अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

अमेरिकामा कोरोनाबाट संक्रमित संख्या ८ लाख नाघ्यो , एकैदिन २ हजार ८ सय २ को मृत्यु,

बिआरटीनेपाल २०७७ वैशाख ९ गते २२:०८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस ( कोभिड–१९) को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको छ । अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २ हजार ८०२ को मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३१८ पुगेको छ । यसअघि अप्रिल १५ मा कोरोनाबाट २ हजार ६१८ को ज्यान गएको थियो, त्यसयता मंगलबार भएको दैनिक मृत्यु हालसम्मकै उच्च हो ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७४४ पुगेको छ । जसमा मंगलबार एकैदिन २७ हजार ४६ संक्रमित थपिएका छन् । साथै, ८२ हजार ९२३ जना भने पूर्ण रूपमा निको समेत भइसकेका छन् ।

अमेरिकामा आइतबार दैनिक मृत्यु संख्या निकै घटेको थियो । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । तर सोमबार फेरि एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको थियो ।त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ हजार ६९३ पुगेको छ । मंगलबार मात्र त्यहाँ ७६४ को मृत्यु भएको छ भने ४ हजार ४६१ नयाँ संक्रमित फेला परेका छन् ।

सोमबार त्यहाँ ६३१ जनाको मृत्यु भएको थियो भने ४ हजार ८७९ नयाँ संक्रमित फेला परेका थिए । आइतबार त्यहाँ एकै दिनमा ६२७ जनाको मृत्यु भएको थियो । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघेको छ । अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा कोरोना संक्रमितको संख्या ९२ हजार ३८७ पुगेको छ । त्यहाँ ४ हजार ७५३ जनाले ज्यान गुमाएका छन्, जसमा ३७६ जनाको मृत्यु मंगलबार मात्र भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू