विशिष्टता भन्यो भने तराजु नै लिएर जोख्नु पर्ने हुन सक्ला । स्वच्छन्द विधामा कलम चलाउन सिपालु खनालको लेखनीको सुरुमा कविता अझ कथातिर धेरै झुकाव देखिन्छ । २०३४ सालमै स्वीकार नामक उपन्यास प्रकाशित भैसकेको खनालको “झरेको पात दोस्रो र उडान”
तेस्रो औपन्यासिक कृति हुन् । यसरी साहित्यको कथा, लघुकथा, निबन्ध, नाटक, एकाङ्की हुँदै गद्यको बहत्तर विधा उपन्यास सम्म आइपुग्न साधकले अथक परिश्रम, धैर्यता र भारी लगाव राख्नु पर्नै हुन्छ । लगाव स्वरूप यस्ता दुई, तीन उपन्यास लेखेर बद्री विनोदबाट नेपाली साहित्यको श्रीवृद्धि गर्ने काम भएको छ । साहित्यमा सानै उमेरदेखि लागि परेका, बौद्धिकता र उमेरले पनि पाका र पाकाहरूले दिन नसकेका योगदान दिने सानै उमेरका व्यक्ति सबै मेरा लागि वरिष्ठ हुन् । यसमा बद्री विनोदको नाम पनि छुट्ने कुरै भएन ।

क) कथानक वा विषयवस्तुको दृष्टिले झरेको पात
यस उपन्यासको मूल विषयवस्तु सामाजिक हो र कथानक असफल प्रेम कहानी हो । हाम्रो खाँटी नेपाली ग्रामीण तथा थोरै सहरिया परिवेशको चित्रण गरिएको यस उपन्यासमा प्रेम र विवाह गर्ने उमेर पुगेका एक जोडी युवा युवती प्रेम सफल बनाउन उनीहरूको तर्फबाट भगीरथ प्रयत्न गर्दा पनि असफल हुन पुगेका छन् । समाजमा हुने आर्थिक, जातीय, वर्गीय, धार्मिक जस्ता उँचो निचो, सानो ठुलो, भेदभावले अझै पनि युगल जोडीहरूले मृत्युवरण गर्नु परेको छ । प्रेम गरेर बाॅच्न पाउने हाम्रो समाजको निर्माण कहिले होला ? यस्तो समाजलाई धुजा धुजा पार्ने प्रेमीको जन्म कहिले होला ? यहाँ प्रेमको उत्कर्ष होइन अवकर्ष छ । उपन्यास पूर्ण सामाजिक विषयवस्तुमा आधारित छ । लेखक, साहित्यकार जति भावुक र कल्पनाशील हुन्न भने पनि दश/बिस प्रतिशत कसै गरे थामिँदैन । नब्बे प्रतिशतले उपन्यासको विषयवस्तु यथार्थ धरातलमा उभिएको छ । यो गौरवको कुरा हो ।

ख) पात्र तथा चरित्रका दृष्टिले उपन्यास
झरेको पातको मूल पात्र तथा चरित्र करुणा र विनय हुन् । अझ करुणा नै मूल पात्र हुन, जसको, दुःख र पीडाले आहत भएर लड्दा लड्दा पनि झरेको पात जस्तै अन्त्य भएको छ । उनको मृत्युमा मेरो त मुटु, पत्थर, फलाम वा इस्पातले बनेको छ भन्ने कुनै पनि पाठक आँसु नझारी बस्नै सक्दैन । उपन्यासको शीर्षक र लेखकलाई सफल बनाउन करुणाको भूमिका दमदार भए पनि करुणा निरीह पात्र भइन, उनी प्रगतिशील हुन सकिनन् । यसबाट समाजका हजारौँ करुणाले फेरी मृत्यु वरण गर्लान् । हामी त प्रगति शील समाज हेर्न चाहन्छौँ । प्रेमले पूर्णता पाउन पर्ने सामाजिक संरचना चाहन्छौँ तर यस वियोगान्त उपन्यासले हामीलाई यो दिने कुरै भएन । जस्तो छ, त्यसको सचित्र मात्र देख्न, पढ्न पाइयो । त्यस्तै गौण तथा सहायक रूपमा आएका अरू विभिन्न पात्र मध्ये समाजसेवी,सहयोगी शेखर पात्र पो उपन्यासको मूल पात्र हुनु पर्ने जस्तो लाग्छ । यिनको भूमिका स्तुति तुल्य छ, धरतीमा धेरै यिनीहरू जन्मिरहुन् । आगामी दिनमा आउने कृतिहरूबाट लेखकले, शक्तिशाली र सकारात्मक रूपले समाज परिवर्तन गर्ने योद्धारूपी पात्रको जन्म दिए हुन्थ्यो भन्ने आशा गर्दछु ।

