अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

बिआरटीनेपाल २०७७ वैशाख ८ गते २२:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको प्रवेश अस्थायी रुपमा रोक्ने घोषणा गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत जानकारी दिनुभएको छ । तर उहाँले यसबारे सोमबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गमा थप केही बताउनुभएन ।

ट्रम्पले अबेर राति ट्वीट गरेर आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने निर्णय अदृष्य शत्रुसँगको लडाईँ र रोजगारीको रक्षाका लागि गरिएको उल्लेख गर्नुभएको छ । ट्रम्पले कोरोना भाइरसलाई अदृष्य शत्रु भन्नुभएको छ । कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा लाखौँ अमेरिकीको जागिर गुमेको छ । ट्रम्पले आप्रवासन रोक्ने बताए पनि त्यसको विस्तृत विवरण र कहिलेदेखि लागु हुने भन्ने खुलाउनुभएको छैन ।

आलोचकले भने ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीलाई आप्रवासविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन्। ट्रम्पले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब समय अमेरिकाले पार गरेको र देशका विभिन्न क्षेत्र खुल्न थालेको पनि बताउनुभयो । अमेरिकाका दुई छिमेकी देश क्यानडा र मेक्सिकोसँगको सीमा पनि बन्द छ । ती सीमा क्षेत्र अत्यावश्यक बाहेकका सेवाका लागि कम्तिमा मध्य मे सम्म बन्द गर्ने सहमति भएको छ ।

प्रतिक्रिया