ग) देश,काल,समय,परिवेश तथा घटनाक्रमका हिसाबले उपन्यास
धेरै, अगाडिको त कुरै नगरौँ, आज भन्दा तीस देखि दश वर्ष पहिले सम्मको मात्रै हाम्रो समाज हेर्नै हो भने,जति नारा लाए पनि,खोके पनि व्यवहारमा समाज परिवर्तन भएकै छैन । यहाँ अन्तर्जातीय, धनी, गरिबको खाडल पुरिएको छैन । प्रेम र युद्धमा सबै जायज हुन्छ भनिन्छ तर प्रेमको निश्चित दायरा भित्र बाच्नु पर्छ हामीले । मेरो विचारमा २०६७ साल देखि यो सतहत्तर साल बिचमा भने केही केही समाजले नपचाउने प्रेम र विवाह सफल बनाउने जोडीहरू देखिएका छन् । भोलि सम्म टिक्ने नटिक्ने अर्कै कुरा हो । तैपनि हाम्रो समाज चाहिँ लेखकले लेखे जस्तै छ र देश,काल परिवेश पनि त्यस्तै छ । छयालिस साल भन्दा पहिलेको अर्थात् तीस बर्से पंन्चायतको समयका अँध्यारो काल खण्डको बिसॅगतियुक्त परिवेशको, कालखण्ड र समाजको चित्रण छ । उपन्यासका घटना क्रम पनि एक पछि अर्को गर्दै क्रमिक रूपले अघि बढेको छ । पाठकलाई पढ्दै जाँदा के भयो होला भनेर कौतूहल जागिरहन्छ । यथार्थ नै बढी छन् काल्पनिक बढाइ चढाइ भन्दा । तसर्थ उपन्यास सामाजिक यथार्थवादी बनेको छ । यो खुसीको कुरा हो ।

घ) भाषा शैलीका दृष्टिले झरेको पात
पहिलो कुरा जुनसुकै व्यक्तिको घर परिवार, संस्कार, हुर्कँदाको व्यवहारले पनि व्यक्तिको भाषा शैलीको निर्माण र विकास हुन्छ । अर्को, अध्ययनले परिष्कृत हुनु, नहुनु । ज-जसको जस्तो धारणा भए पनि दुई चार मान्छेसँग भेट हुँदा उच्चारण हुन नसक्ने, लज्जित हुने भाषामा लेख्ने छुट कसैलाई छैन । यसलाई कहिल्यै पनि अश्लील साहित्य भन्न सकिँदैन । म यसको विरोधी हुँ र भइरहनेछु । हेर्दैमा शालीन, भद्र र बौद्धिक व्यक्ति देखिने ढकालका कृति पढ्नु अगाडि नै छैन होला जस्तो लागेको थियो । नभन्दै औँला उठाउने ठाउँ रहेनछ । प्रत्येक शब्द र वाक्य हेर्दा ज्ञानले पूर्ण छ । शिष्ट, सभ्य, शालीन र सरल भाषा छ । खोट लगाउने ठाउँ छैन, भाषा शैलीमा ।

ङ्) शीर्षक सार्थकताको दृष्टिले उपन्यास
कुनै पनि उपन्यासलाई केलाउने मूल र अन्तिम बिन्दु नै शीर्षक हो । शीर्षकले नै संयोगान्त, वियोगान्त अथवा कस्तो खालको छ भनेर छुट्ट्याउन । कृतिको शीर्षक हेरेर नै कति पुस्तकहरू किन्ने र पढ्ने गरिन्छ । भलै सबै शीर्षक जस्तै सुन्दर नहुन पनि सक्लान् । केही सर्जकहरूको बेजोड धारणा पनि छ । अव कथा कविता, उपन्यास जे लेखे पनि शीर्षकमै प्रस्ट हुने गरी र अन्त्य हुने गरी लेखिनु हुँदैन, अप्रत्यक्ष रूपले शीर्षक दिएर पाठकले पुरा पढेर निचोड निकाल्ने हुनु पर्छ ।

यसमा मेरो केही सहमति छ, लागु राम्ररी गर्न भने सकिरहेको छैन । झरेको पात शीर्षक जस्तै मुख्य पात्र करुणाको जीवन पनि नराम्रोसँग अन्त्य भएको छ । कृतिको शीर्षक नै वियोगान्त छ र वियोगान्तमै टुङ्गिएको छ । त्यसैले शीर्षकका दृष्टिले कृति पुर्णत: सार्थक छ, सफल छ । लेखकलाई बधाई छ । संयोगान्तले भन्दा वियोगान्तले धेरैको मुटु पगाल्छ, आशुको वर्षा गराउँछ र पाठकको मन जित्छ तर लेखकले यस्तो सोचेर लेखेको पक्कै होइन । फेरी जीवन पनि संयोगान्त मात्रै पनि छैन । धेरै भन्दा धेरै पाठकको रोजाइमा रहेको यस उपन्यासलाई मैले पनि मेरो समीक्षाको लहरमा पारेरै छाडेँ ।

यसो भन्दैमा बद्री विनोद ढकालको पछिल्लो कृति उडान कमजोर छ भन्ने होइन, यो पनि सामाजिक उपन्यास नै हो । तर यसमा अलिकति नवीन शैली र आयाम थपिएको छ । नेपाली परिवेश देश, काल, समय घटना मात्र नभएर विदेश (अमेरिका) सम्मको समय, घटना र परिवेशको चित्र छ । कहिल्यै टाढा यात्रा नगरेको व्यक्तिको जन्मभूमि नेपालदेखि अमेरिका सम्मको यात्रा र लामो यात्रामा विगत र आफ्नो पूर्व प्रेमीको सँझनाबारे चित्रण छ । कथानक राम्रो छ, पात्रहरू पनि राम्रै छन् तर सहायक तथा गौण पात्रहरू त्यस्तै हिम्मतिला र सज्जन भने छैनन् । प्रेम एकातिर, गर्छन्, आमाबाबुको दबाबमा बिहे र शरीर अर्को तिर सुम्पन्छन्, बिस बाइस वर्षका छोराछोरी हुँदा पनि आफ्नो पहिलो प्रेमी भन्दै सँझेर त्यसैसँग सहवास गरी घरबार बसाउने चाहा राख्छन् । पाए अरूको बसेको घर पनि भाँड्न खोज्छन् । सायद अहिले हाम्रो समाजमा सम्बन्ध विच्छेद गर्दै, घरबार भाँड्ने यस्तै कुपात्र पो हुन् कि ? लेखकलाई पटक्कै दुःख नलागोस् । म यस्ता पात्रहरूलाई कामचोर, लाछी र भँडुवाको संज्ञा दिन्छु । सायद म प्रेम गर्न नजानेकी, बिहे पछि नै पुरुष र उसको माया के हो बुझेकी नारी भएर हो कि म यिनीहरूलाई कायर र नालायकी कै संज्ञा दिन्छु । के हाम्रा समाजमा यस्ता पात्र मात्रै छन् र ?

मान्छे हुन् त असल सद्नियत कै होउन्, प्रेम गर्नेले फलामे बार तथा पर्खाल पनि तोडेर पार हुन सकुन् त्यो पो प्रेम । फेरी एकतर्फी नाटक त झन् कामै छैन । जसलाई प्रेम गर्‍यो, गरिन्छ, उसैलाई थाहा नपाए के प्रेम ? यिनीहरू भन्दा त मुख्य पात्र अपुर्वा नै कता हो कता ठिक छे । जसले आफ्नो पहिलो प्रेमको लागि बिहे नगरी नै बाचेकी छे । बाबुबाट नामै फेरिए पनि मनमा प्रेमी सजाएकी छ । सफल नभए पनि मृत्युवरण गरेकी छैन । अरू पुरूषसँग चोर ऑखा लाउने कोसिस गरेकी छैन । आजको समाजको विकृति पनि थोरै उजागर भएको छ कृतिमा, खाडीमा काम गर्न जाने हाम्रा नेपाली चेलीको दुर्दशा पनि प्रस्ट छ । देश विदेशमा बस्ने सबै नेपालीहरूको कथा व्यथा पनि छ । यसरी कामचोर, छल, प्रपञ्च र धोकाबाट जन्मने अर्थात् असली बाबु को हो भन्ने सत्य लुकाइएका बच्चाहरू भोलि गएर नराम्रो बन्न सक्छन् । देश द्रोही या निराश र घाती बनेर समाज बिगार्न पनि सक्छन् । जे भए पनि लेखकको मूल विषय प्रेम हो र त्यो पनि युगल जोडीको विशेष गरी । यसरी हेर्दा अपुर्वा पात्रका माध्यमबाट उपन्यासकारले नोस्टाल्जिया व्यक्त गरेका छन् । आगतले भन्दा विगतले सताएको देखिन्छ ।

प्रेमको असफल विचलनले समाज र व्यक्तिमा पर्न जाने असर, रोग, शोक, भोकको चित्रण गर्न उपन्यासकार सफल भएको देख्छु । उडान झन् राम्रो, छोटो र मीठो शीर्षक छ, सार्थक पनि छ । यो शीर्षक दर्बिलो छ, अन्त्य के र कस्तो हो, उडान कहाँ, के र कहिले सम्मको भन्ने कुरा पाठकले पुरा उपन्यास नपढी चाल पाउँदैन । यसमा मलाई झरेको पात भन्दा अलि बढी गर्व लाग्यो लेखकसँग । लेखकको लेखनी राम्रो छ, दर्बिलो पनि छ, दुवै उपन्यासले पाठकको ध्यान राम्ररी तान्छन् । यति हुँदा हुँदै पनि आगामी दिनहरूमा लेखकले लेख्ने कृतिहरूमा हिम्मतदार, पात्रहरू, सज्जन साहसी, क्रान्तिकारी र समाज परिवर्तनका धावक बनेर आइदिउन् । युगल मात्र नभएर समाजमा सबैसँग हुनु पर्ने उच्च मानवीय विषयहरू पनि कथावस्तु बनेर आइदिउन् । जीवनभरि भारी कष्ट उठाउनु परे पनि, नाटकीय ढङ्गले नै भए पनि अन्त्यमा सुखको सास फेर्न पाइयोस् । मृत्यु पनि यस्तो होस्, त्यसमा चित्त बुझाउने ठाउँ होस् लेखनीमै भए पनि । समाजमा कायर र असफल प्रेमीहरू मात्र होइन सफल र साहसीहरूकै जन्म होस् जसले समाजको रूढी र ढोँगी पर्खाल चाहिँ भत्काएरै छाड्न सकुन् । मेरो पहिलो प्रेम भन्दै मुटु जलाएर नबाॅचुन । नत्र प्रेमको नाटकै नगरुन् । बरु त्यही सामाजिक बन्धनमै बाँचुन् । अग्रज साहित्यकार, पत्रकार बद्री विनोद दाइको कलम, निरन्तर अघि बढी रहोस् । दीर्घायु र सु- स्वास्थ्यको पनि कामना, साथै यी दुवै उपन्यास पढ्ने अवसर र उपहारको लागि धन्यवाद पनि ।